सम्पादकीय
नेपाली क्रिकेटको एउटा ठूलो सपना पूरा हुने सम्भावनाको नजिक छ । यदि भारत–पाकिस्तान तनावले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एशिया कप प्रभावित भएन भने विश्व क्रिकेटका यी दुई ठूला शक्तिसँग नेपाली टिमले प्रतिष्पर्धा गर्नेछ । क्रिकेटका यी विश्व शक्तिसँग प्रतिष्पर्धा गर्न पाउनु नेपाली टिमका लागि ऐतिहासिक अवसर हो । अन्तर्राष्ट्रिय एक्सपोजरदेखि क्रिकेटका स्टार खेलाडीहरुसित भिड्न पाउने नेपाली खेलाडीको सपना पनि पूरा हुने क्षण बन्नेछ त्यो । एसिसी प्रिमियर कपमा युएईलाई सात विकेटले हराउँदै नेपालले यो सफलता चुम्दा नेपाल खुसी हुनुको एउटछा मुख्य कारण यही हो ।
त्यसो त पछिल्लो केही महिनायता नेपाली क्रिकेट टोली एकपछि अर्को ठूलो सफलता आत्मसात गर्दै अघि बढिरहेको छ । खासगरी विश्व क्रिकेटका अनुभवी प्रशिक्षक मोन्टी देशाईको नेतृत्वमा नेपाली खेलाडीहरुले मैदानमा जुन आत्मविश्वास र कौशल पेश गरिरहेका छन्, त्यो अभूतपूर्व छ । डेढ महिना अघि मात्रै डिभिजन २ लिग जितेर विश्वकप छनोटमा स्थान बनाएको नेपालले पछिल्लो सफलता हात पार्दा एशिया कपमा स्थान बनाएको छ । यो सफलता हात पार्दा नेपाल कुनै एक खेलाडीमा मात्रै निर्भर छैन । टिमका हरेक सदस्यले उत्कृष्ट योगदान गरिरहेका छन् । गुल्शन झा, सोमपाल कामी र सन्दिप लामिछानेले उत्कृष्ट ब्याटिङको नमूना पेश गरिरहेका छन् । जिम्मेवारीका हिसाबले यी तीनै जना खेलाडीहरु बलर हुन् । तर, टिमलाई आवश्यक परेका बेला उनीहरुले आफूलाई ब्याटरको भूमिकामा पनि अब्बल तुल्याए । यसरी बलिङ, फिल्डिङ र ब्याटिङ तीनै क्षेत्रमा खेलाडीको लोभलाग्दो योगदान अनि घरेलु दर्शकको समर्थन नेपाली क्रिकेटको सफलताका आधार हुन् । यसलाई टिकाइराख्ने उपाय अबको मुख्य चुनौती हो ।
केही समयअघिसम्म नेपाली टोलीको मुख्य कमजोरी नै ब्याटिङमा थियो । तर, जब मोन्टी देशाईले टिम सम्हाले, अभूतपूर्व रुपमा सुधार आएको देखिन्छ । कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, करण केसी, दिपेन्द्रसिंह ऐरीदेखि बलरका रुपमा चिनिएका खेलाडीहरु समेतले ब्याटिङमा गरिहाई दिएका छन् । यसले नेपाली टोली झनै बलियो बन्दै गइरहेको छ । परेको बेलामा संकटमोचक भएर गुल्शन झा उदाएका छन् । यी खेलाडीहरुले विश्का ठूला शक्ति राष्ट्रका स्टार खेलाडीहरुसँग खेल्दा उनीहरुको कौशल र आत्मविश्वास झनै चुलिनेछ । त्यसैले पनि हाम्रो क्रिकेटको सफलता अभूतपूर्व स्वरुपमा अघि बढिरहेको छ ।
नेपाली क्रिकेटको यो सफलताको उचाई जोगाइराख्ने र अझै प्रगतितर्फ उन्मुख गराउने उपायको खोजी अहिलेको मुख्य आवश्यकता हो । खासगरी हाम्रा खेलाडीहरुलाई व्यस्त तालिकामा राख्ने, नियमित प्रशिक्षणदेखि अन्तर्राष्ट्रिय प्रतिष्पर्धाहरुमा पनि उत्तिकै व्यस्त तुल्याउने उपायको खोजी क्यानले गर्नुपर्छ । यसबाहेक पूर्वाधारको सहज उपलब्धता र खेलाडीहरुको सेवा सुविधामा पनि उत्तिकै ध्यान दिने वातावरण बनाउने दायित्व क्यानकै हो । सरकारले पनि क्रिकेट क्षेत्रको विकास र खेलाडीहरुको हौसलाका लागि यसअघि घोषणा गरेका पुरस्कार राशी प्रदान गर्ने, उनीहरुको आर्थिक भविष्यको सुरक्षाको ग्यारेन्टी गर्ने काम गर्नुपर्छ । क्यानमा हुने अनावश्यक राजनीतिक तिक्डम र त्यसको कारण क्रिकेट नै प्रभावित हुने अवस्था पनि आउनु हुँदैन ।