नेपाल र यूएईको फाइनलको निरन्तर खेल मंगलबार हुने

विराटनगर । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलले मंगलबार पनि निरन्तरता पाउने भएको छ ।

मंगलबार बिहान ९ बजेदेखि खेल सुरु हुनेछ । सोमबार नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १०६ रन बनाएको अवस्थामा वर्षा सुरु भएपछि खेल रोकिएको हो ।

दिउँसो ३ बजेर ३० मिनेटसम्म पनि वर्षा नरोएिकपछि बाँकी खेल मंगलबार हुने म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले घोषणा गरेका हुन् । यूएईले यहि स्थितिबाट वैकल्पिक दिन राखिएको मंगलबारको खेल सुरु गर्नेछ ।

सोमबारको खेलमा नेपालले सुरुवातदेखि नै यूएईलाई दबाबमा राखेको थियो । चौथो ओभरको पहिलो बलमै सोमपाल कामीले मोहम्मद वासिमलाई ११ रनमा आउट गरेपछि नेपालले विकेट लिने क्रम सुरु गरेको थियो । त्यसको अर्को ओभरमा करण केसीले वृत्या अर्विन्दलाई ८ रनमा आउट गरि नेपाललाई सफलता दिलाएका थिए ।

करणले नै आर्यन लर्कालाई १३ रनमा पहिलो स्लिपमा क्याच गराए । रमिज सेहजादलाई ललित राजवंशीले १ र पूर्व कप्तान रोहन मुस्ताफालाई सन्दीप लामिछानेले २ रनमा आउट गरेपछि यूएई १४ औं ओभरमा ५१–५ को स्थितिमा पुगेको थियो । आसिफ खान र बसिल अहमदले छैटौं विकेटमा ३९ रनको साझेदारी गरे ।

त्यसपछि वर्षाले खेल आधा घन्टा अवरुद्ध पारेको थियो । त्यसपछि सुरु भएको खेलमा गुलसन झाको बलमा इनसाइड एज लागेर बोल्ड भएका बसिलले २७ बल खेली १ चौकासहित १० रन बनाए भने आयन खानले ५ रनमा सन्दीप लामिछानेले आउट गरे ।

ललितले आसिफ र जाहुर खानलाई लगातार बलमा आउट गरेपछि पुनः वर्षाले खेल अवरुद्ध हुनपुग्यो । नेपालविरुद्ध विश्वकप लिग–२ को पछिल्लो खेलमा सतक बनाएका आसिफले ५४ बलमा ४६ रन बनाए । उनले ७ चौका र १ छक्का प्रहार गरे ।

सोमबार, १८ बैशाख, २०८०, दिउँसोको ०४:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर