बुट्टाबारीलाई हराउँदै फिक्कललाई उपाधि

इलाम । तेश्रो सन्दकपुर गोल्डकपको उपाधि फिक्कल युनाइटेडले जितेको छ । सन्दकपुर गाउँपालिका—३ स्थित सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको फाइनल खेलमा बुट्टाबारी युनाइटेडलाई ३—२ गोल अन्तरले हराउँदै फिक्कलले उपाधि जितेको हो । बिजेता बनेको फिक्कलले १ लाख ५१ हजार र उपविजेता बुट्टाबारीले ८१ हजार प्राप्त गरेको छ ।

खेलमा सुरुवाती अग्रता फिक्कलले लिएको थियो । १२ औ मिनेटमा नयन प्रधानले सुरुवाती गोल गरेका थिए । २३ औ मिनेटमा शौरभ कार्कीले हेडर मार्फत अग्रता दोब्बर बनाए । खेलको ५२ औ मिनेटमा बुट्टाबारीका कप्तान रोमन खवासले पेनाल्टी मार्फत अग्रता कम पारे । ५८ औ मिनेटमा शेखर राईले खेल ३—१ बनाए । ६६ औ मिनेटमा रोमनले पेनाल्टी मार्फत गोल थपेपनि उपाधि जित्न पर्याप्त भएन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ता फिक्कलका शेखर राई घोषित भए ।

उत्कृष्ट डिफेन्डर आयुष क्षेत्री, उत्कृष्ट गोलरक्षक सर्जन लिम्बु घोषित भए । उनीहरुले जनही ४ हजार प्राप्त गरे । प्रतियोगिताको उदियमान खेलाडी देउराली स्र्पोटिङ क्लबका निशान राई घोषित भए । देउराली स्र्पोटिङ क्लबको आयोजना र सन्दकपुर गाउँपालिकाको संरक्षक रहेको प्रतियोगितामा इलाम, झापा, ताप्लेजुङ र ललितपुरका ८ टोलीको सहभागिता रहेको थियो ।

अइन्द्र राईको अध्यक्षतामा भएको प्रतियोगितामा इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगिताको बिजेता, उपविजेता तथा व्यक्तिगत विधाका विजेतालाई प्रमुख अतिथि बस्नेत, गाउँपालिका अध्यक्ष तुला बहादुर गुरुङ, उपाध्यक्ष हरि लुङ्गेली लगायतले पुरस्कार वितरण गरे । चैत्र २४ गतेबाट प्रतियोगिता सुरु भएको थियो ।

शुक्रबार, ०१ बैशाख, २०८०, रातीको ०८:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर