विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टी– २० प्रतियोगिताको उपाधि भारत विहारको राहुल ११ नरपथगञ्जले जितेको छ ।
विराटनगरको जुट मिलको खेलमैदानमा शनिवार सम्पन्न भएको फाइनलमा एनबिएससी क्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि जितेको हो । जितसँगै नरपथगन्जले १ लाख ११ हजार पायो । उपविजेता विराटनगरले ५१ हजार रुपैयाँमा चित्त बुझायो
१५८ रनको विजय लक्ष्य पछ्याएको नरपथगन्जले १८ दशमलव २ बलमा ७ विकेट गुमाई पुरो गर्यो । नरपथगञ्जका भानु आनन्दले ३५ बलमा ६३ रनको अर्धशतीय ईङनिङ खेले । उनको ६ छक्का र ४ चौका प्रहार गरे । उत्कृष्ट प्रदर्शन गर्ने नरपथगञ्जका भानु म्यान अफ द फाइनल पनि घोषित भए । उनले ११ हजार रुपैयाँ पाए ।
नरपथगञ्जका विजय भारतीले ३६ रन बनाउँदै अविजित रहे । हासिल कुमारले २५ रनको योगदान दिए ।
विराटनगरका विधान गोस्वामीले ३ दशमलव २ बलमा ३३ रन खर्चिएर ४ विकेट लिए । साकिबुल गनीले २ विकेट र मोहित कुमारले १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको एनबीएससीले १९ ओभरमा अलआउट भई १५७ रनमा सीमित भयो । विराटनगरका रोहन बिकेले ३५ बलमा ४४ रन बनाए । यस्तै प्रशान्त कुमारले २२ रन र विपिन सौरवले २१ रन बनाए । नरपथगञ्जका अमन सिंहले, सक्षम शर्मा, रबडा र हासिल कुमारले समान २/२ विकेट लिए ।
वेस्ट ब्याटर नरपथगन्जका अभिषेक पाठक भए । यस्तै वेस्ट बलर एनबीएससी विराटनगरका अनुभव श्री वास्तव, प्लेयर अफ द सिरिज एनबीएससीका विधान गोस्वामी घोषित भए । उनीहरू सबैले जनही १५ हजार रुपैयाँ पाए । उदयमान खेलाडी मिल्स एकेडेमीका अभय कुर्मी भए । उनले पाँच हजार पाए ।
विजेता हुने टिमलाई क्यान केन्द्रीय कोषाध्यक्ष रोशन सिंह, क्यानका वरिष्ठ सल्लाहकार नरेश श्रेष्ठ, नेपाल खेलकुद महासङ्घकी केन्द्रीय सदस्य साना डङ्गोल, मिल्स क्रिकेट एकेडेमीका अध्यक्ष मुरारी चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए ।