विराटनगर । बचतकर्ताहरूले राखेको करोडौं रूपैयाँ अपलचन गरी तुलसी बहुउद्देश्य सहकारीका अध्यक्ष केदारनाथ शर्माले ३३ वटा निजी कम्पनी र जग्गामा लगानी गरेको पाइएको छ ।
मोरङ प्रहरीले गरेको अनुसन्धान र लेखा परीक्षण प्रतिवेदन अनुसार शर्माले सहकारीको करोडौं रुपैयाँ दुरुपयोग गरी सहकारीको मुल्य मान्यता र सिद्धान्तलाई लत्याएर आफ्नो निजी कम्पनी र जग्गामा लगानी गरेको पाइएको हो ।
उनीद्धारा संचालित निजी खाद्यान्न, मोटर, इलेक्ट्रिक, चिउरा मिल, जुत्तादेखि मिडिया कम्पनीमा पनि लगानी गरेको पाइएको छ । निजी उद्योगबाहेक जग्गामा पनि शर्माले लगानी गरेको पाइएको छ । उदयपुर र झापामा मात्र शर्माका नाममा ३६ हजार २ सय ८ दशवलप ८७ वर्गमिटर अर्थात ५ बिघा ६ कठ्ठा जग्गा रहेको छ । उनको जन्मस्थल उदयपुरमा १५ कित्ता र झापामा ३ कित्ता जग्गा शर्माको नाममा रहेको छ ।
शर्माले सहकारीको रकम दुरुपयोग गर्दै सबैभन्दा बढी लगानी विराटनगर १९ स्थित तुलसी मोटर पम्पमा गरेका छन् । उनले उक्त मोटर पम्पमा ३२ करोड, झापाको गौरादहमा भएको चिउरा र चामल मिलमा ३४ करोड, झापाको दमक बजारमा रहेको गार्डेन मार्ट, उदयपुर जिल्लाको गाईघाटमा रहेको गार्डेन मार्ट र मोरङको लेटाङमा रहेको गार्डेन मार्टमा गरी जम्मा २५ करोड लगानी गरेका छन् । यस्तै सिरहा गोलबजारमा मार्ट खोल्न तयारीको लागि १ करोड लगानी गरेका छन् ।
यस्तै शिव शिखर अर्गनाइजेसन प्रा.लि. मा ८ करोड रुपैयाँ लगानी गरेको पाइएको छ । यस्तै नटराज एग्रो प्रा.लि, नटराज इन्टरप्राइजेज प्रा.लि.लाई बिना धितो पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरि संस्थाको रकम दुरुपयोग गरी सहकारीको मुल्य मान्यता र सिद्धान्तलाई लत्याएको पाइएको छ ।
शर्माद्धारा संचालित उदयपुरको गाईघाटमा नटराज एग्रो प्रा.लि. को नाममा चार तले भवन रहेको छ । जसमा गार्डेन मार्ट सञ्चालनमा रहेको छ । यो भवन १० करोड ५० लाखमा नटराज एग्रोले खरिद गरेको गरेको खुलेको छ । उक्त भवन नटराज एग्रोले तुलसी सहकारीलाई भाडामा लगाएको छ । जसको भाडा बापत सहकारीले मासिक २ लाख ५० हजार नटराज एग्रोलाई तिर्ने गर्दछ । उक्त भवन सहकारीको डिपार्टमेण्ट स्टोर–गार्डेन मार्ट र सहकारीको सेवा केन्द्र संचालन गरिएको छ । डिपार्टमेण्ट स्टोर–गार्डेन मार्ट र सहकारीको सेवा केन्द्र संचालनको लागि डेकोरेशन गर्दा र डिपार्टमेण्ट स्टोरको लागि आवश्यक सामानहरुको व्यबस्था गर्न १५ करोड बराबरको लगानी लागेको छ । मोरङको लेटाङमा रहेको गार्डेन मार्टमा ५ करोड लगानी लागेकोे छ । एक वर्ष अगाडिदेखि सिरहाको गोल बजारमा सहकारीको शाखा संचालन गरी सहकारीले गार्डेन मार्ट खोल्नको लागि ४ करोड लगानी गरेको छ । तर, यो गार्डेन हालसम्म संचालनमा आएको छैन ।
निजी कम्पनी र जग्गाबाहेक सवारी साधनमा पनि करोडौं रुपैयाँ खर्चेको पाइएको छ । गाडीका सोखिन शर्माले आफु चढ्ने गाडी ी ४ करोडमा खरिद गरेको पाइएको छ । त्यसबाहेक सहकारीको नामा दुई वटा कार ९० लाखमा खरिद गरेको भेटिएको छ । ती कारहरु तुलसी सहकारी संस्थाको नाममा दर्ता रहेको छ । सहकारीको नाममा रहेको प्रदेश ३–०२४ च ४५९२ नम्बरको कार सहकारीका प्रबन्धक मन्दिप खवासले चढ्ने गरेका थिए । अर्को कार संचालक बन्टी अधिकारीले चढ्ने गरेकी थिइन् । मुद्दा परेपछि उनी अहिले फरार छिन् । सहकारी सचिव सविना न्यौपाने निसान कम्पनीको टेरानो कार चढ्ने गरेकी थिइन् । जुन गोर्खा टि.एण्ड कफी इण्डष्ट्रिज प्रा.लि.को नाममा दर्ता रहेको छ ।
सहकारीको रकम अध्यक्ष शर्मासहित संचालक सदस्य र प्रबन्धकहरुको नाममा पनि रहेको पाइएको छ । निजी उद्योग बाहेक जग्गामा पनि शर्माले लगानी गरेको पाइएको हो । अध्यक्ष शर्माको नाममा जग्गा खरिदको लागि विराटनगर ३ पिपलचोक नजिक घर सहित १५ धुर जग्गा १ करोड ८० लाखमा खरिद गरेको छ । सोही जग्गाको पछाडी तर्फको सीमानाको जग्गा किन्नको लागि भनेर ९४ लाख अध्यक्ष शर्माले लगेका छन् । तर सो रकम बराबरको जग्गा हालसम्म पास नभएको र पैसा समेत फिर्ता नभएको देखिएको छ ।
प्रतिवादीको बयान सकियो, आज आदेश आउने
सहकारीको रकम अपचलन गरी ठगी मुद्दामा पक्राउ परेका आरोपीहरुको बयान मोरङ अदालतमा सकिएको छ । प्रतिवादीहरुको बयान बुधबार सकिएको सुरु भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका तुलसी सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिब सविना न्यौपानेको मोरङ अदालतको ८ नम्बर इजालशमा बयान भएको हो । बयान सकिएपछि थुनछेक बहस हुनेछ । बहसपछि अदालतले आदेश गर्नेछ ।
मंगलबार सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना संचालकहरू विरुद्ध ठगी मुद्दा दायर भएको थियो । फरार सूचीमा प्रतिवादी बनाएर सहकारीका अध्यक्ष शर्मा, संचालक समितिका सदस्यहरु बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, छविलाल विश्वकर्मा, पक्राउ परेका तुलसी सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिब सविना न्यौपानेलाई प्रतिवादी बनाए ठगीमा मुद्दा दर्ता भएको थियो । पक्राउ परेका लेखा परीक्षण गर्ने सिए सितल चन्दलाई भने सरकारी वकिलको कार्यालयले प्रतिवादी नबाउने निर्णय गरेको छ । उनले गरेको कामा कारवाही विधिसंगत देखिएपछि चन्दको हकमा मुद्दा नचालउने निर्णाय गरेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहहिर शर्मा काफ्लले जानकारी दिए ।
सहकारीका अध्यक्ष शर्मासहित संचालक र प्रबन्धकहरूले ६७ करोड ७६ लाख २१ हजार २६८ रुपैयाँ हिनामिना गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको छ । जसमध्ये मोरङ प्रहरीमा १ हजार ३ सय ७ जनाले दिएको उजुरीको आधारमा मात्र ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ ठगी गरेको देखिएको छ । अध्यक्ष शर्माले १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ सहकारीको श्रेस्तामा नै नचढाई हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ ।
उनीहरुलाई सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (ख), (घ), (ङ), (च) र (ज) बमोजिम ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र उपदफा (१) को देहाय (घ) तथा (५) बमोजिम विगो ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ जाहेरवालाहरुलाई र विगो १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ तुलसी सहकारी संस्थालाई भराई विगो बमोजिम जरिवना तथा कैद सजाय माग दाबी लिएर अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता काफ्लेले जानकारी दिए ।
सहकारीका संचालकहरुले ३ हजार ६३ जना सर्वसाधरणको जम्मा गरेको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ रकम हिनामिना गरेको आरोप छ । तुलसीको चार वटा शाखा रहेको छ । विराटनगरमा केन्द्रीय कार्यालय सहकारीबाट सबैभन्दाबढी सदस्य रहेको छ । विराटनगरमा १ हजार ९ सय ७८ जनाले ६० करोड ४१ लाख ८ हजार ८६२ रुपैयाँ बचत गरेका छन् ।

