लोड हुँदैछ...

मेनु

कोशी प्रदेश सरकारको राजस्व कम उठेपछि बजेट प्रभावित

कोशी प्रदेश सरकारको राजस्व कम उठेपछि बजेट प्रभावित

विराटनगर । संघीय सरकारको राजस्व संकलन कमजोर हुँदा प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेट पनि प्रभावित बनेको छ । कोशी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट कार्यान्वयन गरिरहेको छ । तर, चालू आर्थिक वर्षको ९ महिना सकिन केही दिन बाँकी छँदा अनुमानित आय लक्ष्य अनुसार पुग्न नसक्ने देखिएको हो ।

कोशी प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले दिएको तथ्यांक अनुसार प्रदेश सरकारको कूल बजेटमध्ये हालसम्म जम्मा १९ अर्ब २२ करोड ४३ लाख ९ हजार ४६७ रुपैयाँ आम्दानी भएको छ । जुन बजेट अनुमानको ४८.३७ प्रतिशत मात्रै हो । जसका कारण ३९ अर्ब ७३ करोड ८३ लाख अनुमानित आय भेट्टाउन अझै २० अर्ब ५१ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन हुनुपर्छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटमा वैदेशिक अनुदान २५ करोड ६८ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपुरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख र नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख आम्दानी हुने अनुमान गरेको थियो ।

प्रदेश लेखा नियन्त्रण कार्यालयले दिएको तथ्यांक अनुसार बाँडफाँडबाट प्राप्त हुने करहरु मूल्य अभिवृद्धि कर, अन्तशुल्क, समानीकरण अनुदान, शशतए अनुदान चालू, शशर्त अनुदान पूँजीगत, विशेष अनुदान चालू तथा पूँजीगत, समपुरक अनुदानबाट हालसम्म १७ अर्ब ४ करोड ८२ लाख ४५ हजार ४४४ रुपैयाँ प्राप्त भएको छ भने आन्तरिक राजस्व संकलनबाट २ अर्ब ७३ करोड ११ लाख ७४ हजार ७८६ रुपैयाँ प्राप्त भएको छ । उक्त राजस्व प्रदेश सरकारले उठाउने भनेको आन्तरिक आय ४ अर्ब ९८ करोड ४५ लाखको ५४.७९ प्रतिशत मात्रै हो । कार्यालयका अनुसार चैत १९ गतेसम्ममा जम्मा १९ अर्ब २२ करोड ४३ लाख ९ हजार ४६७ रुपैयाँ पुगेको छ ।

बजेटको आकार ३९ अर्ब पुग्न अझै २० अर्ब रुपैयाँ आम्दानी हुनुपर्छ । उक्त सम्भावना कमजोर छ । ९ महिनाको अवधिमा उठेको रकमको आधारमा हेर्ने हो भने प्रदेशको यथार्थ बजेट ३० अर्ब आसपासमा हुने लेखा नियन्त्रण कार्यालयको अनुमान छ । यद्यपि केन्द्र सरकारले दिने सशर्त अनुदानले बजेटको आकारमा तलमाथि पर्नसक्ने सो कार्यालयले जनाएको छ ।

पूँजीगत खर्च ३२ प्रतिशत मात्रै

प्रदेश लेखा नियन्त्रण कार्यालयले दिएको जानकारी अनुसार कोशी प्रदेशको पूँजीगत खर्च हालसम्ममा ३२.२७ प्रतिशत अर्थात् ७ अर्ब ४४ करोड ४१ लाख ८५ हजार ७८१ रुपैयाँ भएको छ । चालूतर्फ भने चैत १९ गतेसम्ममा ४५.२५ प्रतिशत अर्थात् ७ अर्ब ५७ करोड ३६ लाख ८० हजार, १३६ रुपैयाँ भएको छ ।

प्रदेश सरकारले चालूतर्फ १८ अर्ब २२ करोड ९९ लाख ११ हजार बजेट विनियोजन गरेको छ भने पूँजीगततर्फ २१ अर्ब ५० करोड ८३ लाख ८९ हजार र वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब १५ करोड १४ लाख ४९ हजार रुपैयाँ विनियोजन गरेको थियो । प्रदेश सरकारले जम्मा बजेटको तुलनामा चालू र पूँजीगत खर्च ३७.७३ प्रतिशत अर्थात् १५ अर्ब १ करोड ७८ लाख ६५ हजार ९१८ रुपैयाँ खर्च गरेको छ ।

प्रदेश सरकारले खर्च गरेको मध्ये प्रदेश सरकारले संघ सरकारलाई फिर्ता गर्नुपर्ने रकम १ अर्ब ४६ करोड १२ लाख रुपैयाँ र संघ सरकारमा फिर्ता पठाएको सशर्त अनुदानको झण्डै २ अर्ब १६ करोड रुपैयाँ बजेट पनि हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।