विराटनगर । पहिलो पटक सहभागी जनाएको झापाको ध्रुव तारा युवा क्लबले तेस्रो संस्करणको मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
विराटनगरको जुट मिलको खेलमैदानमा शनिवार सम्पन्न भएको फाइनलमा साबिक विजेता सिराहा गोल बजारको प्रतिभा फुटबल क्लबलाई ३–२ गोलले निराश बनाउँदै झापाले उपाधि कब्जा गरेको हो ।
जितको लागि झापाका गौरव धिमालले दुई गोल र प्रवीण राईले एक गोल गरेका थिए । सिराहाको तर्फबाट बिनु आले मगर र विधान लामाले गोल गरेका थिए ।
उपाधिसँगै झापाले २ लाख ११ हजार रुपैयाँ पाएको थियो । उपविजेता सिराहाले १ लाख ११ हजार रुपैयाँमा चित्त बुझायो ।
खेल सुरु भएको १६ औँ मिनेटमा झापाका गौरव धिमालले गोल गरी अग्रता दिलाए । बादल तमाङ्गले निकालिदिएको क्रस पासलाई गौरवले गोलमा परिणत गरे । ३७ औंं मिनेटमा झापाका प्रवीण राईले गोल गरी दोब्बर बनाए । विक्रम राईले निकालेको पास प्रवीणले जाली चुमाए ।
दोस्रो हाफदेखि सिराहाले आक्रामक खेल पस्कियो । ५० औँ मिनेटमा सिराहाका बिनु आले मगरले गोल गरी २–१ को अग्रता बनाए । सिराहाले गोल फर्काएको पाँच मिनेट बित्न नपाउँदै झापाका गौरव धिमालले सेन्टर एरियादेखि बललाई एक्लै अगाडी बढाएर गोलमा परिणत गर्दै टिमको जित सुनिश्चित गरे । सिराहाका अब्दुलको सशक्त प्रहार रोक्ने क्रममा झापाका गोलकिपर आयूष लिम्बुले पन्च गर्दै उत्कृष्ट बचाए । त्यसपछि दबाब दिएको सिराहाका विधान लामाले इन्जुरी समयमा गोल गरी अग्रता छोट्याएका थिए ।
प्रतियोगिताको म्यान अफ द फाइनल झापाको गौरव धिमाल घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षक झापाका आयुष लिम्बु, मीड फिल्डर सिराहाका सुजन पुलामी, डिफेन्स गोल बजारका मुकेश माझी, वेस्ट फरवार्ड झापाका प्रवीण राई, उत्कृष्ट कोचमा झापाका सन्दीप मगर घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी झापाका प्रवीण राई घोषित भए ।
सो अवसरमा खेलकुदमा योगदान पुर्याउने तीन जनालाई सम्मान गरियो । जसमा कुमार महर्जन, मनोज खड्का र पप्पु सेनलाई सम्मान गरेको थियो । सम्मानित हुने व्यक्तिहरूलाई विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, ट्रस्टका अध्यक्ष किशोर शाहीले, कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
फागुन २७ देखि चैत ४ गते सम्म सञ्चालन भएको गोल्ड कपमा मोफसलका ‘ए’ डिभिजनका ८ वटा टिमको सहभागिता रहेको थियो ।