श्री ३, तीन महाराजका भेडाबाख्राहरु
घाँस चर्दैछन्
दाना खाँदैछन्
पानी पिउँदैछन्
एक हुल, बालकोट दरबारमा
अर्को हुल, सानेपा दरबारमा
तेस्रो हुल, पेरिस डाँडाँमा
उग्राईरहेका छन्
हात्तीछाप घाँसहरु
यी भेडाहरुको निजी गन्तब्य छैन
आदेशको डोरिले घाँटीमा बेरिएको छ ।
घाँस खानुअघि
सदनमा भ्या भ्या गर्नु अघि
आफ्ना महाराजको इशारालाई हेर्छन्
तिनकै डरले
खोरमै अलिकति छेर्छन्
तुरुक्क पारेर पुच्छर हल्लाउँदै
पाँच वर्ष डिउटी गर्छन्
विचरा हाम्रा,
माननीयहरु, म्याँ भ्याहरु !
हातमा गधा लिएर
भैंसी चढी
पहिचानको शिकारमा निक्लेका
दलीय श्री ३, तीन महाराजहरु
कत्ती घ्याम्पा, डोल, जर्किन, पोखरी
मानव रगतले तिम्रो तिर्खा मेटिन्छ ?
र
स्वीकार्छौ हाम्रो पहिचान
हामी तयार छौं
रगतदान वा जीवनदान गर्नलाई
हाम्रै पसिनाले किनेको
सरकारी गोलिबाट मर्नलाई
समयको निर्देशन छ
अरुका लागि लढेका गोर्खाहरु
आफ्ना लागि एक पटक जाग्नुछ
राम प्रसाद राईका चिहानबाट
आगोका लप्काहरु निस्किसकेका छन्
सल्किसकेका छन्
विश्वयुद्धमा अरुका लागि
चट्याङ जस्तै चम्किएका
भोजपुरका खुकुरीहरुसँग
आज तिमी
किन जिस्किरहेका छौं ?
ए, तीन महाराजहरु
खोला नालाहरुले
कस्तो पहिचान दियो, तिमिहरुलाई ?
इतिहास र सभ्यता
त्यही कोशीको घाटमा मात्रै देख्यौं ?
के तिमीहरुलाई
गङ्गटाहरुले स्वस्तिक छाप हानेका हुन् ?
भ्यागुता र माछाहरुको सितनले मक्ख परेका हौं ?
मशानघाटमा
खरानी भैसकेको
महेन्द्रको पिशाचसँग,
के साइनो छ तिम्रो ?
पूर्व राजाको श्रीपेच
बाक्सामा थन्क्याउने
मजदुरहरु यिनै सडकका हुन्
तपाईं श्री ३ हरुको
शक्तिशाली मुकुट फुकाल्न
हामीले तालिम लिरहनु पर्दैन
हाम्रै छाला तन्काएर
ढोल, च्याब्रुङ, धिमे, डम्फु आदि
धेरै बजायौं
केही दिनअघि पूर्वबाट
आक्रोशको अग्नि वर्षा भएको छ
रातो, तातो बादलहरु
विस्तारै पश्चिमतर्फ बहिरहेका छन्
घनघोर आगोको वर्षातले
कोशी सुकेर, बगरमा परिणत हुँदैछ
विचरा ! तपाई
भ्याँ म्याँ माननीयहरु
कोशी त जसो तसो पौडेर तर्छौ होला
जनताको सप्तकोसी र सप्तगण्डकीहरु
उर्लेको बेला
भ्याँ म्याँ गर्दै
हवाईजहाज चड्छौ की, पानीजहाज ?
संसारले
तिमीहरुलाई हेरिरहेको हुनेछन्….।।।