विराटनगर । कोशी प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले प्रदेश सरकारले दिन पाउने ६ वटा अतिरिक्त विदा राजपत्रमा प्रकाशित गर्ने भएको छ ।
केन्द्र सरकारले दिने सार्वजनिक विदा बाहेक प्रदेश सरकारले थप ६ वटा सार्वजनिक विदा दिन पाउने व्यवस्था रहेको छ । सोही अनुसार कोशी प्रदेश सरकारले दिन विदाबारे निर्णय गर्दै राजपत्रमा प्रकाशित गर्ने भएको हो ।
जसमा आउँदो साउन २४ गते विश्व आदिवासी जनजाति दिवस, भदौ २१ गते राधाकृष्ण रथयात्रामा प्रदेशभर विदा दिने सरकारले निर्णय गरेको छ । यस्तै असोज २ गते ऋषिपञ्चमीको दिन प्रदेशभरका महिलालाई मात्रै विदा दिइने भएको छ भने कार्तिक २५ गते फाल्गुनन्द जयन्तीको दिन प्रदेशभर सार्वजनिक विदा दिइने भएको छ । यस्तै मंसिर ४ गते छठ पर्वको समापनको दिनमा पनि विदा दिने सरकारले निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषिमन्त्री भक्ति प्रसाद सिटौलाले जानकारी दिए । केन्द्र सरकारले नदिएको कुनै एक दिन मुस्लिम धर्माबलम्बीलाई लक्षित गर्दै इद पर्वका अवसरमा प्रदेशभरका मुस्लिमहरुलाई पनि एक दिन विदा दिने प्रदेश सरकारले निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले स्थानीय तहको कर्मचारीको सेवा शर्त व्यवस्थित गरी स्थानीय सरकारको काम काज प्रभावकारी बनाउने विधेयक प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय पनि गरेको छ । यस्तै प्रदेशसभाबाट कोशी प्रदेशको नामाकरण गरिएसँगै कानूनहरुमा यसअघि रहँदै आएको प्रदेश १ भन्ने शब्दलाई संशोधनका लागि संशोधन विधेयक प्रदेशसभामा लैजाने र विपन्न वर्गलाई कडा रोगको लागि उपचार सहायता उपलब्ध गराउने सम्बन्धमा आर्थिक सहायता सम्बन्धी कार्यविधि २०७९ लाई पनि स्वीकृत गरेको छ । जसमा बेखर्चीहरुको लागि पनि आर्थिक सहायता दिने उल्लेख रहेको सिटौलाले जानकारी दिए । यस्तै प्रदेश सरकारले विपदको समयमा राहत, उद्धार र प्रतिकार्यलाई स्थानीय तहसम्म समन्वयका लागि मुख्यमन्त्री अत्यावश्यकीय एकीकृत सेवा केन्द्र स्थापना गर्ने पनि निर्णय गरेको छ ।