विराटनगर । ‘डाक्साप, मेरी छोरीको रिपोर्ट हो यो’, विरामीका बुबा चिकित्सकलाई भिडियो एक्सरे र रगतको रिपोर्ट देखाउँछन् । रिपोर्ट हेरिसकेपछि चिकित्सकले विरामीका बुबालाई भन्छन् ‘हाम्रै अस्पतालमा चेक गराउनुभएछ । मलाई त यहाँको रिपोर्टमा भर लाग्दैन ।’
कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको प्रदेशकै ठूलो सरकारी अस्पताल कोशीका चिकित्सक र एक जना सेवाग्राहीबीचको यो संवादले कोशी अस्पतालको एउटा अवस्था दर्शाउँछ । औषधि व्यवसायीसमेत रहेका विराटनगर–९ का देशबन्धु ढकाल त्यसबेला छक्क परे, जब चिकित्सक स्वयम्ले आफ्नै अस्पतालको रिपोर्टमा भर पर्न नसक्ने बताए ।
१० वर्षीया छोरीले पेट दुख्यो भनेपछि उपचारका लागि अस्पताल पुर्याएका ढकालले अस्पतालकै प्रयोगशाला र रेडियोलोजी विभागमा छोरीको पेट र रगत जाँच गराएका थिए । चिकित्सकले प्रारम्भिक जाँच गरेपछि पेटको भिडियो एक्सरे गर्न र रगतका केही जाँच गर्न भनेका थिए । सोमबार छोरीको सबै रिपोर्ट लिएर उनी चिकित्सककहाँ पुगे । त्यहीबेला उनलाई चिकित्सकले भनेका थिए ‘भिडियो एक्सरे बाहिरै गर्नु भएको भए हुन्थ्यो । यहाँको रिपोर्टको मलाई भरै लाग्दैन ।’
नेपाल औषधि व्यवसायी संघ मोरङका उपाध्यक्षसमेत रहेका ढकालले आफ्नो पुरानो चिनजानका चिकित्सकलाई सोधे ‘यो कुरा तपाइँले मलाई मात्रै भन्नुभएको हो कि सबैलाई भन्नुहुन्छ ?’ ती चिकित्सकले धक नमानी भने ‘सबै बिरामीलाई त कहाँ भन्नु ! तपाइँ साथी भनेर मात्रै भनेको हुँ।’
दैनिक सयौं विरामीको भीड लाग्ने कोशी अस्पतालका चिकित्सकको कुरा सुनेपछि ढकालले भने ‘आफ्नै अस्पतालको रिपोर्टमा चिकित्सक भर नपर्ने भनेपछि कोशी अस्पतालको अवस्था कस्तो हुँदैछ भन्ने लाग्यो । मैले त्यहाँका अरु चिकित्सकसँग पनि कुरा गरेँ । धेरै जनाले त्यसै भनेपछि अस्पतालको भर परेर आउने विरामीहरुको अवस्था के होला भन्ने लागेको छ ।’ चिकित्सकले सुरुमै दिएको औषधिले काम गरेर छोरीलाई बिसेक भएकाले उनले अन्यत्र फेरि भिडियो एक्सरे गराएका छैनन् ।
उनले कोशी अस्पताल प्रशासनतिर भने प्रश्न सोझ्याएका छन् ‘डाक्टरले चिनेका मान्छेलाई त अन्यत्र गर्नु भनेर सुझाव दिइने भयो, सर्वसाधारण विरामीलाई त्यही रिपोर्टकै भरमा उपचार गराइन्छ । चिकित्सक आफैले भर नपरेको रिपोर्टका भरमा उपचार कसरी हुन्छ ?’अस्पतालका प्रमुख डा. रविनराज सिंह पनि रेडियोलोजीमा कमजोरी भएको स्वीकार गर्छन् । यसो हुनुमा जनशक्ति अभाव मुख्य समस्या भएको उनको भनाइ छ । ‘रेडियोलोजी विभागमा अहिले दुई जना मात्रै डाक्टर हुनुहुन्छ । दुई जना करारका मेडिकल अफिसर हुनुहुन्थ्यो, उहाँहरुको करार पनि सकियो’, डा. सिंहले भने ‘नयाँ जनशक्ति थप्न अन्तरवार्ता गरेका थियौं । अन्तरवार्ता दिएका डाक्टरसाब ड्युटी ज्वाइन गर्न चाहिँ आउनुभएन । जनशक्ति अभावका कारण सिमित जनशक्तिलाई बोझ धेरै छ । यहीकारण रिपोर्टको विश्वसनीयता घटेको हो ।’
उनका अनुसार अस्पतालमा चार वटा अल्ट्रासाउण्ड मेसिन छ । सबै मेसिन सन्चालनमा छन् । तर, कामको अधिक बोझले रिपोर्टमा समस्या आएको उनको दाबी छ । ‘हाम्रोमा दैनिक कम्तीमा १५० देखि २ सयको हाराहारीमा अल्ट्रासाउण्ड हुने गर्छ’ डा. सिंहले थपे ‘एउटा मान्छेको टाइम लिमिट हुन्छ । एक जना विरामीलाई १० देखि १५ मिनेट लगाएर अल्ट्रासाउण्ड गर्नुपर्ने हुन्छ । तर, अधिक चापले हामीले समय दिनै पाउँदैनौं । एक जना चिकित्सकले ५० देखि ७० जनासम्म हेर्नुपर्दा विरामीले पाउने समय घट्छ । रिपोर्टको विश्वसनीयता घट्नुको कारण नै यही हो ।’
उनका अनुसार मानव शरीरका अधिकांश अंगको भिडियो एक्सरे गर्नुपर्ने हुनसक्छ । ‘मुख्यतः पेटको हेरिन्छ’, उनले भने ‘त्यसबाहेक सवटिस्युहरुको गाँठागुठी, ब्रेष्टको, हातको गाँठागुठीहरुको पनि हेर्न सकिन्छ । शरीरका विभिन्न भागमा बिझेका वा गाडिएका काँडाहरु ननिस्केको खण्डमा पनि हेर्न सकिन्छ ।’ उनका अनुसार हरेकजसो अंगका समस्या पहिल्याउन भिडियो एक्सरे सहयोगी हुन्छ । तर, त्यसैको विश्वसनीयता कम भएपछि विरामीले पाउने सेवाको गुणस्तरमा भने सधैं प्रश्नचिन्ह लागिरहेको अवस्था छ ।
नाम चलेका विशेषज्ञ चिकित्सकहरूको बाक्लो जमघट र भेन्टिलेटरसहितको उपचार सुविधा तथा बीमामार्फत् हुने उपचार लगायतका कारण कोशीमा कोशी प्रदेशका अधिकांश जिल्ला, मधेस प्रदेशका केही र भारतीय राज्य बिहारका बिरामीसमेत उपचारका लागि आउने गरेका छन् । ओपिडीमा मात्रै दैनिक १५ सय हाराहारी आउने बिरामीमध्ये ३५० बेड सधैंजसो भरिभराउ नै हुन्छ ।
तीमध्ये दैनिक दुई सय हाराहारीका विरामीको अल्ट्रासाउण्ड (भिडियो एक्सरे) भइरहेको हुन्छ । त्यही रिपोर्टको आधारमा विरामीको उपचार भइरहेको हुन्छ । धेरै विरामीलाई भने आफूहरुले एउटै मात्रै रिपोर्टमा भर नपर्न अर्को कुनै ठाउँमा दोहोर्याएर फेरि गर्न भनेर सुझाव दिने गरेको चिकित्सक सुनाउँछन ्। ‘हामीकहाँ उपचारका लागि आउने धेरै विरामी न्यून आर्थिक स्तर भएकाहरु हुन् । उनीहरुका लागि बाहिर खर्च गरेर अल्ट्रासाउण्ड गर्ने कुरा असम्भव जस्तै हुन्छ ।’
यो अस्पताल अब पूर्वाञ्चल मेडिकल कलेजको प्रयोगात्मक अभ्यासको थलो पनि बन्दैछ । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्न कोशी अस्पताललाई प्रयोग गर्ने सम्झौता भइसकेको छ । दुई साता अघि शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्ने त्रिपक्षीय सम्झौता भएको थियो ।मेडिकल कलेजको प्रयोगात्मक अभ्यासको थलो बन्न लागेको अस्पतालकै मेडिकल रिपोर्टमा चिकित्सक भर पर्न नसक्ने अवस्थाले बेथिति झल्किने स्वास्थ्यकर्मीहरु बताउँछन् । ‘अरु धेरै उपचार र जाँच कोशीमै गराए पनि म र मेरो परिवारको भिडियो एक्सरे चाहिँ कोशीमा गराउँदिन’ अस्पतालमै कार्यरत एक स्वास्थ्यकर्मीले भने ‘यहाँको रिपोर्ट भरलाग्दो नहुने समस्या पुरानै हो । डाक्टरहरु नै भिडियो चाहिँ यहाँ नगराउनु भन्छन् ।’