विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्ड कपको सेमिफाइनलमा गाईघाट फुटबल क्लब उदयपुर पुगेको छ । मिल्स गोल्ड कप फुटबल ट्रस्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा वीरगन्ज युनाईटेड क्लबलाई टाई ब्रेकरमा ४–२ गोलले निराश बनाउँदै गाईघाट सेमिफाइनलमा पुगेको हो ।
जितसँगै गाईघाट बिहीबार हुने दोस्रो सेमिफाइनलमा साबिक विजेता प्रतिभा फुटबल क्लब सिराहासँग प्रतिस्पर्धा गर्नेछ । जितको लागि गाईघाटका देवीराज चौधरी, रोशन भुजेल, प्रवीण राई र मनिष कटुवालले गोल गरी टिमलाई सेमिफाइनलमा पुर्याउन सफल भए । वीरगन्जका शिसाद थापा र विश्वास थापाले मात्र गोल गरेका थिए ।
कृपा चौधरी र श्याम चौधरीको प्रहार गाईघाटका गोलकिपर निम छिरिङ शेर्पाले उत्कृष्ट बचाउ गरिदिए । टाई ब्रेकरमा दुई गोल सेभ गरिदिने गाईघाटका गोलकिपर शेर्पा म्यान अफ द म्याच घोषित भए ।निर्धारित समयमा दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो टाई ब्रेकरबाट भएको थियो ।
खेल अवधिभर एक दर्जन गोल गर्ने अवसर चुकाउँदा वीरगन्ज घर फकिएको छ । पहिलो हाफसम्म एक पक्षीय खेल पस्किएको वीरगन्जले खेल सुरु भएको १३ औँ मिनेटमा विवेक चौधरीले २५ यार्डदेखि गरेको सशक्त प्रहार पोसमा लागेर बाहिरियो । विवेकले बारम्बार पाएको प्रहार बाहिरियो पहिलो हाफमा अग्रता पार्ने अवसर गुमाएको थियो । ४१ औँ मिनेटमा गाईघाटका तीर्थ राईले डिबक्स भित्रबाट गरेको प्रहार बारिएको थियो ।
दोस्रो हाफदेखि गाईघाटले आक्रामक खेल पस्कियो । । दोस्रो हाफपछि वीरगन्ज अमर डङ्गोल र विवेक चौधरीको प्रहार बाहिरिएपछि हार व्यहोरेको छ । ५० औँ मिनेटमा विवेक चौधरीले पेनाल्टी एरियाबाट गरेको हेडिङ बाहिरिएको थियो । ५५ औँ मिनेटमा गाईघाटका देवराज चौधरीले डिबक्स भित्रबाट गरेको प्रहार बाहिरिँदा ब्रेकर कुर्नु परेको थियो । ।
बुधवारको पहिलो सेमिफाइनल खेल धुव्रतारा स्पोर्टिङ्ग क्लब झापा र सहलेस युवा क्लब सिराहाबिच हुनेछ ।