विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत स्वास्थ्य शिविरमा ४ हजारभन्दा बढीले स्वास्थ्य लाभ लिएका छन् ।
गत माघ २९ गतेदेखि सुरु भएको एक महिने शिविरमा ४ हजार ८४ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिए । विराटनगर वडा नम्बर १८ बाट सुरु भएको शिविर सोमबार वडा नम्बर १९ बाट समापन भएको छ । पुरुषभन्दा महिला बढी स्वास्थ्य जाँच गर्न आएको उनले बताए । २ हजार ४४५ जना महिला र १ हजार ४३४ जना पुरुषले स्वास्थ्य जाँच गराएका थिए ।
जसमा भिडियो एक्स–रे १ हजार १७६ जा, ईसीजी ५३५ जना, ल्याब सेवा ८३० जना, भीआइए (पाठेघरको जाँच) ६५० जनाले सेवा लिएको उनको भनाइ थियो । शिविरमा कोशी अस्पताल, विराट मेडिकल कलेज, नोवेल मेडिकल कलेज, क्षयरोग निवारण संस्थालगायतले सहयोग पु¥याएका थिए ।
समापन समारोहलाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले स्वास्थ्यमा दक्ष जनशक्तिको व्यवस्थापनमा महानगर लागिपरेको सुनाए । एकीकृत स्वास्थ्य शिविरका विषयमा महानगरवासीबाट राम्रो प्रतिक्रिया आएको उनको भनाइ थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नम्बर १ का अध्यक्षसमेत रहेका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, १९ का श्याम घिमिरेलगायतको उपस्थिति रहेको थियो । शिविरमा बालरोग, स्त्रीरोग, दन्तरोग, हाडजोर्नी, छालारोग, फिजिसियनलगायतका सेवा प्रवाह गरिएको थियो ।