विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडले ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा १२१ जना बचतकर्ताले ठगी कसुरमा जाहेरी दर्ता गरेका छन् ।
जाहेरी दर्ता गर्नेहरुको संख्या बढीरहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक पोखरेलले आज गरेको पत्रकार सम्मेलन गरी जाहेरी दर्ता र पक्राउ परेको तीन जनालाई सार्वजनिक गरेका छन् ।
ठगीमा परेका १२१ बचतकर्ताले फागुन २८ गते आइतबार आफूहरुको १२ करोड ९ लाख ४ हजार ४८७ रुपैयाँ बराबरको रकम ठगी भएको दाबी गर्दै मुद्दा दर्ता गराएका हुन् । विराटनगर महानगरपालिका २ मा मुख्य कार्यालय रहेको सहकारीको देशैभरी सदस्य संख्या २१ हजार ७१३ रहेको र त्यसमध्ये विराटनगरमा मात्रै चार हजार बढी रहेको प्रहरीले जनाएको छ ।
पोखरेलका अनुसार केन्द्रीय अनुसन्धान व्यूरोसँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालय मोरङले उक्त मुद्दामा अनुसन्धान सुरु भएको छ । २०५२ सालमा स्थापना भएको उक्त सहकारीको मुख्य कार्यालय विराटनगरमा रहेको र झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा तीन वटा सेवा केन्द्र रहेको छ । गत फागुन १ गतेदेखि उक्त सहकारी संस्थाको कार्यालय बन्द रहेको छ । बचतकर्ताको रकम फिर्ता नदिई संचालक समितिका पदाधिकारीहरु फरार रहेको प्रहरीले जनाएको छ । सहकारीको अध्यक्ष केदारनाथ शर्मा हुन् । प्रहरीले उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै अनुसन्धानको दायरामा ल्याउनु पर्ने अध्यक्ष शर्मासहित अन्य ५ जना फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य भइरहेको पोखरेलले जानकारी दिए ।
प्रारम्भीक अनुसन्धानका क्रममा योजनाबद्ध तरिकाले ठूलो रकम हिनामिना गरी संस्थाका सदस्य एवं बचतकर्ताहरुलाई ठगी गरेको देखिन आएको प्रहरीको दाबी छ । प्रहरीले उक्त सहकारीमा बचत गर्ने सबै पीडितहरुले ५ दिनभित्रमा जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी गर्न समेत आव्हान गरेको छ ।
सहकारीले बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचत लगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनसलगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभन दिने गरेको पीडितहरुको दाबी छ । प्रहरीले उपाध्यक्ष गौतम र सचिव न्यौपानेलाई भने गत फागुन १ गते नै पक्राउ गरी अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान गरेको थियो ।
सहकारीमा एक सय ४५ करोडबढी रकम अपचलन गरेको हुनसक्ने आशङ्का छ । सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारतमा छन् ।सदस्यहरु छविलाल विश्वकर्मा, निर्मला भट्टराई, बन्टि अधिकारी सम्पर्कबिहीन छन् । सदस्य आदित्यराज भट्टराई, प्रमुख प्रबन्धक मन्दिप खवास र प्रबन्धक सुरुचि पोखरेल रहेका थिए । उपाध्यक्ष गौतमले जिल्ला प्रशासन कार्यालय मोरङ, सहकारी विभाग काठमाडौं र प्रदेशको सहकारी रजिष्टारको कार्यालयलाई पत्राचार गर्दै समस्या समाधानका लागि आवश्यक सहयोगको माग गरेकी थिइन् ।
यसैबीच बचतकर्ताहरुको अत्याधिक दबाब आएपछि उपाध्यक्ष गौतमले सबै संचालक समितिका पदाधिकारीको तीन पुस्ते विवरण पनि जिल्ला प्रशासन कार्यालयमा बुझाएकी छिन् । उनले अध्यक्ष केदारनाथ शर्मा, उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने, सदस्यहरु छविलाल विश्वकर्मा, निर्मला भट्टराई, बन्टि अधिकारी, आदित्यराज भट्टराईको तीन पुस्ते विवरण बुझाएकी हुन् ।
विराटनगरमा मुख्य कार्यालय रहेर करोडौंको कारोबार गर्दै आएको सहकारी संस्था अहिले संकटमा छ । सहकारीको कार्यालय तथा डिपार्टमेन्ट स्टोरहरू बन्द छन् । तुलसी सहकारी विराटनगरको ठूलो सहकारी हो । विराटनगरका बचतकर्ताबाट मात्रै झण्डै ६६ करोड बचत जम्मा भएको सहकारीका कर्मचारीहरु बताउँछन् । झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा पनि शाखा कार्यालय रहेको सहकारीको जम्मा निक्षेप (बचत) रकममात्रै १ सय ४५ करोड बराबर रहेको बताइन्छ ।

