इटहरी । इटहरी उपमहानगरपालिकाले कर्मचारीलाई दिदै आएको खाजा र इन्धन कटौती गरेको छ । उपमहानगरपालिकाले खाजाबापत मात्र वार्षिक झन्डै ३ करोड रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको थियो।

कर्मचारीको खाजा भत्ता र सवारी इन्धन कटौती गर्दा उपमहानगरपालिकालाई झण्डै २ करोड ८२ लाख रुपैयाँ बचत हुने भएको हो ।

कार्यपालिकाको बैठक बसेर खाजा र तेल सुविधा कटौती गर्ने निर्णय गरेको हो ।पागुन २६ गते बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले अतिरिक्त खर्च कटौती गर्न निर्देशन दिएपछि महानगरले निर्णय नै गरेर मासिक दिँदै आएको खर्च कटौती गरेको हो।

प्रशासनिक खर्च घटाउन उपपमहानगरपालिकाले कर्मचारीले पाउँदै आएको मासिक खाजाभत्ता र तेल पाउने सुविधा कटौती गर्ने निर्णय गरेको इटहरी उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले मासिक ५ हजार खाजाबापत दिँदै आएको थियो । भने पेट्रोल १० लिटर दिदै आएको थियो ।

फागुन २६ गते बसेको १२८ औँ कार्यपालिका बैठकले खाजा भत्ता र तेलको सुविधा कटौती गर्ने निर्णय भएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।
चैत १ गतेबाट लागु हुनेगरी खाजा र तेल रोक्ने निर्णय गरिएका मेयर पौडेलले बताए ।

उपमहानगरपालिकामा ४७० जना कर्मचारी छन् । ती कर्मचारीका लागि खाजा भत्तामा वार्षिक करिब २ करोड ८२ लाख हाराहारी खर्च हुँदै आएको थियो । तेल कटौती हुँदा वार्षिक एक करोड सात लाख रुपैयाँ हाराहारी रकम जोगिने मेयर पौडेलले बताए ।

उपमहानगरपालिकाको खाजा भत्ताका विषयमा महालेखा परीक्षकको कार्यालयले पनि कटौती गर्न सुझाव दिएको थियो ।