विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको छ ।
मोरङको बेलबारी नगरपालिका ७ बाहुनीबाट स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको हो ।
न्युरो अस्पतालका कार्यकारी निर्देशक डा.अनिशा विष्टले आफु हुर्केको ठाउँको सम्मान स्वरुप अभियानको प्रराम्भ भएको जानकारी गराइन् । बाहुनी क्षेत्रका बासिन्दाहरुलाई न्युरो अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवामा सरल तथा सहज पहुँच पुर्याउने उद्देश्यको साथ अभियान सुरु भएको अस्पतालको भनाइ छ ।
अभियान पूर्वी नेपालको ग्रमिण क्षेत्रसम्म पुग्ने विष्टको भनाइ छ । स्वास्थ्य अभियान कार्यक्रमको शुभराम्भ बाहुनीमा शनिबार एक भव्य कार्यक्रमबीच गरिएको छ । स्वास्थ्य अभियान कार्यक्रमको लागि अस्पतालका कार्यकारी निर्देशक डा.विष्ट र बेलबारी नगरपालिका ७ का वडाध्यक्ष सुनिता चौधरीबीबच सम्झौतासमेत भएको छ ।
कार्यक्रममा बेलबारी नगरपालीकाका नगर प्रमुख दिलप्रसाद राईले स्वस्थ बाहुनी अभियान बाहुनी क्षेत्रका बासिन्दाको स्वास्थ्य उपचारमा सेवा कोसेढुंगा साबित हुने बताए । न्युरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्यरोलोजिट डा.बिरेन्द्रकुमार बिष्टले स्वस्थ बाहुनी अभियानबाट बाहुनीका बासिन्दासँग प्रत्यक्ष जोडिएर स्वास्थ्य उपचार सेवा प्रदान गर्ने बताए ।
अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराई, अस्पताल निर्देशक ई. रन्जितराज बस्नेत, बेलबारी नगरपालिकाका पदाधिकारीहरु, न्युरो अस्पतालका बरिष्ठ विशेषज्ञ चिकित्सकसमेत कार्यक्रममा सहभागी थिए । अभियान अन्तर्गत बाहुनीवासीलाई न्युरो अस्पतालमा निःशुल्क ओपीडी सेवा तथा सम्पूर्ण जाँच तथा उपचारमा छुटको व्यवस्था गरिएको छ । यस्तै, निःशुल्क एम्बुलेन्स सेवा, बाहुनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतीमा सहयोग, बाहुनीमा समय–समयमा निःशुल्क स्वास्थ्य शिविर गर्नेलगायतका सेवाहरु समावेश गरिएको छ ।
अभियानको थालनीमा निःशल्क बृहत स्वास्थ्य शिविरसमेत आयोजना गरिएको छ । अस्पतालका वरिष्ठ विशेषज्ञ चिकित्सकहरुबाट शिविरमा आएका विरामीहरुको स्वास्थ्य जाँच गरिएको थियो । शिविरमा बरिष्ठ न्युरोलोजिष्ट डा. विष्ट, बरिष्ठ न्युरो सर्जन यामबहादुर रोका, वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ प्रोफेसर डा.शैलजा क्षेत्री (श्रेष्ठ), वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रञ्जन थापा, वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.नारायणी रोका (भट्टराई), वरिष्ठ अर्थाेपेडिक सर्जन डा.अमित देब, वरिष्ठ रेडियोलोजिष्ट डा.निरज रेग्मी, वरिष्ठ बाल रोग विशेषज्ञ डा.सुरेशप्रसाद शाह, वरिष्ठ कार्डियोलोजिष्ट डा.राजन कर्णसहितको सहभागिता थियो ।
शिविरमा स्वास्थ्य टोलीले ६५० भन्दा बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए । स्थानीय स्तरमै आएर न्यूरो अस्पतालका सम्पूर्ण विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य उपचार सेवा पाएपछि स्थानीय खुसी भएकाथिए । शिविरमा ४२३ जनाको मधुमेहको जाँच, १०० जनाभन्दा बढी बिरामीको इसिजी, ६४ जनाको अल्ट्रसाउन्ड, ३३ जनाको इकोकार्डियोग्राफी तथा २५ जनाको किराले खाएको दाँत निकालिएको अस्पतालले जनाएको छ । शिविरमा औषधी समेत निःशुल्क वितरण गरिएको थियो ।