चीनमा नेपाली चिया सर्वोत्कृष्ट घोषित भएको समाचारले एकैपटक धेरै वटा सुखद् सन्देश प्रवाह भएको छ । अहिलेसम्म भारतमा मात्रै निर्भर रहेको चियाको अन्तर्राष्ट्रिय बजार सधैं अनिश्चित रहँदै आएको छ । नेपालको यो बाध्यता बुझेको भारतीय बजारले सधैँ दुः ख दिँदै आइरहेको छ । कहिले विषादी बढी मिसिएको नाममा होस् अथवा गुणस्तर नपुगेको बहानामा नै किन नहोस्, भारतीय बजारले नेपालको चियामा अनेकथरी अड्चन लगाउँदै आएको छ । यस्तो अवस्थामा वैकल्पिक अन्तर्राष्ट्रिय बजार नेपालका लागि अपरिहार्य छ । यसका लागि चीनमा भएको परीक्षणमा नेपालको अझ इलामको चिया सर्वोत्कृष्ट ठहरिनु चिनिया बजारको ढोका खुल्ने सम्भावना बढ्नु हो ।
त्यसो त गत वर्ष नै चीनले गुणस्तर कायम गरे नेपालको चिया लिने वचन दिएको थियो । नमूना परीक्षण त्यसैको एउटा निरन्तरताको कदम थियो । त्यसक्रममा इलामको ‘ब्ल्याक टी’ चीनमा भएको अन्तर्राष्ट्रिय चिया प्रतियोगितामा सर्वोत्कृष्ट घोषित भयो । नेपालसहित, चीन, भारत, श्रीलंका र केन्यालगायत अन्य देशहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपालको ‘ब्ल्याक टी’ को नमूना सर्वोत्कृष्ट घोषित हुँदा चीनको विश्वास आर्जन गर्ने महत्वपूर्ण अवसर पनि सावित भएको छ । इलामस्थित तीनजुरे चिया उत्पादक सहकारी संस्थाले उत्पादन गरेको चियाले चीनको प्रतियोगिता जित्नुको अर्को सन्देश पनि छ । नेपालको चिया भारतीय बजारले भने जस्तो गुणस्तरहीन छैन । तसर्थ नेपाली चिया उत्पादकहरुले अब यही गुणस्तर कायम राख्ने गरी उत्पादन बढाउने काम गर्न जरुरी छ । सरकारले भने अन्तर्राष्ट्रिय बजारका धेरै ढोका खोल्ने उपायतिर लाग्न आवश्यक छ ।
नेपालका दुईटा छिमेकी मुलुक चीन र भारत चियाका बादशाह नै मानिन्छन् । केन्या र श्रीलंकाको चिया पनि विश्वमै राम्रो मानिन्छ । ती सबैलाई उछिनेर नेपालको चियाले उपलब्धि हासिल गर्नु विश्व बजारमा नेपाली चियाको राम्रो सन्देश प्रवाह हुनु पनि हो । यसले चीनको मात्रै होइन, अन्य मुलुकहरुको पनि ध्यान आकृष्ट हुने सम्भावना बढेको छ । यो उपलब्धिले अब चिनियाँहरूमा नेपाली चिया पनि गुणस्तरको हिसाबले विश्वकै अब्बल रहेछ भन्ने विश्वास वृद्धि गराउने निश्चित छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यसअघिदेखि नै चीनमा नेपाली चिया निर्यात गर्ने विषयमा प्रक्रिया अगाडि बढाएको छ । अब वाणिज्य र परराष्ट्र मन्त्रालयले पहलकदमी लिनुपर्छ । चीन चियाको ज्यादै ठूलो र राम्रो बजार हो । यो सम्भावनालाई मध्यनजर गरेर नेपालले गम्भीरतापूर्वक कदम चाल्न जरुरी छ ।
सरकारले पहल गरेर चीनको बजार प्राप्त गर्न सफल भए त्यसको फाइदा मुलुकलाई ठूलो हुने पनि निश्चित छ । यदि नेपालले चीनमा चिया निर्यात गर्न सके त्यसको फाइदा ७ गुणा बढी हुने विज्ञहरुले बताउँदै आएका छन् । भारतलाई प्रति केजी ५ सय ३५ रुपैयाँमा बेचेको त्यही चिया चीनलाई बेच्दा प्रति केजी ३५ सयदेखि ४ हजारसम्म बिक्री हुने सम्भावना रहन्छ । त्यसैले एउटै मात्रै अन्तर्राष्ट्रिय बजारमा निर्भर हुँदा र आफैसँग गुणस्तर मापनको प्रविधि र ल्याब नहुँदा नेपालले चियाको सन्दर्भमा बारम्बार दुःख पाएको छ । सरकारले स्वदेशमै अत्याधुनिक प्रयोगशाला स्थापना गर्ने कामलाई पनि उच्च प्राथमिकता दिन जरुरी छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।