विराटनगर महानगरलाई छैन मन्दीको असर, गतवर्षको तुलनामा तीन करोड बढी राजश्व आम्दानी

विराटनगर । आर्थिक मन्दीका कारण अधिकांश आथिएक क्षेत्र प्रभावित भइरहेको बेला विराटनगर महानगरपालिकाले राजश्व संकलनमा उल्लेख्य सुधार गरेको छ । भन्सार, आन्तरिक राजश्व कार्यालय तथा अन्य राजश्व असुली गर्ने निकायहरुले सरकारले निर्धारित लक्ष्य पूरा गर्न नसकिरहेको बेलामा महानगरपालिकाले अघिल्लो वर्षको समान अवधिको तुलनामा बढी राजश्व संकलन गर्ने सफलता प्राप्त गरेको हो ।
महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को माघ १४ गतेसम्म २९ करोड ५० लाख रुपैयाँ राजश्व संकलन गरेकोमा चालु आर्थिक वर्ष २०७९/८० को माघ १४ गते आइतबार अपरान्हसम्म ३२ करोड ६७ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरिसकेको जनाएको छ । समान अवधिमा महानगरले अघिल्लो आर्थिक वर्षको भन्दा ३ करोड १७ लाख रुपैयाँ बढी राजश्व संकलन गरेको हो ।

विराटनगर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा कतिपय करका दर परिमार्जन गरी घटाउने निर्णय लिएको थियो । महानगरको उक्त निर्णयले आन्तरिक आम्दानीमा नकारात्मक असर पुग्ने चिन्ता गरिएकोमा महानगरको राजश्व महाशाखाको योजना र सक्रियताले राजश्व संकलनमा सकारात्मक वृद्धि देखिएको हो ।

निर्वाचनबाट महानगरपालिकामा नयाँ राजनीतिक नेतृत्व आएपछि लोकप्रियताका लागि करको दर घटाउने निर्णय भएको भन्दै सुरुवातमा टिप्पणीहरु भएका थिए । कतिपय करको दर घटेका कारण अघिल्लो आर्थिक वर्ष संकलन भएको राजश्व रकमका आधारमा महानगरले चालु आर्थिक वर्षका लागि लिएको लक्ष्य भेटाउनु चुनौतीपूर्ण भएकोले महाशाखाले कर बढाउन विभिन्न विकल्पहरु अगाडि सरेको थियो । जसले महानगरपालिका अघिल्लो वर्षको भन्दा बढी कर संकलन गर्न सफल भएको हो ।

महानगरपालिकाले कर सचेतना अभियानसँगै दर्ता नगरी सञ्चालन भएका व्यवसायलाई दर्ता गराउन पाँच वटा वडामा अभियान सञ्चालन गरिरहेको छ । महानगरका १९ वटै वडामा अघियान सञ्चालन गर्ने तयारी भएपनि पाँच वटामा नमूना अभियान सञ्चालन गरिएको हो । त्यसबाट सकारात्मक नतिजा आएकोले महानगरले अभियानलाई अन्य वडामा पनि बिस्तार गर्ने तयारी गरिरहेको छ ।

महानगरपालिकाले अनुमति नलिइकन निर्माण भएका पुराना घरको नक्सा पास गर्दा लाग्ने जरिवाना छुट गर्नेदेखि नक्सा बीना बनाइएको कम्पाउण्डवाल भत्काउने जस्ता कार्यक्रम अगाडि सारेर राजश्व संकलन बढाउने नीति लिएको थियो । त्यसैगरी व्यवसाय दर्ता गर्न प्रोत्साहन गर्ने र दर्ता गरेर नवीकरण नगरेकाहरुलाई पनि नवीकरणको प्रक्रियामा ल्याउन सक्रियता बढाएको थियो । जसले गर्दा महानगरले तीन महिनाको अवधिमा पुराना ७ भन्दा बढी व्यवसायको नवीकरण गर्ने सफलता प्राप्त गरेको थियो । यस्तै यस अवधिमा ३१५ वटा नयाँ व्यवसाय दर्ता भएको र थुप्रै दर्ताको प्रक्रियामा प्रवेश गरेको महानगरका अधिकृत तथा राजश्व महाशाखाका प्रमुख सरोज गौतमले जानकारी दिए । ‘महानगरले राजश्व वृद्धि गर्न सक्रियता बढाएकै कारण अहिलेको मन्दीमा पनि हामीले गतवर्षको तुलनामा बढी राजश्व संकलन गर्न सफल भएका छौं,’ अधिकृत गौतमले भने ‘यो अभियानलाई अझ विस्तार गरी महानगरको राजश्व संकलनलाई प्रभावकारी बनाउने तयारी गरिरहेका छौं ।’

महानगरको १० औं नगरसभाले ८३ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । केही दिन अघि बसेको ११ औं नगरसभाले राजश्व लक्ष्य बढाएर १ अर्ब २ करोड रुपैयाँ पु¥याएको छ । अहिलेकै अवस्थामा महानगरपालिकाले लिएको राजश्व लक्ष्य पूरा हुने कुनै सम्भावना भने छैन । यद्यपि राजश्व लक्ष्य पूरा गर्न महानगरले बाँकी अवधिमा थप नयाँ योजनाहरु अगाडि सार्न सक्ने बताइएको छ ।

महानगरले बहाल कर संकलनको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकेको छैन । त्यसलाई पनि योजना बनाएर कर राजश्व बढाउने तयारी भइरहेको महानगरले जनाएको छ । विराटनगर महानगरपालिकाले आफ्नो स्वामितत्वमा भएका व्यवसायिक भवन, पार्क, बसपार्क तथा अन्य सार्वजनिक स्थलहरुको उपयोगमा ध्यान दिन सकेमा कर आम्दानी वृद्धि गर्न सक्ने पर्याप्त आधारहरु रहेका छन् ।

महानगरपालिका हुनका लागि जनसंख्या र आन्तरिक माम्दानीको न्यूनतम मापदण्ड तोकिएकोमा विराटनगरले ती दुवै मापदण्ड पूरा गर्न सकेको छैन । न्यूनतम एक अर्ब आन्तरिक आम्दानी गर्नुपर्नेमा विराटनगरले गत आर्थिक वर्षमा ४९ करोड ८८ लाख रुपैयाँ मात्र आन्तरिक आम्दानी गरेको थियो । यस वर्ष एक अर्ब २ करोडको राजश्व लक्ष्य लिएकोमा करिव ६० करोड राजश्व संकलन हुनसक्ने बताइएको छ ।

राजश्व महाशाखाका प्रमुख गौतमले बिरगंज र भरतपुर महानगरपालिकाले मातपोतबाट हुने आम्दानीलाई पनि आन्तरिक आम्दानीमै संलग्न गर्ने गरेको तर विराटनगरले त्यसलाई छुट्टै शीर्षकमा आम्दानी गर्ने गरेकोले कम देखिएको बताए । उनले त्यसलाई आन्तरिक माम्दानी मान्दा यसैवर्षबाट एक अर्ब आन्तरिक आय पुग्ने बताए । मालपोतबाहेक बिरगंजले गत वर्ष ४९ करोड र भरतपुरले ६१ करोड रुपैयाँ आन्तरिक आय गरेका थिए ।

फाल्गुन १५, २०७९, बिहानको ०८:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर