प्रदेश १ दुईटा पहाडी जिल्ला तेह्रथुम र पाँचथरमा गएको साता आगलागीका ठूला घटना भए । सुख्खायाम सुरु हुँदै गएपछि नेपाललाई पिरोल्ने एउटा मुख्य समस्या हो आगलागी । प्रत्येक वर्ष ठूलो धनमालको क्षति निम्त्याउने र मानवीय हताहतीसमेत हुने आगलागीले धेरैलाई सताउने गरेको छ । आगलागी यस्तो नियमित आकस्मिकता हो जो हुने निश्चित छ । तर, कहिले र कहाँ भन्ने मात्रै टुंगो नहुने हो । नेपालमा आगलागीको धेरै समस्या हुने एउटा क्षेत्र प्रदेश १ पनि हो । मुख्यतः पूर्वी पहाडी जिल्लाहरुमा हरेक वर्ष हुने आगलागीको घटनाले ठूलो नोक्सानी गर्दै आएको छ । तराईका जिल्लाहरुमा पनि यसको सकस कम छैन । सुख्खायामको अनिवार्य यो विपद् आउन नदिन, आइहाले नोक्सानी कम गर्न–गराउन पर्याप्त सतर्कता, व्यापक पूर्व तयारीमा ध्यान दिनुपर्छ ।
सरकारी तहबाट विपद् व्यवस्थापनको क्षेत्रमा वर्षभरी नै काम भइरहेको दाबी आउने गरेको छ । तर, वास्तविकता कति फरक छ भने , गत वर्ष झापामा भएको आगलागीका बेला देखियो । झापामा भएको ठूलो घटनामा त्यहाँका दमकल काम लागेनन् । बरु भारतबाट दमकल मगाएर आगो निभाउनुपर्यो । प्रत्येकजसो स्थानीय तहसँग दमकल भएको झापा जस्तो सुगम जिल्लामा यस्तो अवस्था हुन्छ भने दुर्गम पहाडी जिल्लाहरुको अवस्था कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ । हरेक वर्ष आगोले हजारौं सर्वसाधारणलाई बेघरबार बनाउँछ । हजारौंलाई सडकमा पुर्याउँछ ।
आगलागीको जोखिम कम गर्ने उपायको खोजी अहिलेको मुख्य प्राथमिकताको विषय हुनुपर्छ । खासगरी स्थानीय सरकारहरुले आ–आफ्नो क्षेत्रमा चेतनामुलक अभियान चलाउने, सबै उमेर समूहका नागरिकलाई आगलागीको जोखिम घटाउने उपायबारे सूचित तुल्याउने काम उनीहरुले गर्नसक्छन् । स्थानीय सरकार आगलागी भएको ठाउँमा दमकल लिएर वा क्षतिपछि राहत लिएर पुग्ने संयन्त्र मात्रै होइन । यो कामका लागि पनि उनीहरु जतिबेलै तयार अवस्थामा रहनुपर्छ । तर, समस्या आउनै नदिने उपायमा केही समय र स्रोतको लगानी गर्न पनि स्थानीय तह तदारुक बन्नुपर्छ ।
आगलागी मानवीय कमजोरी र प्राविधिक गडबडीले निम्त्याउने दुर्घटना हो । यसका लागि पर्याप्त सजगता सर्वसाधारणले देखाउनुपर्छ । निश्चय नै आगलागी कुनै निश्चित याममा हुने, अर्को याममा नहुने भन्ने हुँदैन । तर, सुख्खायाममा यो समस्या बढी हुने गरेको तथ्यांक छ । निरन्तरको चर्को घामले हरेक चिजवस्तुलाई बल्न योग्य बनाइदिएको हुन्छ । जब आगोको सम्पर्क पुग्छ, त्यहाँ सजिलै ज्वाला सिर्जना हुन्छ । यस्तो बेलामा विद्युतीय सामग्री उपयोगमा सतर्कता देखाउने, जंगल तथा मानव वस्ती आसपासमा प्रज्जवलनशील पदार्थहरुको प्रयोगमा ध्यान दिने सामान्य सतर्कता अपनाउनैपर्छ । यसका लागि जनस्तरबाट देखाइने सजगता सबैभन्दा बढी फाइदाकारी हुनसक्छ ।
सरकारी तहले सकेसम्म चेतना अभियानलाई आक्रामक बनाउने, विद्यालय, कलेजका विद्यार्थीहरुलाई प्रशिक्षित तुल्याउने र दमकललाई तयारी अवस्थामा राख्नेतर्फ ध्यान दिन जरुरी छ । अझै पनि धेरै ठाउँमा सजिलै पानी नपाइने अवस्था छ । कम्तीमा सुख्खायाम लक्षित गरेर पानीको भण्डारण गर्ने प्रबन्ध मिलाउने, आगलागी भइहाले उपयोग गर्न सकिने सामग्री सुलभ दरमा सर्वसाधारणलाई उपलब्ध गराउने काममा पनि सरकारहरु लाग्नैपर्छ । तीन वटै तहका सरकारले यसमा ध्यान दिने हो भने सकेसम्म आगलागी रोक्न र भइहाले त्यसबाट हुने क्षति कम गर्न मद्दत मिल्नेछ ।


