विराटनगर । विराटनगरमा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको सचिवसमेत रहेकी सविना न्यौपानेले किर्ते नाम र हस्ताक्षर गर्ने गरेको खुलेको छ । उक्त सहकारीमा सर्वसाधरणले बचत गरेको १ सय ४५ करोड रुपैयाँ हिनामिना भएको हुनसक्ने आशङ्का गरिरहेको बेला न्यौपानेले सहकारीको आधिकारिक लेखापरीक्षण प्रतिवेदनमा फरक फरक नाममा हस्ताक्षर गर्ने गरेको खुलेको हो ।

सहकारीको आर्थिक वर्ष २०७८/०७९ मा उनले सविना न्यौपानेको नाममा लेखापरीक्षण प्रतिवेदनमा हस्ताक्षर गरेकी छिन् । उता आर्थिक वर्ष २०७४/०७५ को लेखापरीक्षण प्रतिवेदनमा भने समिता नेउपानेको नाममा हस्ताक्षर गरेकी छिन् । उनै सचिव न्यौपानेले फरक–फरक नाममा दुईवटा प्रतिवेदनमा हस्ताक्षर गरेको खुलेपछि किर्ते तथा जालसाँजी गरेको हुनसक्ने आशङ्का बढेको छ । स्रोतले उनीसँग दुईवटा नागरिकता रहेको हुनसक्ने आशङ्का गरेको छ ।

उता, सहकारीकी उपाध्यक्ष अनिता गौतमको नेतृत्वमा बसेको सहकारीको संचालक समितिको बैठकले विभिन्न १० वटा निर्णय गरेर जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाएको छ । संचालक समितिको विशेष बैठकमा उपस्थिति भने संचालक समितिको तर्फबाट गौतमले र प्रमुख प्रबन्धक मन्दिप खवास र प्रबन्धक सुरुचि पोखरेलले हस्ताक्षर गरेका छन् ।

सोही बैठकले आर्थिक वर्ष २०७१/०७२ सालदेखि संचालक समितिमा रहेका सम्पूर्ण संचालक समितिका सम्पूर्ण पदाधिकारी, संचालक समितिको पदाधिकारीको एकाघर र तीन पुस्ते आफन्तहरुको बैंक खाता रोक्का गर्न पत्राचार गर्ने, उनीहरुको नीजि सम्पत्ति जग्गा, जायजेथा, चल अचल सम्पत्ति रोक्का गराउने, संस्थामा आबद्ध भएका व्यवस्थापक, शाखा प्रबन्धक तथा शाखा इन्चार्जहरुको सम्पूर्ण चलअचल सम्पत्ति रोक्का गर्ने, सहकारीको भगिनी संस्थाहरु र संस्थाले ऋण दिएर संचालनमा लिएर आएको संस्थाहरुको संचालक एवम् व्यवस्थापकको सम्पूर्ण बै.क खाता तथा चलअचल सम्पत्ति रोक्का गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने, संस्थाले बचतकर्ताको बचत फिर्ता गर्न असमर्थ रहेको स्थिति आएकोले उचित समाधानका लागि सहकारी विभाग तथा विभिन्न निकायहरुलाई अनुसन्धान गर्न, गराउन पत्राचार गर्ने उल्लेख छ ।

सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारतमा छन् । सदस्यहरु छविलाल विश्वकर्मा, निर्मला भट्टराई, बन्टी अधिकारी सम्पर्कविहीन छन् । यस्तै उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने पक्राउ परेका छन् । सदस्य आदित्यराज भट्टराई, प्रमुख प्रबन्धक मन्दिप खवास र प्रबन्धक सुरुचि पोखरेल भने स्थानीय प्रशासनको सम्पर्कमै रहेका छन् । उपाध्यक्ष गौतमले जिल्ला प्रशासन कार्यालय मोरङ, सहकारी विभाग काठमाडौं र प्रदेशको सहकारी रजिष्टारको कार्यालयलाई पत्राचार गर्दै समस्या समाधानका लागि आवश्यक सहयोगको माग गरेकी छिन् ।

यसैबीच बचतकर्ताहरुको अत्याधिक दबाब आएपछि उपाध्यक्ष गौतमले सबै संचालक समितिका पदाधिकारीको तीन पुस्ते विवरण पनि जिल्ला प्रशासन कार्यालयमा बुझाएकी छिन् । उनले अध्यक्ष केदारनाथ शर्मा, उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने, सदस्यहरु छविलाल विश्वकर्मा, निर्मला भट्टराई, बन्टी अधिकारी, आदित्यराज भट्टराईको तीन पुस्ते विवरण बुझाएकी हुन् ।

ट्र्याक रेकर्डमा छन् अध्यक्ष शर्मा

जिल्ला प्रशासन कार्यालय मोरङले दिएको जानकारी अनुसार अध्यक्ष शर्मा प्रशासनको उच्च निगरानीमा छन् । उनको गतिविधिका साथै फोन रेकर्ड पनि लिइरहेको प्रशासन कार्यालय स्रोतको भनाइ छ । उता जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले अडिट रिपोर्ट र केही कागाजातहरु लिएर अध्ययन गरिरहेको बताएका छन् ।

‘उहाँहरुले दिएको अडिट रिपोर्ट र केही कागजात अध्ययन गरेर मात्रै होला जस्तो छैन, यसको आन्तरिक लेखा परीक्षण गरेर सुक्ष्मरुपले हेर्नुपर्ने देखिएको छ,’ साहले भने । उनले सहकारीसँग सम्बन्धित विषय भएकोले सहकारी विभागले नै हेर्ने र आफूहरुले सहयोग गर्ने पनि बताए ।
सहकारी तथा संचालकको खाता रोक्का विषय र जग्गा किनबेचमा रोक्का लगाउने विषयमा राष्ट्रबैंक तथा मालपोत कार्यालयसँग छलफल गरिएको उनले जानकारी दिए । ‘छानविन गर्दै जाँदा दोषी ठहर हुँदै जाँदा मानिसहरुको सम्पत्ति छानविन र रोक्का हुँदै जाने हो । तत्काल रोक्ने भनेको सहकारीको र संचालकहरुको रोक्का गर्ने हो,’ उनले भने, ‘त्यसका लागि मालपोत र राष्ट्रबैंकसँग हामीले छलफल गरेका छौं ।’ उनका अनुसार अध्यक्ष केदारनाथ शर्माले एक महिनामा आएर सबै ग्यारेन्टी लिन्छौं भनेका छन् । आउँदो बुधबारसम्ममा ५० करोड ल्याएर व्यवस्था गर्छौं भनेको पनि उनले जानकारी दिए ।

‘उहाँहरु भाग्ने सम्भावना हुँदैन । रेडकर्नर नोटिस जारी गरेर भएपनि हामी पक्राउ गर्छौं । अहिले पैसा आउने वातावरण बनाउनु प्रमुख कुरा हो,’ साहले जिल्ला प्रशासन कार्यालयमा पुगेका बचतकर्तालाई भनेका थिए, ‘केदारनाथ शर्माको तुलसी सहकारीमा भएको भन्दा चार गुणा बढी पैसा अन्य संघ संस्थामा रहेको मैले जानकारी पाएको छु । नेपालमा पहिलो नम्बरमा आर्थिक कारोबार गर्नेमध्येका मानिस पर्छन् उनी । १० अरब रुपैयाँ त उनले चलाइरहेको सुनिएको छ । त्यसो भएको हुनाले उनले बचत फिर्ता दिन्छन् भन्ने आशा गरिएको छ ।’

विराटनगर–३ मा मुख्य कार्यालय रहेर करोडौंको कारोबार गर्दै आएको तुलसी बहुमुखी सहकारी संस्था अहिले संकटमा छ । सहकारीको कार्यालय तथा डिपार्टमेन्ट स्टोरहरू बन्द छन् । तुलसी सहकारी विराटनगरको ठूलो सहकारी हो । यस सहकारीको विराटनगरमा मात्रै ५ हजार बढी बचतकर्ता छन् । विराटनगरका ५ हजार जनाबाट मात्रै झण्डै ६६ करोड बचत जम्मा भएको सहकारीका कर्मचारीहरु बताउँछन् । झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा पनि शाखा कार्यालय रहेको सहकारीको जम्मा निक्षेप (बचत) रकममात्रै १ सय ४५ करोड बराबर रहेको बताइन्छ । यसअगाडि पनि समस्याहरुबारे संचालकलाई सहकारी विभागले जानकारी दिएको र सुझावहरु दिएको थियो । तर, विभागले दिएको सुझावलाई बेवास्ता गर्दा समस्या देखिएको बताइएको छ ।

यसैबीच विराटनगर महानगरपालिकाले अध्यक्ष केदारनाथ शर्मालाई सहकारीमा देखिएको समस्या समाधानका लागि उपस्थिति हुन भन्दै सहकारीको कार्यालयमा सूचना टाँस गरेको थियो । महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुन थपलियाले फागुन ५ गते उक्त सूचना जारी गर्दै ८ गते हुने छलफलमा सहभागिताको लागि आग्रह गरेका थिए । तर, उक्त छलफलमा शर्मा उपस्थिति भएनन् । सूचनामा समयमा नै उपस्थित नभइ आलटाल गरे कानूनबमोजिम भई जाने व्यहोरा उल्लेख छ ।