धरान । सुनसरीको धरानमा आर्थिक गतिविधिलाई नयाँ ढंगले चलायमान बनाउने उद्देश्यले बिहीबारदेखि १० दिने ‘धरान एक्स्पो’ आयोजना हुने भएको छ ।
एक्स्पोमा स्वदेशी रैथाने उत्पादनदेखि विदेशी सामाग्रीहरु बिक्री तथा प्रदर्शनीका लागि राखिने आयोजक सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ ।
एक्स्पोका संयोजक गोपाल श्रेष्ठका अनुसार एक्स्पोका सबै तयारी पूरा भएको छ । धरानको पुरानो व्यापारिक साख फर्काउन एक्स्पो आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
पछिल्लो समयमा धरानको समग्र व्यापारिक व्यावसायिक गतिविधि सुस्त रहेकोले कतिपय व्यापारी व्यवसायी छिमेकी शहरतिर पलायन भएको बेला एक्स्पो आयोजना भएको हो । धरान रंगशालामा हुने एक्स्पोमा रैथाने, कृषि, औद्योगिक तथा घरेलु उत्पादन र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिइएको आयोजकको भनाइ छ ।
एक्स्पोमा कृषि औजार, कपडा, छालाका सामाग्री, घरेलु उपभोग्य सामग्री, मेसिनरी, अटोमोबाइल, बैंकिङ, वित्तीय एवम् बिमा, खाद्यान्न, खेल, कला साहित्यका सामाग्रीका स्टल राखिनेछ । एक्स्पोमा पाकिस्तान, बंगलादेश, चीन र भारतका उत्पादनहरूको स्टलहरू पनि रहनेछ ।
स्टल संयोजक विष्णु बरालकाअनुसार दैनिक भान्सा तथा घरायसी उपभोगका लागि आवश्यक उपकरणहरु पनि राखिनेछ । पूर्वी पहाडमा उत्पादित अल्लोका कपडा, जुम्लाको भीर मौरीको मह, माछाको अचारदेखि अर्गानिक बेसारसम्म एक्स्पोमा राखिएको छ ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले १० दिनसम्म सञ्चालन हुने एक्स्पोले धरानको व्यापार व्यवसायलाई नयाँ गतिमा विस्तार गर्न तथा पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने अपेक्षा गरिएको बताए । एक्सपोमा ११३ व्यापारिक स्टलहरु रहने छन् । यस्तै अन्तर्राष्ट्रिय व्यापार मेलाहरूमा प्रयोग गरिने हृयाङ्गरमा रहने ७० वटा स्टलहरू विशाल डिपार्टमेन्ट स्टोरको रूपमा रहनेछ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।