पूर्वराजा ज्ञानेन्द्र शाहको सहकार्यको प्रस्ताव निरर्थक : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । २ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने प्रश्न गर्दै उनले १५ वर्षको अवधि मात्रै जनताको हातमा शासन आएको उनले बताए । ‘ज्ञानेन्द्र शाह आफैं अलमलमा हुनुहुन्छ। त्यस्तो प्रस्तावको कुनै अर्थ छैन,’ ओलीले भने। प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरुसँग सहकार्यको प्रस्ताव राखेका थिए ।

ओलीले राष्ट्रपतिको चुनावमा माओवादी केन्द्रले एमाले उम्मेदवारलाई साथ नदिने कुरा कल्पनाभन्दा बाहिरको भएको बताएका छन्। राष्ट्रपतिको विषयमा माओवादीसँग पहिला नै सहमति भइसकेको उनको भनाइ छ ।

‘राष्ट्रपतिको चुनावमा माओवादीले साथ दिँदैन कि भन्ने कल्पना नै नगर्नुस्,’ ‌ओलीले भने, ‘सबै कुरा पहिला नै फिक्स भइसकेको छ। राष्ट्रिय सहमतिका साथ एमालेका उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छन्।’

कतिपय माओवादी नेताहरूले नै राष्ट्रपति एमालेलाई दिने भन्ने सहमति आफूहरूलाई थाहा नभएको बताइरहेका छन् नि ? भन्ने प्रश्नको जवाफमा ओलीले भने, ‘माओवादीका सबै नेता–कार्यकर्तासँग सहमति गर्ने हो र ?’

राष्ट्रपति निर्वाचनमा यसअघि भएकै सहमति कार्यान्वयन हुने र आफूहरूले दिएको उम्मेदवारमा नै राष्ट्रिय सहमति हुने उनले बताए । अध्यक्ष ओलीले को उम्मेदवार हुने र बनाउने भन्ने विषय १३ गते थाहा हुने बताए ।

आइतबार, ०७ फागुन, २०७९, दिउँसोको ०१:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर