विराटनगर । लघुकथामा नौलो अभ्यास ‘विलोम’को पहिलो अभ्यास सम्पन्न भएको छ ।
लघुकथाकार त्रय विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलद्वारा प्रारम्भ गरिएको ‘विलोम’ नामक यस अभ्यास अन्तर्गत पहिलो अभ्यास फागुन ३ गते सम्पन्न गरिएको हो ।
नेपाली लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र संवादका माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पुर्याउनु यस विलोम अभियानको उद्देश्य हो ।
सोही उद्देश्य अनुरूप पहिलो भेटघाट अग्रज लघुकथाकार, कवि एवम् सुप्रशिद्ध नाट्यकर्मी अशेष मल्लसँग उनकै निवासमा गरिएको हो ।
लघुकथा केन्द्रित कुराकानी गर्ने क्रममा पहिलो कुराकानीमा मल्लसँग झण्डै दुई घण्टा लघुकथा के हो र कस्तो हुनुपर्छ भन्ने देखि लघुकथा लेखनमा देखापरेका प्रवृत्ति, लघुकथाले समेटेका विषय, लघुकथाको स्तरीयता तथा लघुकथाको भविष्यसमेत लघुकथाका विविध पक्ष बारे र उनको लघुकथा लेखनका अनुभूति बारेमा पनि विस्तृत कुराकानी गरिएको थियो ।
लघुकथाको ऐतिहासिकता उन्खनन एवम् लघुकथाको बढ्दो लोकप्रियतालाई दृष्टिगत गर्दै यसको स्तरीयता कायम राख्नका लागि यस किसिमको अभ्यासबाट सहयोग पुग्ने यसका अभियन्ताहरूको धारणा छ । सो अवसरमा विलोम लेखिएको साङ्केतिक चिह्न पनि प्रदान गरिएको छ ।