विराटनगर । पूर्वी नेपालको सबैभन्दा ठुलो सरकारी अस्पताल कोसीको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पाँच महिना पनि पुरा नुहदै राजनैतिक दबावको कारणले परिवर्तन भएको छ । आइतबार बसेको मन्त्री स्तरीय निर्णय गर्दै कोसी अस्पतालको निमित्त मेसुमा अस्पताल भित्रका जुनियर डाक्टर रविराज सिंहलाई तोकेको हो ।
अस्पतालको १० औँ तहको सर्जन डाक्टर सिंहलाई निमित्त मेसुको जिम्मेवारी दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले जानकारी दिए ।
यसअघि अस्पतालका वरिष्ठ वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. लक्ष्मीनारायण यादव मेसुमा नियुक्त भएका थिए । उनी भदौ १६ गते कोसी अस्पतालको निमित्त मेसुमा नियुक्त भएका थिए । यसअघिका मेसु डा यादव अस्पतालको पुरानै जिम्मेवारीमा फर्केका छन् । उनी वरिष्ठ फिजिसियन डाक्टर हुन् ।
स्वास्थ्य तथा जनसख्या मन्त्री पदम गिरीले एमालेका स्थानीय नेताहरूको दबाबको कारणले जुनियर डाक्टरलाई मेसुमा नियुक्त गरेपछि अस्पताल भित्र विवाद सृजना भएको छ । कोसी अस्पतालमा ११ औँ तहको दरबन्दी गरेको छ । कोसी अस्पतालमा अहिले दुई जना ११ औँ तहका चिकित्सकहरू रहेका छन् । डा. दीपक सिग्देल र बाल रोग विशेषज्ञ डा. रामनारायण चौधरी ११ औ तहका चिकित्सक हुन् । ११ औँ तहको डाक्टर अस्पतालभित्रै हुँदा हुँदै पनि जुनियर डाक्टरलाई मेसुको जिम्मेवारी दिएपछि अस्पताल भित्र विवाद सृजना भएको हो ।
‘सिनियर र दरबन्दी अनुसारको चिकित्सक हुँदा हुँदै जुनियरबाट चिकित्सकबाट मेसुमा जिम्मेवारी तोकिएपछि भोलिको दिनमा अहिले मेसु नियुक्त भएका डाक्टरलाई ती सिनियर चिकित्सकले टेर्दैनन्,’ कोसी अस्पतालका वरिष्ठ एक चिकित्सकले भने, ‘कि त हस्पिटल भित्र भएका ११ औैै तहको चिकित्सकलाई मेसु बनाएर ल्याउनुपर्ने थियो । यदि हस्पिटल भित्रका सिनियर र ११ औँ तहको चिकित्सक नभए स्वास्थ्य मन्त्रालयले अन्यन्त्रबाट भए पनि ११ औ तहको चिकित्सक पढाउनुपर्ने थियो । त्यो सरासर राजनैतिक दबाबको कारणले नयाँ मेसु नियुक्त भएको छ ।’ यसरी सिनियर चिकित्सकलाई बाइपास गरेर जुनियरबाट मेसु नियुक्ति गर्दा हस्पिटलमा काम गर्न असहज भएको ती सिनियर चिकित्सकले बताए ।
‘प्रदेश १ को सबैभन्दा ठुलो सरकारी हस्पिटल सुधार गर्ने पक्षमा अहिलेका विकास समिति, स्वास्थ्य मन्त्रालय र मन्त्री पनि देखिएनन । यसअघि पनि १० औँ तहको चिकित्सक मेसुमा थिए । यसअघिका डाक्टर यादव हस्पिटल भित्र सिनियिर चिकित्सकको रूपमा कहलिएका थिए । त्यस बेला पनि उनलाई यहाँका अन्य चिकित्सक र कर्मचारीहरूले असहयोग गरेका थिए ।’
अहिले नियुक्त भएका जुनियर डाक्टर सिंहलाई सिनियर चिकित्सक, उनका समकालीन चिकित्सक र कर्मचारीहरूले पनि नटेर्ने बातवरण रहेको हस्पिटलमा कार्यरत चिकित्सकहरू बताउँछन् । ‘यदी कोशी अस्पतालको गुणस्तर सुधार गर्ने हो भने अन्यन्त्रबाट दरबन्दी अनुसारको ११ औं तहको चिकित्सकको खाँचो रहेको छ ।’
साढे ३ सय शय्याको कोशी अस्पतालमा दैनिक ओपीडिमा १ हजार देखि १ हजार पाँच सय विरामीले स्वास्थ्य उपचार गर्दछन् । यहाँ एक दर्जन बढी विभाग रहेको छ ।

