सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकृत हुनेछन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपाल सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकरण र एकताको प्रक्रियामा आउने बताएका छन् ।

आइतबार बेलुका विभिन्न देशका कम्युनिस्ट, वामपन्थी तथा समाजवादी पार्टीका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलन उतारचढावका बिच अगाडि बढेको बताउँदै सच्चा कम्युनिस्टहरूको एकताका निम्ति आफूले पहल गरिरहेको बताए ।

फेब्रुअरी १ देखि ५ गतेसम्म विभिन्न देशका कम्युनिस्ट, क्रान्तिकारी, वामपन्थी र समाजवादी पार्टीका प्रतिनिधिहरूको नेपालमा भएको अन्तर्राष्ट्रिय जनसभापछि उनीहरूले प्रधानमन्त्रीसँग भेट गरेका थिए ।

भेटका क्रममा प्रधानमन्त्रीले नेपालको क्रान्ति र शान्ति प्रक्रिया विश्वकै लागि नयाँ र मौलिक भएकोमा जोड दिँदै जनताका प्रतिनिधिहरूले निर्माण गरेको नयाँ संविधानले क्रान्तिका महत्वपूर्ण कार्यभारहरू सम्वोधन गरेको बताए । नेपालमा भएको क्रान्ति, शान्ति प्रक्रियाको विश्वव्यापी महत्व रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकार जनताका अपेक्षा सम्वोधन गर्न प्रयत्नशील रहेको जानकारी दिए ।

प्रधानमन्त्रीले आफूहरूकै पहलमा नेपालका कम्युनिस्टहरूको एउटै केन्द्र बनेको स्मरण गर्दै कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न, समाजवादको आधार तयार पार्न र जनअपेक्षा सम्वोधन गर्न निरन्तर प्रयत्न हुने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालको रूपान्तरणकारी आन्दोलनको नेतृत्व गर्ने ऐतिहासिक अवसर पाएको र सो कुरा विश्वभरिकै परिवर्तनका पक्षधर शक्तिहरूका निम्ति प्रेरणा हुनेसमेत उल्लेख गरे ।

भेटमा क्युवा, भेनेजुएला, ब्राजिल, चीन, घाना, दक्षिण अफ्रिका, मोरक्को, बंगलादेश, इटाली, स्पेन लगायतका देशका कम्युनिस्ट एवं वामपन्थी पार्टीका प्रतिनिधिहरू उपस्थित थिए ।

आइतबार, २२ माघ, २०७९, साँझको ०७:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर