सकियो नेवार सामुदायको सामूहिक बेल विवाह (फोटो)

विराटनगर । विराटनगरस्थित झी: पुचमा नेवार सामुदायका बालिकाहरुको सामूहिक बेलविवाह सम्पन्न भएको छ । सामुहिक बेलबिवाह शुक्रबार झी: पुचमा सम्पन्न भएको हो ।

बिहीबारदेखि सामुहिक बेलबिवाह सुरु भएको थियो । नेवार समुदायका कन्याले अनिवार्य रुपमा गर्नुपर्ने परम्परागत धार्मिक विधि हो, बेलबिवाह । सुनको प्रतिमा सूर्यलाई अर्पण गरी कन्याको विवाह गर्ने र बुबाले छोरीलाई कन्यादान दिने परम्परा छ । व्यक्तिगत रुपमा आयोजना गर्दा खर्च धेरै हुने भएपछि सामूहिक रुपमा बेलविवाह गर्ने प्रचलन बढेको छ । शुक्रबार समापन भएको सामुहिक बेलविवाहमा मोरङ, झापा, सुनसरी र उदयपुरका गरी ४० जना कन्याको सामूहिक बेलविवाह गरिएको झी: पुचका अध्यक्ष हरीबहादुर श्रेष्ठले जानकारी दिए ।

बेलविवाह रजस्वला हुनुअघि अनिवार्य रुपमा नेवार कन्याहरुले गर्नुपर्छ । शिवपुत्र कुमारलाई बेलको स्वरुपमा लिई कन्यासँग विवाह गर्ने चलन छ । झी: पुच परिसरमा सामूहिक बेलविवाहका लागि बेहुली झैँ चिटिक्क सिँगारिकी ४० जना कन्याहरूको सहभागि थिए । उनीहरू निकै खुशी देखिन्थे ।

धार्मिक विधिपूर्वक होमयज्ञ गरी बेलसँगै सुनको प्रतिमा सूर्यलाई अर्पण गरी विवाह गर्ने र बुबाले कन्यादान गर्ने चलन छ । यसरी बेलविवाह गरेपछि नेवार कन्या कहिलै विधवा नहुने मान्यता रहेको छ ।

सामूहिक बेलविवाहमा सहभागि कन्याहरुलाई पूजा सामग्रीहरु झी: पुचले उपलब्ध गराएको थियो । सामूहिक बेलविवाहले खर्च घटाउने र सामूहिक भावनासँगै संस्कृति संरक्षणमा सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले बताए । बेलविवाहमा दुलही जस्तै सिँगारिएका ४ देखि ११ वर्ष उमेर समूहका कन्याहरुको सहभागिता थियो ।

शुक्रबार, १३ माघ, २०७९, दिउँसोको ०४:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर