माघी पर्वको अवसरमा राष्ट्रपतिको शुभकामना

नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍यायाएको विश्वास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍यायाएको विश्वास व्यक्त गरेकी छन् ।

माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् ।

‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वले सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास लिएको छु’, शुभकामना सन्देशमा भनिएको छ ।

विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वहरूले मुलुकलाई विश्वसामू परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका उनको भनाइ छ । माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै ढङ्गले हर्षोल्सासपूर्वक मनाउने गर्दछन् ।

विशेषगरी थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइन्छ भने तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउने गर्दछन् ।

‘सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु’, राष्ट्रपति भण्डारीले भनेकी छन् ।

यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनले सङ्घीय र प्रदेश सरकारले मुलुकको सुशासन र गुणस्तरीय जनसेवा प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

मगर, थारु र छन्त्याल समुदायको प्रमुख सांस्कृतिक चाड एवं नेपालीहरूको महत्त्वपूर्ण चाड माघेसकराती–माघेसङ्क्रान्ति–माघी पर्वको शुभकामना व्यक्त गर्दै सङ्घीय र प्रदेश सरकारले जनसुरक्षा, भौतिक पूर्वाधार निर्माण र समग्र मुलुकको समृद्धिका लागि तीव्र गतिमा काम गर्ने विश्वास व्यक्त गरेका हुन् ।

लोकतन्त्रलाई सुदृढ् गर्ने महत्त्वपूर्ण कडिको रूपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन हालै सम्पन्न भई नयाँ सङ्घीय सरकार र प्रदेश सरकारहरू बनिसकेका सन्र्दभ उल्लेख गर्दै उपराष्ट्रपति पुनले ती सरकारहरूले तीव्र आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिए ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण मुलुक भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले हरेक समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज र धार्मिक एवं सांस्कृतिक चाडपर्वहरू रहेको बताए ।

‘विभिन्न समुदायमा मौलिकताका साथ मनाइने पर्वहरू नेपालीका साझा चाडपर्व हुन्, सूर्य धनु राशिलाई छाडेर मकर राशिमा प्रवेश गरेको तिथिलाई आधार मानेर मगर, थारु र छन्त्याल समुदायले नयाँ आर्थिक वर्ष प्रारम्भको रूपमा मनाउने माघेसङ्क्रान्ति पर्वको प्रकृतिसँग मुख्य सम्बन्ध छ’, शुभकामना सन्देशमा भनिएको छ ।

विभिन्न समुदायले आ–आफ्नो परम्पराअनुसार मनाउने यस पर्वले आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको विकास गर्नुका साथै पारिवारिक मिलन तथा भावनात्मक एकता गराउँदै आएको उनको भनाइ छ ।

सन्देशमा भनिएको छ, ‘यसै चाडबाट दिन लामो र रात कम हुन थाल्छ । अन्धकार कम र सूर्यको प्रकाश तेज हुँदा प्राणीको चेतना र कार्यशक्ति वृद्धि हुन्छ, यसकारण हामी यो पर्वलाई सकारात्मक काम र ऊर्जाको थालनी भन्न सक्छौँ, माघेसकराती÷माघेसङ्क्रान्ति÷माघी पर्व–२०७९ ले हामी सबैलाई समृद्ध मुलुक निर्माणका लागि प्रेरणा प्रदान गरोस् ।’

आइतबार, ०१ माघ, २०७९, बिहानको १०:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर