राष्ट्रियता र पृथ्वीजयन्ती

  पुण्य पि अधिकारी

मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते देशभर सार्वजनिक बिदा दिइयो । पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताको बागडोर सम्हालेपछि विश्वासको मत लिनु पर्ने अवस्थामा पृथ्वी जयन्तीलाई राजनीतिकरण गरियो भन्ने चर्चा आजका दिनमा चलिरहेको छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरीदिएका कारण आज जनताका छोराछोरी सत्तामा पुग्न पाएको यर्थाथलाई भुल्नु हुन्न र राष्ट निर्माता पृथ्वीनारायण शाहलाई राज्यले सदैव सम्मान गर्नुपर्छ भन्ने धेरै नेपालीको मत छ । झण्डै ३ करोड नेपालीको श्रद्धा र आस्था पृथ्वीनारायण शाहमाथि अझै कायम छ भन्नेमा धेरैको विमति नहोला ।

पछिल्ला दिनमा राष्ट्रियता दिनप्रतिदिन कमजोर भइरहेको समाचार र लेखहरुमा पढ्न पाइन्छ । वास्तवमा भन्ने हो भने राष्टियता किन कमजोर भइरहेको छ भन्ने विषयमा राज्य सञ्चालन गर्नेहरुले चासो दिनु पर्नेमा सिमित लोभका लागि राष्टियता नै दाउमा राख्ने परिस्थितीहरु सिर्जना भइरहेका छन् । नेपालमा राजसंस्थाको अन्त्यअघि आम नेपालीमा राष्टियताप्रति अमिट छाप थियो । भलै आज पनि राष्टियताप्रति तीन करोड नेपालीको छाप उस्तै नै छ । तर राज्यले अंगालेका नीतिका कारण दुई ठूला छिमेकी राष्टको प्रत्यक्ष चासोको विषय नेपाल भएको छ ।

विश्वमा एक मात्र स्वतन्त्र राष्टको पहिचान निर्माणमा पृथ्वीनारायण शाहजस्ता पात्रहरुको योगदान उल्लेखनीय छ । राजसंस्थाको अन्त्यअघि नेपाली जनतामा राष्टियताको विषयमा लिएर २०५७ पुस ११ गते भारतीय नायक ऋतिक रोशनले दिएको भनिएको एउटा भनाइले देशमा क्षणभरमै सल्काएको आगोले नेपाली जनताको राष्टियताप्रति कति माया थियो भन्ने बिम्ब सार्वजनिक गर्छ । भारतीय नायकको भनाइ नेपालीलाई भिडाउन गरिएको योजना थियो भन्ने वास्तविकता बाहिर आएपनि त्यो भिडाइ अन्त्यमा राष्ट्रियतासँग जोडिएको थियो ।

पृथ्वीनारायण शाहको योगदानलाई राजसंस्था भन्दा छुट्टै राखेर हेर्ने हो भने नेपाल एकीकरणकै कारण आज हामी राजकीय सत्ता नेपाली जनतामा निहित संविधानबाट शासित हुन पाएका छौँ ।

पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते सरकारले दिएको सार्वजनिक बिदाका कारण अहिले विद्यालय तहमा अध्ययनरत बालबालिकालाई राष्ट निर्माता को हुन् ? भन्ने जिज्ञासा पक्कै सिर्जना गरिदिएको छ । राष्ट्रको पहिचानलाई अक्षुण राख्न महत्वपूर्ण योगदान गर्ने इतिहासका पात्रहरुलाई विद्यालयीय पाठ्यक्रमबाट हटाउन सुझाव दिने शिक्षाविद् वा विद्धानहरुले समेत पृथ्वीनारायण शाहको योगदानलाई सम्मान गर्न आवश्यक छ ।
पृथ्वीनारायण शाहलाई राजसंस्था भन्दा अलग राखेर उनले नेपाल एकीकरणका लागि गरेका सकारात्मक प्रयासलाई प्राथमिकीकरण गरी उनको योगदानलाई प्रत्येक नेपालीको गर्व गर्ने विषय बनाउन आवश्यक छ । यसका लागि तीन ओटै सरकारले सहकार्य गर्न आवश्यक छ ।

पृथ्वीजयन्तीमा दिइएको सार्वजनिक बिदामा जनजाति महासंघले विरोध गरेको छ । नेपाल बहुल जाति बहुलभाषी धर्म निरपेक्ष राष्ट भएका कारण सबैको अधिकार संविधानले रक्षा गरेको छ । जनजाति महासंघले प्रत्येक वर्ष वडादशैँजस्ता राष्टिय एकता कायम गर्ने पर्वहरुको विरोध जनाउँदै आएको छ । अधिकार पाएपछि कर्तव्य समेत पालना गर्न संविधानले प्रष्ट व्यवस्था गरेको छ । अन्त्यमा कसैले विरोध गर्दैमा राज्यले इतिहासका रत्नहरुलाई कौडीमा मिल्काउन मिल्ने छैन् ।

बिहिबार, २८ पुष, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर