सम्भावित कोभिडको संक्रमण सामना गर्न महानगरको तयारी

विराटनगर । विश्वका विभिन्न मुलुकमा कोभिड–१९ को तेस्रो लहर सुरु भएपछि विराटनगर महानगरले पनि सम्भावित संक्रमणको सामना गर्न तयारी सुरु गरेको छ ।

कोभिडको जोखिमलाई ध्यानमा राखेर तयारी थाल्न स्वास्थ्य मन्त्रालयले समेत विज्ञप्तिमार्फत अनुरोध गरिसकेको छ । महानगरको सामाजिक समितिका संयोजक काजीबहादुर बस्नेत, स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिलगायतले रानी नाकास्थित हेल्थ डेस्कको अनुगमन गरेको छ । सम्भावित जोखिमलाई ध्यानमा राखेर तयारी सुरु गरिएको स्वास्थ्य महाशाखा प्रमुख अलिले बताए । सम्भावित कोभिडको संक्रमण विरुद्ध लड्न महानगरको स्वास्थ्यका सबै संयन्त्रलाई तयारी अवस्थामा राख्न मेयर नागेश कोइराले निर्देशन दिइसकेका छन् । मेयरको निर्देशनपछि टोलीले रानी नाकामा रहेको हेल्थ डेस्कको अनुगमन गरेको हो ।

महाशाखा प्रमुख अलिका अनुसार विराटनगर–१६ को रानी हेल्थ डेस्क, १५ को प्राथमिक स्वास्थ्य केन्द्र रानी, वडा नम्बर १९ स्थित वैजनाथपुर स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र विराटनगर–५ मा कोभिडको निःशुल्क परीक्षण भइरहेको छ ।

शनिबार, ०९ पुष, २०७९, साँझको ०५:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर