विराटनगर । विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरणको विषयले चुनावमा आफूलाई प्रभावित गर्न खोजेका बताएका छन । नेपाल पत्रकार महासंघ प्रदेश १ को दोस्रो साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले मिडियाहरूले नबोलेको कुरा पनि ठुलठुला हेडलाइन बनाएर प्रचार गरिदिएकोले चुनावमा प्रभावित पार्न खोजेको बताएका हुन ।
‘किरात प्रदेश भएन भने राजनीति नै गर्दिन भन्यो भनेर हेडलाइन बने,’ उनले भने ‘तर मैले सपनामा पनि यो किरात प्रदेश मात्रै हुनुपर्छ भनेर भनेको थिइन ।’ उनले आफूले किरात प्रदेश मात्रै नभनेको स्मरण गर्दै बहु पहिचानको कुरा उठाएको बताए ।सञ्चारमाध्यमले किरात प्रदेश राख्नुपर्छ भनेर दुष्प्रचार गरेको मुख्यमन्त्री राईले आरोप लगाए ।
पहिले एउटा कुरा भनेर भोट माग्ने र जितिसकेपछि अर्काे कुरा गर्न नहुने मुख्यमन्त्री राईको भनाइ रहेको छ । बहु पहिचान दिन्छौ भनेर भोट मागेकाले जनतालाई ढाँट्नु हुँदैन भनेर आफू बहु पहिचानको पक्षमा लागेको मुख्यमन्त्री राईले बताए । मुख्यमन्त्री राईले प्रदेश १ मा गठबन्धनकै सरकार बन्नेसमेत दाबी गरेका छन ।
यस्तै प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङवोले प्रदेशले काम गर्न सकेन भनेर गलत प्रचार गरिदिएको बताएका छन । प्रदेशका लागि चाहिने आधारभूत कानुनहरू समेत सङ्घीय सरकाले नबनाई दिएको र सङ्घीय ससंदमै बस्नेले प्रदेश सरकार प्रति गलत प्रचार गरिदिएको बताएका छन ।
यातायात तथा संचार मन्त्री उपेन्द्र घिमिरेले प्रदेश सरकारले गरेका गल्ती कमजोरीलाई पत्रकारहरूले खबरदारी गरेर सच्याउनु पर्ने बताए ।
पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्भ घिमिरेको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा प्रदेश पत्रकार महासंघका संस्थापक अध्यक्ष विक्रम लुइँटेललाई सम्मान गरिएको थियो ।