भरर्खरै सम्पन्न आम निर्वाचनको परिणमले वर्तमान सत्ता गठबन्धन दल नेपाली कांग्रेसलाई प्रमुख ठूलो दल बनाएको छ । त्यसरी नै राप्रपा, जनमत, कमल थापा, एकनाथ ढकाललगायतका बिखण्डनवादी, पश्चगामी तथा धार्मिक अतिवादी शक्तिको गठबन्धन मार्फत निर्वाचनमा होमिएको एमाले दोस्रो ठुलो दलको रुपमा खडा भएको छ । साथै उसले आफूलाई वाम आन्दोलनको निर्विकल्प प्रवाहको रुपमा घोषणा गर्दै आएको पनि छ । के यथार्थ उसले भने जस्तै हो त ? आजको बसिबियाँलो यसैबाट सुरु गरौं ।
आवधिक निर्वाचन जनअभिमतको कसी हो जसलाई राजनीतिक दलहरुको विगतको सिंहावलोकन र आगतको स्वीकार्यताको रुपमा लिने गरिन्छ । तर, यस पटकको निर्वाचनमा अभिमत त्यस हिसाबबाट आउन सकेन । परिणाम भावना, र आवेशको रुपमा देखा प¥यो । वामपन्थी चरित्रको सामान्य नैतिकतासम्म नराखी नीतिगत र व्यवहारगत रुपमै बिचलित घोर दक्षिणपन्थी दलदलमा भासिएको एमाले पस्न दोस्रो शक्तिको रुपमा उदय भयो । यसो हुनुमा के उसको लोकप्रियता हो त ? कि कागताली ? यस बारेमा सबैले जानकारी राख्नु जरुरी छ ।
एमालेप्रतिको अभिमतको एउटा कारण उसको विगतको क्रान्तिकारी आचरण हो । २०४७ देखि २०५१ सम्म एमाले क्रान्तिकरी पार्टी थियो । त्यहाँसम्म आइपुग्न उसले अनेकौं बलिदान गरेको छ । निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गर्न तत्कालीन एमाले लगायतका वाम शक्तिहरुको महत्वपूर्ण भूमिका छ । यदि त्यसबेला नै वामहरुबीचमा एकता भएको भए वामपन्थीहरुको सरकार बनाउन कसैले रोक्न सक्ने अबस्था थिएन । तर, संसदीय भासमा भासिने डर अनि आपसी अहम्को कारण वामहरु एक हुन नसक्दा त्यो संभावना टरेर गयो । तर, आज एमाले विगतको रुपमा छैन । सैद्धान्तिक रुपमा बिचलित र कार्यनीतिक रुपमा पथविमुख छ । तर जनतामा उसको सक्कली रुप प्रवाहित हुन सकिरहेको छैन । उसको विगतको क्रान्तिकारी छवी नै आजको जनताको बुझाई हो ।
एमाले वामपन्थी आवरणको नक्कली बोर्डमा टिकिरहनुको दोस्रो कारण मनमोहन अधिकारी नेतृत्वको सरकार र उहाँले ल्याएको प्रगतिशील सुधारका कार्यक्रम हो । सोहि आर्थिक नीतिले गर्दा आज पनि जनतामा एमालेप्रति भरोसाको भ्रम छ । २०६२÷६३ पछिको परिवर्तन र २०५१ कै सुधारवादी आर्थिक नीतिको जगमा टेकेर २०७४ सालमा नेकपाको सरकार बन्यो । केपि ओलीले त्यसको नेतृत्व लिए । त्यस पछि भने पार्टी पूर्णरुपमा दक्षिणपन्थी भासमा फस्यो । कम्यूनिष्ट आचरण कतै देख्नसम्म पाइएन । तर, राजनीतिमा हावी शहरीया मध्यम वर्गले वामहरु मिल मात्र भने । नीतिगत र व्यवहारगत रुपमा सुध्रियांै भनेर चाहिँ थोरैले भने । अनि जबरजस्त मिल मात्र भन्ने ठूलो जमातले एमालेलाई अंगालिरहेको छ ।
हुन त महाकाली सन्धीको अनुमोदनदेखि नै एमालेमा सैद्धान्तिक विचलन सुरु भैसकेको हो । तर, मजबुत सांगठनिक आधार र त्यसबेलासम्म कार्यकर्ताको स्वच्छ र नैतिक आचरणयुक्त जीवनशैली र इमान्दारिता अनि अनुशासन थियो । तहगत संगठनहरुमा इमानीहरुको बाहुल्यता थियो । जसले गर्दा आमजनतामा एमाले प्रतिको भरोसा कायमै रहन गयो । सीमित बाहेक आम रुपमा नेतृत्व दुर्गन्धित भैसकेको थिएन । साथै आज पनि जनतामा एमाले इमान्दार नै छ भन्ने भ्रम टुट्न सकेको छैन ।
यतिखेर एमाले राजनीतिक संगठन नभएर धार्मिक संस्थाको रुपमा देखिएको छ । आम कार्यकर्ता पंक्तिमा बैचारिक शून्यता छ । राजनीतिक रुपमा असचेत अनि स्वार्थी शहरीया मध्यम वर्गीय जमात एमालेमा छ । सो जमातले एमालेलाई धर्मको रुपमा लिन्छ । केपीलाई महागुरुको रुपमा पूजा गर्छ । धर्म गुरुको रुपमा देवत्वकरण गर्छ । अनि सूर्यलाई पहिचानको रुपमा लिन्छ । सहि पनि एमाले मै पनि एमाले भनेर सडक नाच देखाउनु सिवाय कम्युनिष्ट पार्टीको ‘क’ पनि जान्दैन । खोक्रो रुपमा एमाले ठूलो पार्टी बन्नुको कारण यहि हो ।
निर्वाचन परिणाम पछि एमालेका केहि नेतागणहरु विद्रोहिहरुलाई घर फर्कन सामाजिक संजाल मार्फत आह्वान गर्दै छन् । एक किसिमले स्वागतयोग्य जस्तै पनि देखिन्छ । तर, उनीहरु सर्वप्रथम ओलीपन्थी प्रा.लि.लाई एमाले बनाउन तयार छन् ? पार्टीलाई धार्मिक संस्थाबाट राजनीतिक दलमा रुपान्तरण गर्ने हिम्मत राख्छन् ? नेतृत्वलाई माठाधीसबाट समाजवादी क्रान्तिको नायकको रुपमा स्थापित गर्न सक्छन् ? सैद्धान्तिक पथविमुख प्रवृत्तिलाई सिद्धान्तको साँचोमा ढाल्न सक्छन् ? यति गर्ने हो भने कुनै रुवाबासीको जरुरत नै छैन । तर, केवल दोस्रो ठूलो दल भएँ भनेर छाती मात्र फुलाउने हो भने त्यसको कुनै सैद्धान्तिक तुक छैन । राष्ट्रिय पञ्चायतमा पञ्चहरु शतप्रतिशत विजय गर्थे । तर, हालत के भयो ? नैतिक धरातलविहीन राजनीतिको अवस्था के हुँदोरहेछ ? नफुल्दा हुन्छ ।
सत्ताको चास्नीमा डुब्दै आएको एमालेपंक्ति अब पाँच वर्ष सत्ताबाट बाहिरिने भयले वाम एकताको ओठेभक्ति गाउँदै छन् । अनि सत्ताको लागि जुन सुकै बेला जोसँग जे पनि गर्न पछि नपर्ने एक खाले वाम नेताहरुले सत्ताको ¥याल चुहाउन थालेको पाइन्छ । तर, षडयन्त्र र जालझेल नै एमाले नामधारी ओलीपन्थी प्रालिको मूल मन्त्र हो भन्ने बारेमा उनीहरुको आँखा खुल्छ या खुल्दैन ? विगतको धोकाबाट पाठ सिक्ने कि नसिक्ने ? त्यो भने समयक्रमले देखाउने छ । तर, वाम लोकतान्त्रिक गठबन्धनका दलहरुलाई पाँच वर्ष सो गठबन्धनबाट उम्कने नैतिक अधिकार भने पक्कै छैन ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।