यी ३७ जना बन्दैछन् प्रदेश १ का समानुपातिक सांसद

सिट बाँडफाँडसँगै प्रदेश १ मा समानुपातिक प्रणालीबाट छानिने सांसदहरुको लगभग टुंगो

विराटनगर । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगाणना सम्पन्न गरि समानुपतिक तर्फको सिटसमेत बाँडफाँड गरिसकेको छ । सिट बाँडफाँडसँगै प्रदेश १ मा समानुपातिक प्रणालीबाट छानिने सांसदहरुको लगभग टुंगो लागेको छ । प्रदेशका ३७ समानुपातिक संसदमध्ये ३१ जना महिला हुनेछन् ।

आयोगले बाँडफाँड गरेको सिट अनुसार दलहरुले समानुपातिकतर्फ विजयी हुने उम्मेदवारको नाम आयोगमा बुझाउनुपर्छ । यसरी बुझाउँदा संविधान र कानूनले तोके अनुसार समावेशिता मिलाएको हुनुपर्छ । प्रदेश १ मा नेकपा एमालेले एमालेले ६ लाख ६५ हजार ४६० मत प्राप्त गरेकोमा उसले १५ सिट पाएको छ भने काँग्रेसले ५ लाख ६२ हजार ९५६ मत प्राप्त गर्दा १२ सिट पाएको छ । यस्तै माओवादी केन्द्रले १ लाख ८१ हजार २४५ मत पाएर ४ सिट र राप्रपाले पनि १ लाख ९८ हजार ५११ मत प्राप्त गरि ४ सिट पाएको छ । जसपाले ६१ हजार ७२३ मत पाएर १ सिट र नेकपा एकीकृत समाजवादी ५५ हजार ९५७ मत पाएर १ सिट पाएको छ । दलहरुले शनिबारसम्ममा निर्णय गरेर पठाइसक्नुपर्ने सू्ची अनुसार प्रदेश १ मा कुन दलबाट को–को समानुपातिक सांसद चुनिन्छन् भन्ने सम्भावित सूची यहाँ प्रस्तुत छ ।

एमालेबाट १३ महिला, दुई पुरुष

प्रदेश १ को सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले समानुपातिक उम्मेदवार सिफारिस गर्न शुक्रबार केन्द्रीय सचिबालयको बैठक बोलाएको छ ।

दलहरुले बैठकबाट निर्णय गरेर नाम पठाउने भएपनि उनीहरुले यसअघि निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसुचीको क्रम मिच्न पाउँदैननन् । त्यसमाथि प्रत्यक्षतर्फ निर्वाचित भएकाहरुसमेत जोडेर ३३ प्रतिशत महिला अनिवार्य समानुपातिकबाट पठाउनुपर्छ ।

कानुन अनुसार प्रदेश १ मा समानुपातिक उम्मेदवार छनौट गर्दा आदिवासी जनजातितर्फ ४६.७९ प्रतिशत, खसआर्य २७.८४ प्रतिशत, दलित १०.०६ प्रतिशत, थारु ४.१५ प्रतिशत, मधेसी ७.५७ प्रतिशत, मुस्लिम ३.५९ प्रतिशत हुनुपर्नेछ । उनीहरुमध्ये १७.५३ प्रतिशत अल्पसंख्यक हुनुपर्नेछ ।

प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ २५ सिट र समानुपातिकतर्फ १५ सिट जितेको छ । प्रत्यक्षतर्फ कोही पनि महिलाले एमालेबाट चुनाव नजितेकोले समानुपातिकतर्फ १५ सिटमध्ये १३ जना महिलालाई एमालेले पठाउनुपर्नेछ । एमालेबाट समानुपातिकतर्फ २ पुरुषले मात्र अवसर पाउनेछन् ।

एमालेले समानुपातिकतर्फ १५ सिटमध्ये २ पुरुष र १३ महिलामा ७ जना आदिवासी जनजाति र ४ जना खसआर्यलाई पठाउनुपर्नेछ । यस्तै दलित, मधेशी, थारु र मुस्लिमतर्फ १–१ जनाको प्रतिनिधत्व हुनेछ ।

एमालेको समानुपातिक सुचीमा रहेकामध्ये पुरुषहरुतर्फ खसआर्यको पहिलो नम्बरमा रहेका ओखलढुंगाका किशोरकुमार अधिकारी र आदिवासी जनजाति पुरुषको पहिलो नम्बरमा रहेका पाँचथरका श्रीप्रसाद जवेगु सांसद बन्ने देखिएको छ । ५८ वर्षीय अधिकारी एमालेका केन्द्रीय सदस्य हुन् भने ५१ वर्षीय जवेगु रामबहादुर थापा बादलसँगै माओवादी छाडेर एमालेमै बसेका नेता हुन् ।

एक जनजाति पुरुषलाई प्रदेशसभामा पठाएमा एमालेको बन्दसुचीमा रहेका ६ महिलाले प्रदेश सभा सदस्य बन्ने अवसर पाउनेछन् । उनीहरुमा उदयपुरकी ४६ वर्षीया सृजना दनुवार, झापाकी ५९ वर्षीया कमला थापा मगर, सुनसरीकी ४७ वर्षीय मिना श्रेष्ठ, भोजपुरकी ३८ वर्षीया सिर्जना राई, मोरङकी ६७ वर्षीया मालतीकुमारी लिम्बू र धनकुटाकी ४६ वर्षीय मनकुमारी तितुङ छन् । एमालेले श्रीप्रसाद जवेगुलाई सांसद नबनाएको अवस्थामा भने भोजपुरकी बन्दना राईले पनि अवसर पाउनेछिन् ।

खसआर्यतर्फ एमालेका ४ जना प्रदेशसभा सदस्य चुनिनेछन् । किशोरकुमार अधिकारीलाई छनौट गरेमा महिलाबाट ३ जनाले अवसर पाउनेछन् । जसमा मोरङकी ६१ वर्षीया शिला दिक्षित कार्की, झापाकी ६६ वर्षीया तारादेवी ढकाल र सुनसरीकी ५७ वर्षीया निरादेवी खनाल छन् । खनाल एमाले नेता एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्यकी श्रीमती हुन् । पुरुषतर्फ खसआर्यका अधिकारीलाई एमालेले नचुनेमा उदयपुरकी गितादेवी रेग्मीले अवसर पाउनेछिन् ।

एमालेले दलिततर्फ तेह्रथुमकी ४९ वर्षीया कमलादेवी दर्नाल, मधेशीतर्फ मोरङकी ४० वर्षीया गितारानी महतो, थारुबाट मोरङकै ५१ वर्षीया ललिताकुमारी चौधरी, र मुस्लिमबाट मोरङकै ३८ वर्षीया नुर सदि बेगमलाई पठाउनेछ । पुरुष कोटामा पठाउने व्यक्तिबारे पार्टीले तलमाथि गरेको अवस्थामा भने यी नामहरुमा केही परिवर्तन हुनसक्ने संभावना छ ।

समानुपातिकको बन्दसुचीबाट एमालेले ३ जना अल्पसंख्यकलाई अनिवार्य प्रदेशसभामा पठाउनुपर्छ । एमालेको बन्दसुचीमा अल्संख्यकतर्फ झापाका नम्बरलाल धिमाल, विद्यानन्दसिंह राजवंशी, उदयपुरकी सृजना दनुवार, सुनसरीकी यशोदा कायस्थ, संखुवासभाकी लहरुमाया जीमी र मोरङका अरुणकुमार राठीको नाम छ । उनीहरुमध्ये सुचीक्रममा रहेकी दनुवार प्रदेशसभा सदस्य बन्नेछन् भने बाँकी २ जना एमालेले छान्न पाउनेछ ।

अल्पसंख्यकतर्फ एमालेले धिमाललाई चयन गरेमा श्री जवेगु बाहिरिनेछन् भने कायस्थलाई चयन गरे धनकुटाकी मनकुमारी तितुङको नाम संकटमा पर्नेछ । यस्तै अल्संख्यकतर्फ अरुणकुमार राठीको नाम चयन भए अर्को एक जना पुरुषको मात्र नाम पर्नेछ भने गितारानी महतो बाहिरिनेछिन् ।

काँग्रेसमा प्रदेश सभापतिसहित दुई पुरुष, १० महिला

प्रदेश १ मा ५ लाख ६२ हजार ९५६ मत प्राप्त गरेको नेपाली काँग्रेसले १२ सिट पाएको छ । २०७४ को निर्वाचनमा समानुपातिकतर्फ १३ सिट पाएको काँग्रेसले यसपटक प्रत्यक्षतर्फ दोब्बर बढि सिट प्राप्त गरेपनि समानुपातिकतर्फ एक सिट गुमाएको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ८ सिट मात्र जितेको काँग्रेसले यसपटक १७ सिट जितेको छ ।

काँग्रेसले अब दलको बैठकबाट यसअघि निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसुचीको क्रम अनुसार समावेशी आधारमा विजेताको नाम सिफारिस गर्नुपर्नेछ । काँग्रेसबाट प्रत्यक्षतर्फ कुनै पनि महिलाले चुनाब नजितेकोले समानुपातिकतर्फ पाएको १२ सिटमध्ये १० जना महिलालाई प्रदेशसभामा पठाउनुपर्नेछ ।

कानुन अनुसार प्रदेश १ मा समानुपातिक उम्मेदवार छनौट गर्दा आदिवासी जनजातितर्फ ४६.७९ प्रतिशत, खसआर्य २७.८४ प्रतिशत, दलित १०.०६ प्रतिशत, थारु ४.१५ प्रतिशत, मधेसी ७.५७ प्रतिशत, मुस्लिम ३.५९ प्रतिशत हुनुपर्नेछ । उनीहरुमध्ये १७.५३ प्रतिशत अल्पसंख्यक हुनुपर्छ ।

काँग्रेसले समानुपातिकतर्फ १२ सिटमध्ये २ पुरुष र १० महिलामा ६ जना आदिवासी जनजाति र ३ जना खसआर्यलाई पठाउनुपर्नेछ । यस्तै दलित, मधेशी र थारु १–१ जनाको प्रतिनिधत्व हुनेछ ।

काँग्रेसको समानुपातिक सुचीमा रहेकामध्ये पुरुषहरुतर्फ खसआर्यको पहिलो नम्बरमा रहेका झापाका उद्धब थापा प्रदेशसभा सदस्य बन्ने निश्चित छ । ६४ वर्षीय उनी काँग्रेस प्रदेश समितिका सभापति हुन् । काँग्रेसले पाउने अर्को पुरुष कोटामा झापाकै मोहन महर्जनको संभावना छ । ५२ वर्षीया काँग्रेस नेता २०४६ को जनआन्दोलनमा झापाका विद्यार्थी नेता राम थापाको मण्डलेहरुले हत्या गर्दा घाइते भएका थिए ।

महर्जनलाई प्रदेशसभामा पठाएमा काँग्रेसले आदिवासी जनजातितर्फ थप ५ महिलालाई प्रदेशसभामा पठाउनुपर्छ । पाँचथरकी ४४ वर्षीया मैया श्रेष्ठ, सोलुखुम्बुकी ४० वर्षीया डोल्मा तामाङ, उदयपुरकी ६२ वर्षीया लिलाकुमारी राई, सुनसरीकी ४२ वर्षीया ममता मगर तामाङ र मोरङकी ४७ वर्षीया शोभा चेम्जोङ पालुङ्वा प्रदेशसभा सदस्य बन्नेछन् । पुरुषतर्फका महर्जनलाई काँग्रेसले प्रदेशसभामा नपठाएमा सुनसरीकी अनु गुरुङले अवसर पाउनेछन् ।

खसआर्यतर्फ पुरुषमा उद्धव थापालाई पठाएपछि काँग्रेसले थप २ महिला मात्र खसआर्यबाट प्रदेशसभामा पठाउनेछ । उनीहरु धनकुटाकी ५४ वर्षीया इन्दिरा थापा र इलामकी ४९ वर्षीया खगेश्वरी पौडेल छन् । यदि उद्धव थापालाई प्रदेशसभामा काँग्रेसले नपठाएमा धनकुटाकी सुमना तिम्सिनाले अवसर पाउनेछिन् ।

काँग्रेसबाट दलित कोटामा सनुसरीकी ४२ वर्षीया सुनितकुमारी गुरुङ, थारु कोटामा सुनसरीकै ४२ वर्षीया सुनिता गच्छदार र मधेशी कोटामा झापाकी ४८ वर्षीया लखिकुमारी गणेश प्रदेशसभा सदस्य बन्नेछन् । काँग्रेसले २ जना अल्संख्यकलाई प्रदेशसभामा पठाउनुपर्नेमा झापाकी गणेश र सुनसरीकी गुरुङ अल्पसंख्यक रहेकोले त्यो कोटा पनि पुरा हुनेछ ।

माओवादीबाट चारै जना महिला

माओवादी केन्द्रले प्रदेश १ मा १ लाख ८१ हजार २४५ मत पाएर ४ सिट हात पार्दा सबै महिलाले अवसर पाउने भएका छन् ।

माओवादी केन्द्रले ४ सिट प्राप्त गर्दा प्रत्यक्षतर्फ उसले ९ सिट जितेकोले जम्मा १३ सिट हुन्छ । संविधान अनुसार प्रदेशसभामा समानुपातिक उम्मेदवार छान्दा प्रत्यक्ष र समानुपातिक विजयी संख्याको ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्छ । १३ सिटमध्ये प्रत्यक्षमा कोही पनि महिला निर्वाचित नभएकोले ४ जना नै महिलालाई माओवादी केन्द्रले पठाउनुपर्नेछ ।

महिलापछि समानुपातिक उम्मेदवार छान्दा जातीय समावेशिकरण पनि मिलाउनुपर्छ । निर्वाचन आयोगले निर्धारण गरेको क्लस्टर अनुसार कुनैपनि दलले ४ जना समानुपातिक सिट प्राप्त गरेमा उनले २ जना जनजाति, १ खसआर्य र १ दलितको प्रतिनिधित्व गराउनुपर्छ । त्यसमा १ जना अल्संख्यक समुदायको पनि हुनुपर्ने व्यवस्था रहेको छ ।

यो व्यवस्था अनुसार प्रदेशसभामा माओवादीले निर्वाचन आयोगमा बुझाएको बन्दसुची अनुसार आदिवासी जनजाति कोटामा पहिलो नम्बरमा नाम भएकी झापाकी बन्दना झाँगर, आदिवासी जनजातिको दोस्रो नम्बरमा नाम भएकी उदयपुरकी सम्झना तामाङ थाम्सुहाङ, खसआर्यको पहिलो नम्बरमा नाम भएकी मोरङकी गीता तिम्सिना र दलिततर्फ पहिलो नम्बरमा नाम भएकी सुनसरीकी सपना दर्जी प्रदेशसभा सदस्यमा निर्वाचित हुने भएका छन्। उनीहरुमध्ये झाँगर अल्पसंख्यकसमेत हुन् ।

माओवादीबाट प्रदेशसभा सदस्य हुने चारै जना महिलाहरु जनयुद्धकै समयदेखि माओवादी आन्दोलनमा सक्रिय नेतृहरु हुन् । उनीहरुमध्ये ४० वर्षीया तिम्सिना र ३६ वर्षीया दर्जी पार्टीको केन्द्रीय सदस्य छन् भने ३६ वर्षीया झाँगर र ४० वर्षीया तामाङ प्रदेश समिति सदस्य हुन् ।

राप्रपा, एस र जसपाबाट को–को ?

प्रदेशसभाको प्रत्यक्षतर्फ २ सिट जितेको राप्रपाले समानुपतिकमा ४ सिट पाएको छ । प्रत्यक्षतर्फ राप्रपाको एक महिलाले चुनाब जितेकोले समानुपतिकतर्फको ४ जना १ महिला र ३ पुरुषलाई उसले पठाउन सक्छ ।

राप्रपाले समानुपतिकतर्फको ४ सिटमा २ आदिवासी जनजाति, एक दलित र एक खसआर्य पठाउनुपर्नेछ । समानुपतिक बन्दसुची अनुसार पाँचथरका ६० वर्षीय प्रेमराज थाम्सुहाङ र झापाकी ४१ वर्षीया निमसरी राजवंशी आदिवासी जनजाति कोटामा प्रदेशसभा सदस्य हुने निश्चित देखिएको छ । यस्तै झापाका ६८ वर्षीय अम्बरबहादुर विष्ट खसआर्य कोटामा र झापाकै ६५ वर्षीय गोपालबहादुर विश्वकर्मा दलित कोटामा प्रदेशसभा सदस्य हुने भएका छन् ।

प्रदेशसभामा प्रत्यक्षतर्फ ३ सिट जितेको एकीकृत समाजवादीले समानुपतिकतर्फ १ सिट जितेको छ । प्रत्यक्षमा जित्नेमध्ये १ महिला रहेकोले उसले समानुपातिकको सिटमा महिलालाई नै पठाउनु पर्नेछ । समाजवादीबाट मोरङकी ५६ वर्षीय विद्या चाम्लिङ प्रदेशसभा सदस्य हुनेछिन् ।

यसैगरी प्रत्यक्षमा कुनै सिट नजितेको जसपाले समानुपातिकतर्फ १ सिट पाएको छ । सो सिटमा जसपाले ताप्लेजुङकी निर्मला लिम्बूलाई प्रतिनिधित्व गराउनेछ ।

शुक्रबार, २३ मंसिर, २०७९, बिहानको ११:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर