विराटनगर । सुनचाँदीको कारोबार गर्ने अनुमति लिएका ज्वेलर्स सञ्चालकहरुले गैरकानुनी रुपमा बैकिङ कारोबार चलाउने र चर्को ब्याज लिएर सर्वसाधारण ठग्ने गर्दै आइरहेका छन् ।

यसको पछिल्लो एउटा प्रमाण मोरङमै फेला परेको छ । सुन्दरहरैचा नगरपालिका १० खोर्सानेमा रहेको ‘कमला ज्वेलर्स’ का संचालक ४५ वर्षीय राजु विश्वकर्माले ५५ जना सर्वसाधारणलाई १८ देखि २४ प्रतिशतसम्म ब्याज दिने प्रलोभनमा पारी ठगी गरेको पाइएको हो ।

मोरङ प्रहरीले कमला ज्वेलर्सका संचालक विश्वकर्मालाई पक्राउ गरेर अनुसन्धान गर्दा ५५ जना सर्वसाधारणको १ करोड ८० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको सुरुआती चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका डिएसपी टिकाबहादुर कार्कीले जानकारी दिए । सर्वसाधारणले बचत गरेको रकम ठगी गरेको उजुरीको आधारमा पक्राउ गरेपछि अहिले उजुरी दिने पीडितको संख्या पनि बढेको उनले बताए । ‘अहिले उजुरी दिन आउनेको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘प्रारम्भिक चरणमा १५ जनाको उजुरी आउँदा ८२ लाख रुपैयाँ ठगी गरेको पाइएको थियो । अहिले पक्राउ गरेपछि उजुरी दिने सर्वसाधारण बढ्दै गएका छन् ।’ सुनचाँदी पसलको आडमा अवैध रूपमा बैंकिङ कारोबार पनि गरेपछि मोरङ प्रहरीले अदालतमा ठगीमा म्याद थप गरी अनुसन्धान सुरू गरेको छ ।

उनले सहकारीले जस्तै पासबुक छापेर बैंक र सहकारीको भन्दा आकर्षक ब्याज दिने भन्दै सर्वसाधारणबाट रकम संकलन गर्ने र घर जग्गामा लगानी गर्ने गरेको पाइएको छ । सुन्दरहरैंचा १० की मनमाया राईको १२ लाख रुपैयाँ ज्वेलर्स संचालक विश्वकर्माले ठगी गरेको बताइन् । उनले छोरीलाई उच्च शिक्षा पढाउनको लागि विराटनगरमा रहेको १० धुर जग्गा बेचेर १८ प्रतिशत ब्याजमा २०७८ पुस ११ गते बचत गरेकी थिइन् । ‘गाउँमै चिनेजानेको सुनचाँदी पसलमा पहिला पनि कारोबार गर्ने भएकोले विश्वासको आधारमा बचत गरेको थिएँ । सुरूमा कारोबार गर्दा राम्रै भएको थियो । त्यही विश्वासको कारणले जग्गा बेचेको रकम कमला ज्वेर्लसमा राखिदिएँ’ उनले भनिन्, ‘बचत गरेको समयअवधि पुग्न लागेपछि पैसा झिक्न जाँदा पैसा दिँदैन । त्यसपछि प्रहरीमा जाहेरी गरेपछि अहिले पक्राउ परेका छन् ।’

सुन्दरहरंैचा १० मा पोल्ट्री फर्म संचालन गर्दै आएका इन्द्र पुरीको समस्या पनि मनमायाको जस्तै रहेको छ । फर्मबाट आएको मुनाफा र बचत गरेको १० लाख रुपैयाँ राम्रो ब्याज पाउने लोभमा सुन पसलमा राखिदिएका उनी अहिले पैसा नपाएर समस्यामा परेका छन् । अहिले सुन पसल संचालक पक्राउ परेपछि उनी बिचल्लीमा परेका छन् । ‘खाइनखाइ दुःख गरेर आर्जेको रकम आकर्षक ब्याज पाउने लोभमा राखिदिएँ,’ उनले भने, ‘अहिले आएर संचालक पक्राउ परेका छन् ।’ जम्मा गरेको रकम जसरी पनि दिलाइदिनुपर्ने उनले बताए । सुन पसद संचालक विश्वकर्माबाट ठगिएका दुई दर्जनभन्दा बढी सर्वसाधारण सोमबार जिल्ला प्रहरी कार्यालय मोरङमा आएका थिए । उनीहरूले बचत गरेको रकम पाउनुपर्ने र गैरकानुनी रूपमा बैकिङ कारोबार गर्नेलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।

यसअघि पनि उर्लाबारी नगरपालिका – ६ डिबी मार्गमा रहेको गौतम सुनचाँदी पसलका संचालक राजेश भनिने गोपाल गौतम तीन सय जना भन्दा बढी सर्वसाधारणले ब्याजमा लगाएको १२ करोड रुपैयाँभन्दा बढी रकम लिएर फरार भएका थिए । यस्तै मोरङको बुढीगंगा गाउँपालिकामा ‘चन्दा ज्वेलर्स’ नामको सुन पसल सञ्चालन गरिरहेका चन्दन स्वर्णकार र उनकी श्रीमती सङ्गीता धितोमा राखिएको सुनचाँदी र बचत गरेको करोडौं रुपैयाँ लिएर भागेका थिए ।

यी घटनाले पनि सुन व्यवसायीले कानुनविपरित बचत संकलन तथा ऋण लगानी गर्दै आएको पुष्टि भएको छ ।

नेपाल राष्ट्र बैंक ऐन–२०५८ ले निक्षेप उठाउने र ऋण लगानीको काम गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । ऐनको दफा ७६ (उपदफा १) मा ‘कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कुनै पनि प्रकारको निक्षेप लिन वा कर्जा दिन बैंकबाट तोकिए बमोजिम स्वीकृति लिनुपर्नेछ’ भन्ने उल्लेख छ । तर, ऐन कार्यान्वयनमा राष्ट्र बैंक र प्रहरी प्रशासनले सक्रियता नदेखाउँदा सुनचाँदी व्यवसायीले गैरकानुनी रूपमा निक्षेप संकलन गर्ने तथा सुन धितो राखेर सर्वसाधारणलाई ऋण दिने काम निर्वाध रूपमा गर्दै आएका छन् । सुन पसलबाट कारोबार गरेका सर्वसाधारणहरूको लगानी नै जोखिममा समेत पर्न थालेको छ ।

कमला ज्वेलर्सका संचालक विश्वकर्माले यहाँका ५५ जना सर्वसाधारणको झण्डै २ करोड रुपैयाँ लिएर ठगी गरिदिएपछि सर्वसाधरण बिचल्लीमा परेका छन् । विश्वकर्माको सुनचाँदी पसलमा १ लाखदेखि २० लाख रुपैयाँसम्म ब्याजमा लगाउने सर्वसाधारण भेटिएका छन् । उनीहरूले पसलमा आएर पैसा जम्मा गरेपछि पासबुक दिने गरेका थिए । ब्याजमा लगाएको रकम लिएर विश्वकर्माले ठगी गरिदिएपछि पीडितहरू जम्मा गरेको पैसा फिर्ता गराउन जनप्रतिनिधिदेखि स्थानीय प्रशासनसम्म हारगुहार गरेका छन् ।

सुनसरीको इटहरी र मोरङको विराटनगर, उर्लाबारी, पथरीलगायतको क्षेत्रमा अधिकांश सुन पसलले गैरकानुनी रुपमा बैकिङ कारोबार गर्दै आएको जानकारहरु बताउँछन् । प्रायः सबै सुन पसलहरूले व्यक्तिगत पासबुक नै छापेर कारोबार गर्दै आएका छन् । एक–दुई सुन पसल छाडेर प्रायः सबैले यस्तो धन्दा चलाउँदै आएको सुन पसल सञ्चालकहरू स्वयम बताउने गर्दछन् । ठूला सुन पसलले करोडको कारोबार गरेको पासबुक राखेर सञ्चालन गर्दै आएको व्यवसायीहरु बताउँछन् ।

केही समयअघि नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरो सीआइबीले अनुमति नै नलिइ बैंकिङ कारोबार गरेको विभिन्न इन्भेष्टमेन्ट कम्पनी, सुन पसल, फेन्सी पसलमा छापा मारेपछि इटहरीका सुन पसल सञ्चालकहरूको पनि भागाभाग भएको थियो । केही समय कारोबार बन्द गरे पनि अहिले भने पुनः कारोबार सञ्चालन हुन थालेका छन् ।

मोरङ प्रहरीका डिएसपी कार्कीले स्वीकृति नलिइकन सुन पसलहरुले बचत कारोबार गर्नु गैरकानुनी भएकोले यस्ता पसल कारवाहीको दायरमा आउने बताए । उनले सर्वसाधारणहरुलाई कानुनी मान्यता पाएको बैंक सहकारीहरुबाट मात्र कारोबार गर्न आग्रह गरेका छन् ।

बैंक भन्दा व्यवसायीले छिटो र सहज रूपमा ऋण दिने र धितोको मूल्यांकन पनि बढी गर्ने भएकाले सर्वसाधारण यतातर्फ आकर्षित भएका हुन् । बैंकले धितो मूल्यांकन गरेर मात्र ऋण दिने, लामो प्रक्रिया लगाउने तथा विभिन्न कागजात खोज्ने भएकाले पसलबाट ऋण लिएको सर्वसाधारण