एशियाबाट तीन वटा देश विश्वकपको नकआउट चरणमा प्रवेश

एशियाबाट तीन वटा देश विश्वकपको नकआउट चरणमा प्रवेश

काठमाडौं । एशियाबाट तीन वटा देश फिफा विश्वकपको नकआउट चरणमा  प्रवेश गरेका छन् ।

एशियाबाट प्रतिस्पर्धा गरेका जापान, दक्षिण कोरिया र अस्ट्रेलिया दोस्रो चरणमा प्रवेश गरेका हुन्। गएराति भएको खेलमा फूटबल स्टार क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया अर्को चरणमा प्रवेश गरेको हो।

दक्षिण कोरियाले पोर्चुगललाई २१ गोल अन्तरले पराजित गरेको हो। खेलको शुरुआतमै रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। खेलको २७औं मिनेटमा किम योङ गोनले गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काएका थिए।

दोस्रो हाफमा दुवै टोली थुप्रै प्रहार गरे पनि गोलमा परिणत गर्न सकेनन्। दोस्रो हाफको इन्जुरी समयमा वाङ ही चनले गोल गर्दै दक्षिण कोरियालाई अर्को चरणमा पुर्याएका हुन्। समूह ए बाट दक्षिण कोरिया दोस्रो चरणमा प्रवेश गरेसँगै लुईस स्वरेजको उरुग्वे समूह चरणबाटै बाहिरिएको छ।

त्यस्तै, मंसीर १५ गते राति भएको खेलमा स्पेनलाई पराजित गर्दै जापान नकआउट चरणमा पुगेको थियो। जापानले पनि स्पेनलाई २१ गोल अन्तरले पराजित गरेको थियो। समूह ई बाट जापान दोस्रो चरणमा प्रवेश गरेपछि चार पटकको विश्वकप विजेता जर्मनी समूह चरणबाटै बाहिरिएको थियो।

यसैगरी, समूह डी बाट डेनमार्कलाई पराजित गर्दै अस्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको थियो। अस्ट्रेलियाले डेनमार्कलाई १० गोल अन्तगरले पराजित गरेको थियो।

अब आजबाट शुरु हुने नकआउट चरणको खेलमा १६ टोली प्रतिस्पर्धा गर्नेछन्। जसमा एशियाका तीन टोलीसँगै नेदरल्यान्ड, अमेरिका, अर्जेन्टिना, फ्रान्स, पोल्यान्ड, इङ्ल्यान्ड, सेनेगल, क्रोसिया, ब्राजिल, मोरोक्को, स्पेन, पोर्चुगल र स्वट्जरल्यान्ड छन्। एशियाली टोली अस्ट्रेलियाले अर्जेन्टिना, जापानले क्रोसिया र दक्षिण कोरियाले ब्राजिलको सामना गर्नेछन्।

दोस्रो चरणको पहिलो खेलमा आज राति ८ ४५ बजे नेदरल्यान्ड र अमेरिका तथा राति १२ :४५ बजे अस्ट्रेलिया र अर्जेन्टिना भिड्नेछन्। त्यस्तै, मंसीर १८ गते राति ८ :४५ बजे फ्रान्स र पोल्यान्ड तथा राति १२:४५ बजे इङ्ल्यान्ड र सेनेगलको प्रतिस्पर्धा हुनेछ।

जापान र क्रोसियाको खेल मंसीर १९ गते राति ८:४५ बजे हुनेछ भने ब्राजिल र दक्षिण कोरियाबीच राति १२:४५ बजे प्रतिस्पर्धा हुनेछ।

त्यस्तै, मंसीर २० गते राति ८:४५ बजे तथा मोरोक्को र स्पेनको खेल हुने छ भने राति १२:४५ बजे पोर्चुगल र स्विट्जरल्यान्ड भिड्नेछन्।