विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुने सातौं विराट एक्स्पोको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एक्स्पोको तयारी लगभग पूरा भएको उद्योग संगठन मोरङले जनाएको छ ।

आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यका साथ उद्योग संगठन मोरङले ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ आयोजना गर्न लागेको हो । आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नाराका साथ एक्स्पो हुन लागेको हो ।

एक्स्पोको मुख्य आकर्षक आर्थिक एवं कृषि तथा औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरुमा नीतिगत छलफल, अनुभव आदानप्रदान, नवीतम् सोच भएका युवा उद्यमीको स्टार्टअप कर्नरका लागि छुट्टै पेभिलियन, प्रदेश आर्थिक वृद्धि तथा लगानी सवलीकरणका लागि एसियन फाउण्डेशन र प्रदेश नागरिक विकास बोर्डसँग सहकार्यमा लगानी सम्मेलन, प्रदेश १ मा लगानीका सम्भावना भएका कुराको प्रदर्शनीको छुट्टै पेभिलियन रहने छ ।

त्यसैगरी, पहिलो पटक एक्स्पोमा रोबटसँग प्रत्यक्ष संवाद गर्ने मौका मिल्ने छ । थ्रीडी भर्चुयल टुरमार्फत प्रदेश १ को प्रख्यात पर्यटकीय क्षेत्र सगरमाथाको बेस क्याप, गुफा पोखरी, पाथीभरा मन्दिरलगायत हेर्न सकिन्छ । यसबाहेक पर्यटकीय गन्तब्यको जानकारी, स्थानीय खाना उत्सव, दैनिक साँगीतिक कार्यक्रम छ भने यस्ता कार्यक्रमहरुमा स्थानीय कला संस्कृति एवं कलाकारहरुलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै कला संस्कृतिको प्रस्तुति हुनेछ । साथै राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको समेत सहभागिता हुन्छ ।

एक्स्पोमा रोजगारदाता र रोजगारको खोजीमा रहेकाहरुबीच प्रत्यक्ष भेटघाटका लागि छुट्टै पेभिलियन रहेको छ भने ४१५ वटा स्टल रहेको छ । एक्स्पोमा स्वदेशी उत्पादनलाई मुख्य प्राथमिकतामा राख्दै भारत, बंगलादेश, पाकिस्तानलगायतका मुलुकको उत्पादनको प्रदर्शनी रहेको छ । एक्स्पोमा भारत बिहारको सीमावर्ती क्षेत्रबाट समेत गरी करिब ३ लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।

स्थानीय अर्थतन्त्र चलायमान बनाउँदै उद्योग व्यवसाय क्षेत्रको व्यवसायीक विकासमा योगदान पु¥याउन संगठनले २०५३ सालमा कोशी महोत्सवबाट सुरु गरेको हो । २०५६ सालमा पूर्वाञ्चल व्यापार मेला, २०६२ सालमा कृषि यान्त्रिक तथा प्रविधि प्रदर्शनी भएको थियो ।

प्रदर्शनीको ऐतिहासिकताको निरन्तरता स्वरुप संगठनले समयानुकुल परिमार्जन तथा परिस्कृत गर्दै २०६६ सालदेखि २ वर्षको अन्तरालमा ‘विराट एक्स्पो’ गर्दै आएको छ ।