अमेरिकामा चीनको प्रहरी चौकी ! एफबीआईले अनुसन्धान गर्दै

एजेन्सी । अमेरिकाको घरेलु गुप्तचर एजेन्सी एफबीआईले देशभित्र चीनसँग जोडिएका प्रहरी स्टेशनको भएको समाचारप्रति चिन्ता व्यक्त गरेको छ । सेप्टेम्बरमा सेफगार्ड डिफेन्डर्स नामक एनजीओले तयार पारेको रिपोर्टमा चीनले विश्वभर अवैध प्रहरी स्टेसनहरू खोलेको बताएको थियो । र त्यस्ता प्रहरी स्टेसनहरू न्यूयोर्कमा पनि रहेको बताइएको थियो ।

एफबीआईका निर्देशक क्रिस्टोफर ब्रेले अमेरिकी सिनेटको समितिलाई एफबीआईले यस प्रतिवेदनमा मूल्यांकन गरिरहेको बताएका छन् । एफबीआई निर्देशकले समितिलाई भने– ‘हामीले अमेरिकामा रहेका भनिएका चीनका प्रहरी स्टेशनलाई गम्भिरतापूर्वक लिएका छौं । चीनले हाम्रो देशभित्र र न्यूयोर्कजस्ता ठूला सहरमा प्रहरी स्टेशन खोल्नु अत्यन्त आपत्तिजनक कुरा हो । कुनै सूचना नदिई यसरी प्रहरी स्टेशन खोल्न पाइँदैन ।’

उनले चीनले यस्तो गरेको पाइएमा त्यो अमेरिकी सार्वभौमसत्ताको उल्लंघन मात्र नभई अमेरिकी न्यायिक प्रणालीप्रतिको बेवास्ता पनि भएको बताए । त्यस्ता प्रहरी स्टेसनहरूले अमेरिकी कानूनको उल्लङ्घन गर्छन् कि भनेर सोध्दा क्रिस्टोफरले भने, ‘हामी योसँग जोडिएका सबै कानूनी पक्षहरू हेरिरहेका छौं ।’

अमेरिकी सिनेटको होमल्याण्ड सेक्युरिटी कमिटीको सुनुवाइका क्रममा वरिष्ठ गुप्तचर अधिकारी ब्रेले उक्त कुरा बताएका हुन् । यस क्रममा धेरै वरिष्ठ सांसदले उनलाई विभिन्न प्रश्न सोधेका थिए ।

विश्वभर छन् चिनियाँ प्रहरी स्टेसन

​स्पेनस्थित एनजीओ सेफगार्ड डिफेन्डर्सका अनुसार चीनको सार्वजनिक सुरक्षा ब्यूरोले विदेशमा प्रहरी सेवा स्टेशन स्थापना गर्ने गरेको छ । यस्ता स्टेशन धेरै देशमा फैलिएको सो एनजीओको रिपोर्टमा उल्लेख छ । पहिचान भएकामध्ये दुई बेलायतको लन्डन तथा ग्लासगोमा र अन्य टोरन्टो र न्यूयोर्कमा रहेको रिपोर्टमा उल्लेख छ ।

विदेशमा रहेका यी प्रहरी चौकीहरू अन्तर्राष्ट्रिय अपराध रोक्न र विदेशमा रहेका चिनियाँ नागरिकहरूलाई प्रशासनिक सेवा उपलब्ध गराउन प्रयोग गरिने गरेको सेफगार्ड डिफेन्डर्सको रिपोर्टमा उल्लेख छ । तिनले मुख्यतः चालक अनुमतिपत्र जारी गर्ने भनिए पनि सेफगार्ड डिफेन्डर्सका अनुसार ती चौकी विदेशमा रहेर चिनियाँ राष्ट्रपति सी जिनपिङको आलोचना गर्नेविरुद्ध लक्षित छ ।

चीनले भने विदेशमा आफ्नो कुनै प्रहरी चौकी नभएको बताउँदै आएको छ । उता एफबीआईका निर्देशकले सिनेट समितिलाई दिएको बयानमा उनको एजेन्सीले उत्पीडन, ठग र ब्ल्याकमेल गर्ने धेरै चिनियाँ अधिकारीविरुद्ध मुद्दा दायर गरेको बताए ।

सेफगार्ड डिफेन्डरहरूको रिपोर्ट पछि, गत महिना आयरल्याण्डको राजधानी डब्लिनमा एउटा प्रहरी चौकी बन्द गर्न आदेश दिइएको थियो । त्यसपछि हालै क्यानडाको गुप्तचर निकायले उसको देशमा अवैध प्रहरी चौकी रहेको विषयमा चीनले अनुसन्धान गरिरहेको बताएको छ ।

शुक्रबार, ०२ मंसिर, २०७९, दिउँसोको ०४:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर