उदयपुर । पूर्ण रुपमा सरकारी स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले निर्वाचनपछि सञ्चालन हुने भएको छ । आइतबार उद्योग प्रशासन र उद्योगमा कार्यरत मजदुर युनियनबीच उद्योगलाई निर्वाचनपछि सञ्चालन गर्ने सहमति भएको हो ।
यसअघि उर्जाका लागि आवश्यक पर्ने पत्थर कोइलाको अभाव र मर्मतका लागि भन्दै उद्योग लामो समय बन्द गरिएको थियो । कोइलाको अभावमा उद्योग पटक–पटक बन्द गरिएपछि मजदुर युनियनहरुले महाप्रबन्धकलाई तत्काल उद्योग सञ्चालन गर्न दबाब दिँदै आएका थिए ।
‘कोइला अभावमा उद्योग बन्द भएको र आइतबारसम्म पाँच सय मेट्रिक टन कोइला प्राप्त भई ट्रेड युनियनहरुबीचसमेत उद्योग सञ्चालनको सहमति बनिसकेकोले निर्वाचनपछि लगतै उद्योग सञ्चालन गरिनेछ,’ सहमति पत्रमा उल्लेख छ । निर्वाचनको अवधिमा थप पाँचसय मेट्रिक टन कोइला आउने उद्योगले जनाएको छ । कोइला प्राप्त भएपछि उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गरी क्लिङ्कर उत्पादन गर्ने उद्योगले जनाएको छ । त्यसका लागि आवश्यक पर्ने लगानी जुटाइदिन सरकारसँग आग्रह गर्ने विषयमा पनि उद्योग र टे«ड युनियनबीच सहमति बनेको छ ।
उद्योगका तर्फबाट महाप्रबन्धक गोपीकृष्ण न्यौपाने, नायव महाप्रबन्धकहरु उमाशंकर आन्नद, महेशप्रसाद साह, प्रशासन प्रमुख प्रथमलाल चौेधरी र मजदुरहरुको तर्फबाट नेपाल कारखाना श्रमिक संघका अध्यक्ष देवेन्द्र झा, नेपाल औद्योगिक मजदुर संगठनका अध्यक्ष महावीर चौधरी, अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष विशेश्वर पाल र समग्र टे«ड युनियनका उपाध्यक्ष पूर्णप्रसाद गुरागाँइले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
उद्योगका सहायक महाप्रबन्धक उमाशंकर आन्नदकाअनुसार चालु आर्थिक वर्षको साउनमा १२, भदौमा ८, असोजमा १५ दिन उद्योग बन्द भएको थियो भने कात्तिक महिनामा उद्योग सञ्चालननै नभएको बताइएको छ । उनले भने, ‘उद्योग बन्द हुनुको मुख्य कारण कोइला अभाव मर्मत गर्नुपर्ने अवस्था हो ।’ उद्योगले साउनमा ६ हजार १४५, भदौमा ८ हजार ९७६, असोजमा ६ हजार ५१४, कात्तिकमा २ हजार ५१ मेट्रिकटन क्लिङ्कर उत्पदन गरेको उनले जानकारी दिए ।
दैनिक ८ सय मेट्रिकटन क्लिङ्कर उत्पादन गर्ने क्षमता भएको उद्योगले लामो समयदेखि क्षमताअनुसार उत्पादन गर्न सकेको छैन । उद्योगले सिमेन्ट प्रतिबोरा ७६० रुपैयाँका दरले बिक्री गर्दै आएको छ ।

