विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा ५७ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा १० जना कर्मचारीविरुद्ध अदालतमा ठगी मुद्दा दर्ता भएको छ ।
हस्पिटलको रिसेप्सन बिलिङ एण्ड डिस्चार्ज विभागका इन्चार्ज मोरङको सुनवर्षी नगरपालिका २ का २६ वर्षे दुर्गाबहादुर बिष्ट र सुनसरी इटहरी ४ का २४ वर्षे अश्विन भट्टराईको मुख्य योजनामा दश जना ५७ लाख ९६ हजार १६० रुपैयाँ हिनामिना भएको दाबीसहित कर्मचारीविरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको हो ।
मोरङ प्रहरीले विराट हस्पिटलको रकम हिनामिना गरी ठगी गरेको आरोपमा अस्पतालमा कार्यरत १० जना कर्मचारी कात्तिक ३ गते पक्राउ परेका थिए । पक्राउ परेका मध्ये सबैभन्दा बढी अनियमितता भट्टराई र विष्टले गरेको खुलेको छ । मोरङ अदालतमा दायर अभियोगमा उल्लेख भएको बिवरणअनुसार डिस्चार्ज विभागका इन्चार्ज विष्टले २३ लाख ६६ हजार ६१७ रुपैयाँ, भट्टराईले २३ लाख ९० लाख ७३१ रुपैयाँ हिनामिना गरेका थिए । यस्तै अस्पतालका अन्य कर्मचारीहरू स्वस्तिका श्रेष्ठले ५ लाख २६ हजार ७९१, सुनिल पासवानले १९ हजार ६२७, प्रभु नारायण चौधरीले ३३ हजार ३००, सुशिल पासवानले २ लाख ९८ हजार ५०३, किरण विश्वकर्माले ६७ हजार ३३२, बसन्तकुमार रामले १० हजार र नर नारायण चौधरीले ५६ हजार ५७३ रुपैयाँ हिनामिना गरेको अदालतमा दायर भएका ठगी मुद्दाको अभियोग पत्रमा उल्लेख छ ।
हस्पिटलको कर्मचारीको मिलेमतोमा विराट टिचिङ हस्पिटलको ५ करोड रुपैयाँ हिनामिना भएको भन्दै कारवाहीको दायरामा ल्याउन मागसहित ३ कार्तिकमा मोरङ प्रहरीमा उजुरी दिएको थियो । प्रहरीमा उजुरीपरेपछि विष्ट र भट्टराईलाई सोही दिन पक्राउ गरेको थियो । अन्य ८ जनाको पनि घोटलामा संलग्न देखिएपछि पक्राउ परेका थिए । प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि शुक्रबार उनीहरु विरुद्ध मोरङ अदालतमा ठगी मुद्दा दायर भएको हो ।
मोरङ अदालतमा आइतबार र सोमबार प्रतिवादीहरुको बायन लिन सुरू भएको मोरङ अदालतका सूचना अधिकारी सुवोध आचार्यले जानकारी दिए । प्रतिवादीरुको अदालतमा बयान सकिएकोले मंगलबार थुनछेक बहस हुने उनले बताए ।
घोटलामा संलग्लन भएका मध्ये मुख्य नाइके विष्ट र भट्टराई रहेको बुझिएको छ । बिष्ट चार वर्षदेखि र भट्टराई दुई वर्षदेखि हस्पिटलमा काम गर्दै आएका थिए ।
बिरामी डिस्चार्ज भएपछि भुक्तानी गर्नुपर्ने रकम डिस्चार्ज काउन्टरको इन्चार्ज भएकोले विष्ट र भट्टराईले बुझ्दै आएका थिए । उनीहरूले लिएको रकम लेखा शाखामा बुझाउँदै आएका थिए । पछिल्लो समय केही महिनादेखि विष्ट र भट्टराईले बिरामीले दिएको रकम लेखा शाखामा नबुझाइ आफंै राखि करिब पाँच करोड हिनामिना गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी परेको थियो । छानविनका क्रममा भने प्रहरीले ५७ लाख ९६ हजार रुपैयाँ हिनामिना भएको निष्कर्श निकालेको थियो ।
विष्ट र भट्टराईले दश जना हस्पिटलको कर्मचारीको युजर आइडी बनाएर हस्पिटलको रकम अपचलन गरेको देखिएको छ । भट्टराईले ‘आश्विन’ र विष्टले ‘दूर्गा’ नामको युजर आइटी बनाएर घोटला गरेको प्रहरीले जनाएको छ । अर्काको युजर आईडी र पासवर्ड प्रयोग गर्दै बिरामीका आफन्तले अस्पतालका नाममा जम्मा गरेको धरौटीवापतको रकम अनाधिकृत रूपमा फिर्ता दिएर, नक्कली बिरामी खडा गरेर र अस्पतालको आधिकारिक व्यक्तिबाट स्वीकृति नलिइकन बिरामीको खाताबाट अस्वभाविक रूपमा छुट देखाएर आर्थिक अपचलन गरेको हालसम्मको अनुसन्धानबाट खुलेको छ ।
रकम हिनामिनाका सम्बन्धमा छलफल गर्न अस्पताल सञ्चालक समितिको बैठक गत कात्तिक ३ गते बसेको थियो । बैठकले लेखा परीक्षक मनोज अधिकारीलाई छानबिन गरेर प्रतिवेदन पेश गर्ने विज्ञका रूपमा नियुक्त गरेको थियो । कर्मचारीकै मिलेमतोमा अनियमितता गरिएको प्रतिवेदन तयार पारेर अधिकारीले कात्तिक १४ गते अस्पताललाई बुझाएका थिए ।