विराटनगर–८ का ज्येष्ठ नागरिकको घरघरमै पुगेर स्वास्थ्य जाँच

विराटनगर–८ का ज्येष्ठ नागरिकको घरघरमै पुगेर स्वास्थ्य जाँच

विराटनगर  । विराटनगर महानगरपालिका वडा नम्बर ८ ले ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य जाँच सुरु गरेको छ ।
वडाले बिहीबारदेखि घरघरमै पुगेर वडाभित्रका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच सुरु गरेको हो ।

स्वास्थ्य स्वयम्सेविकाहरुमार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच सुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकको सुगर, प्रेसरलगायत जाँच गरिएको छ । स्वास्थ्य जाँचबाट समस्या देखिएका ज्येष्ठ नागरिकलाई औषधिसमेत निःशुल्क वितरण गरिएको वडाध्यक्ष पोखरेलले बताए । ‘ज्येष्ठ नागरिकलाई स्वास्थ्य संस्थासम्म पुग्न गाह्रो हुने भएकाले वडाले घरमै पुगेर स्वास्थ्य जाँच गर्ने अभियान सुरु गरेको हो,’ पोखरेलले भने,‘यो अभियानमा वडामा सधैं सञ्चालन गर्ने योजना छ ।’ वडाले टोल–टोलमा स्वास्थ्य स्वयम्सेविका खटाएर ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँचलाई तीव्रता दिएको वडाध्यक्षको भनाइ छ ।

घरमै आएर स्वास्थ्य जाँच गरेपछि ज्येष्ठ नागरिक पनि दंग परेका थिए । स्थानीय ८३ वर्षीय भीमबहादुर धितालले वडाले यसअघि कहिल्यै पनि घरमै आएर स्वास्थ्य जाँच नगरेको बताए । यसरी घरमै आएर स्वास्थ्य जाँचेर औषधि दिएकोमा अत्यन्तै खुसी लागेको उनले बताए । त्यस्तै ९१ वर्षीया सुरेन्द्रकुमारी कोइराला पनि वडाको कार्यप्रति निकै खुसी देखिएकी थिइन । ‘अहिले धेरै ज्येष्ठ नागरिकहरु परिवारबाटै अपहेलित भएर बस्नुपरेको छ,’ उनेले भनिन, ‘वडा कार्यालयले घरमै आएर स्वास्थ्य जाँच गर्दा साह्रै खुसी लागेको छ ।’

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्