विराटनगर । मंगलवार राति सुदूरपश्चिमको डोटीमा गएको भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ ।

मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडको भूकम्पले पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँको एक घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । घटनामा अन्य ५ जना घाइते भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।

प्रहरीका अनुसार, घर भत्किँदा ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ ।

यस्तै सोही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा घाइते भएका छन ।

भूकम्पको धक्का सुदूरपश्चिमसहित भारतका जिल्लामा समेत महसुस गरिएको छ ।