विराटनगर । प्रदेश १ को राजधानी रहेको सहर विराटनगरमा डेंगु संक्रमण बढ्न थालेपछि महानगरपालिकाले अभियान सुरु गरेको छ ।
आइतबारदेखि विराटनगर महानगरपालिकाले डेंगु खोज र नष्ट अभियान सुरु गरेको आइतबार एक कार्यक्रम आयोजना गरी जानकारी गराएको हो ।
यो अभियान प्रत्येक आइतबारदेखि विराटनगरको १९ वटै वडामा सुरु गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा शाखाका हैदर अलीले जानकारी दिए । ‘डेंगु खोज र नष्ट अभियान चार हप्तासम्म निरन्तर रूपमा संचालन हुनेछ,’ अलीले भने, ‘यो अभियानमा सबैको साथ सहयोगको खाँचो रहेको छ । सबैको सहयोगले मात्र डेंगु रोकथाम र नियन्त्रण गर्न सिकिनेछ ।’ यो अभियान विराटनगर स्कुलदेखि सामाजिक संस्थाहरूबाट महानगरको हरेक घरहरूमा पुर्आउने उनले बताए ।
विराटनगरमा ९० जनामा डेंगु संक्रमण देखिएको उनले बताए । जसमा ५६ जना महिला र ३४ पुरुष रहेका छन् । यो तथ्याकं सरकारी स्वास्थ्य संस्था परीक्षण गरेको अभिलेख हो । अहिले निजी हस्पिटल र क्लिनिकहरूमा पनि डेंगु परीक्षण हुने गर्दछ । त्यसको अभिलेखीकरण गराउने संयन्त्रको विकास स्थानीय र प्रदेश सरकारले गरेको छैन ।
डेंगु संक्रमण रोक्न महानगरपालिकाले विराटनगरको १९ वटै वडामा स्प्रेलगायतको विभिन्न कामहरू गरेको अलीले बताए ।