विराटनगर । आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचनमा चिकित्सकहरु पनि चुनावी मैदानमा उत्रिएका छन् ।
देशका विभिन्न निर्वाचन क्षेत्रबाट उठेका चिकित्सकहरू ‘हेभिवेट’ नेताहरुसँग प्रतिस्पर्धा गर्दैछन् । केही चिकित्सकले विभिन्न दलको प्रतितिनिधित्व गर्दै उम्मेदवारी दर्ता गरेका छन् । केहीले स्वतन्त्र उम्मेदवारी दर्ता पनि गराएका छन् ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजका संचालक डा. सुनिल शर्मा दोस्रोपटक मोरङ क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य पदमा भिड्दैछन् र काँग्रेस नेता शर्माले नेकपा एमालेका नेता तथा पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग प्रतिस्पर्धा गर्नेछन् । सोही क्षेत्रमा राप्रपाकी रेखा थापा पनि प्रतिष्पर्धी छन् ।
यो क्षेत्रमा पुरानै प्रतिद्वन्द्वीबीच यसपालि पनि यस क्षेत्रमा चुनावी दौड हुने देखिएको छ । २०७४ को चुनावमा ढकाल ४२ हजार ४१३ मत ल्याएर निर्वाचित भएका थिए भने शर्माले ४० हजार ५०६ मत प्राप्त गरेका थिए । शर्माले आफ्ना निर्वाचन क्षेत्रका बिरामीहरुलाई उपचारमा सघाउँदै आएका छन् । यसपटक चुनावमा जितेर जनताको सेवा गर्ने डा. शर्माले बताउँदै आएका छन् ।
सुनसरी क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा डा. फरेन्द्र साहले उम्मेदवारी दिएका छन् । नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । स्वास्थ्य क्षेत्र सुधार गर्ने उद्देश्यले उम्मेदवारी दिएको उनले बताए । नीति निर्माण गर्न राजनीतिबाट मात्र सम्भव हुने र त्यसपछि मात्र स्वास्थ्य क्षेत्रको परिवर्तन हुने भएकोले आफूले संसदमा जान उम्मेदवारी दिएको उनले बताए । ‘नेपालको स्वास्थ्य क्षेत्रको अवस्था नाजुक रहेको छ । आफै हुर्केको ठाउँ सुनसरी अस्पतालको अवस्था पनि त्यस्तै रहेको छ,’ उनले भने, ‘चुनाव जितेर सांसद भएपछि स्वास्थ्य क्षेत्र सुधारको लागि नीति निर्माणमा सक्रिय हुने तथा स्वास्थ्य र शिक्षाको क्षेत्रमा आमुल परिवर्तन गर्ने योजना मेरो छ ।’ डा. साहले एमालेका भीम आचार्य र काँग्रेसका सिताराम मेहतासँग प्रतिस्पर्धा गर्नेछन् । आचार्य प्रदेश १ मा पुर्व मुख्यमन्त्री हुन् ।
मोरङको क्षेत्र ६ मा सत्ता गठबन्धनबाट उम्मेद्वार बनेका काँग्रेस नेता शेखर कोइराला पनि पुराना चिकित्सक हुन् । फिजिसियन कोइराला लामो समयको चिकित्सा पेशापछि २०६२–२०६३ देखि सक्रिय राजनीतिमा छन् । उनको प्रतिस्पर्धा एमालेका नेता लालबावु पण्डितसँग हुनेछ । अघिल्लो निर्वाचनमा पण्डितले ३३ हजार ९४१ र कोइरालाले ३३ हजार २६६ मत ल्याएका थिए ।
नेकपा माओवादी केन्द्रले भरतपुर अस्पतालका अध्यक्षसमेत रहेका डाक्टर भोजराज अधिकारीलाई चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनाएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टिकट पाएपछि डा अधिकारीले अस्पतालको अध्यक्षबाट राजीनामा दिए । डा अधिकारी यसअघि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन जितेको क्षेत्रबाट चुनावी मैदानमा छन् । प्रचण्ड भने गोरखा २ बाट उम्मेदवार बनेका छन् । उनले संसदमा प्रवेशसँगै स्वास्थ्य मन्त्री बनेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने बताएका छन् । अधिकारीको प्रतिस्पर्धा नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपा उपाध्यक्ष विक्रम पाण्डेसँग हुनेछ ।
डा. तोसिमा कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गराएकी छिन् । घर–घरमा स्वास्थ्यको पहुँच, महिला सशक्तिकरण, घर–घरमा प्राविधिक शिक्षा र युवा रोजगारी लगायतका अजेन्डासहित प्रतिनिधि सभा सदस्यमा उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।
ललितपुर क्षेत्र नं ३ मा गठबन्धनको तर्फबाट ऊर्जामन्त्री पम्फा भुसाल र नेकपा एमालेको तर्फबाट अमृत खड्का उम्मेदवार रहेका छन् । मूलधारको राजनीतिमा हालै मात्र प्रवेश गरेकी तोसिमा नेपाल मेडिकल काउन्सिल कि निर्वाचित केन्द्रीय सदस्य समेत हुन् ।
डा.सचिन घिमिरे ललितपुर १ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । एमालेका नवराज सिलवाल र गठबन्धनका साझा उम्मेदवार उदयशम्सेर राणासँग उनले चुनावी प्रतिस्पर्धा गर्नेछन् । २०७४ मा यो क्षेत्र नवराज सिलवालले जितेका हुन् । भारतस्थित जवरलाल नेहरु विश्वविद्यालयबाट चिकित्सा मानवशास्त्रमा विद्यावारिधि गरेका उनले दर्जनौं फिल्मको निर्देशन गरेका छन् ।