विराटनगर । विराटनगर महानगरपालिकाले कालोपत्रे सडकको सुरक्षाका लागि मर्मतसंभारको काम सुरु गरेको छ ।
विराटनगरको पानीट्यांकीदेखि पुष्पलालचोकसम्मको झण्डै तीन किलोमिटर सडक खण्डमा पहिलो चरणमा मर्मतसंभारको काम महानगरले आरम्भ गरेको हो । कालोपत्रे सडकको ठाउँठाउँमा साना ठूला खाल्डा परेका कारण सर्वसाधारणलाई आवतजावत गर्न समस्या भएको थियो ।
दुई वर्षअघि खाल्डो परेको ठाउँ मर्मत नहुँदा खाल्डाको आकार बढ्दै गएको थियो । जसले एकातिर कालोपत्रे सडकमा क्षति बढाउँने र अर्कोतिर दुर्घटनासमेत बढाइरहेको थियो । एसियाली विकास बैंकको ऋण सहयोगबाट निर्माण भएको सडक छोटो समयमै बिग्रिएपनि परियोजनाले सडक मर्मत गरेको थिएन ।
सडकमा लामो समयदेखि खाल्डाखुल्डी हुँदापनि मर्मत नभएपछि भट्टाचोक आसपासका स्थानीयले सिमेन्ट ढलान गरेर खाल्डा पुर्ने प्रयत्न गरेका थिए । स्थानीयले स्वतस्फूर्त खाल्डा पुरेर महानगरलाई मर्मतका लागि दबाब दिएपछि महानगरले सडक मर्मतको कामलाई अगाडि बढाएको हो । मंगलबार पुष्पलालचोक क्षेत्रमा सडक मर्मतको काम भएको थियो ।
समयमा सडक मर्मत नहुँदा महानगरले निर्माण गरेको बुद्धचोक नेपाल आयलनिगम चोक सडक खण्ड जीर्ण बनेको छ । जसलाई खाल्डा पर्नासाथ मर्मत नगर्दा कालोपत्रे सडकमा हुने क्षतिको उदाहरणको रुपमा उक्त सडकलाई लिन सकिने स्थानीयहरुले बताएका छन् ।
महानगरले बढी चाप भएका महत्वपूर्ण सडकहरुमा परेका खाल्डाखुल्डी पुर्न कोटेशनबाट मर्मतसंभारको काम अगाडि बढाएको महानगर प्रमुखका प्रेस संयोजक मिनकुमार श्रेष्ठले जानकारी दिए । बरगाछी तीनपैनी, पुष्पलालचोक रोडशेष, तीनपैन कोसी अस्पताल हाटखोला, ठूलोमिल चोक कञ्चनबारी जस्ता सडकहरुमा परेका खाल्डाखुल्डी यस क्रममा मर्मत गर्ने उनले जानकारी दिए ।