विराटनगर । नेकपा एकीकृत समाजवादी मोरङले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टीको प्रचार कार्यलाई तिब्र बनाउन समिति गठनलगायतका काम थालेको छ । अधिवक्ता पेशलकुमार न्यौपानेको संयोजकत्वमा गठन भएको जिल्ला निर्वाचन प्रचार समितिको सोमबार बसेको प्रारम्भिक बैठकले समिति पूर्णता दिनेलगायतका विषयमा निर्णय गरेको छ ।
नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा प्रदेश नं. १ कमिटी सचिव महेश रेग्मीको उपस्थितिमा भएको बैठकले पार्टीले आगामी निर्वाचनमा पाउने सिट संख्याका आधारमा प्रचार कार्यलाई तिब्र बनाउने विषयमा छलफल केन्द्रित गरेको छ । समय सुहँउदो प्रचार रणनीति बनाउने, पार्टीको घोषणापत्र तथा कार्यक्रमको व्यापक प्रचार गर्नेलगायतको निर्णय बैठकले गरेको छ ।
पार्टी जिल्ला कमिटीले अधिवक्ता न्यौपानेको संयोजकत्वमा प्रचार प्रसार समिति बनाएको हो । उक्त समितिका सदस्यमा पार्टीका मोरङ उपसचिवद्वय वसिम आलम, निलम ढुंगेल, योगेशराज भण्डारी र बन्धु पोखरेल छन् ।