विराटनगर । उदयपुरको स्वास्थ्य चौकीकी निलु बुढाथोकीले कोशी हस्पिटलमा दुई महिने दक्ष प्रसूति गराउने तालिम लिएपछि उनको आत्मबल बढेर गएको छ । उनले यसअघि यस्तो तालिम लिएकी थिइनन् ।
कोशी अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ र दक्ष प्रशिक्षकहरूबाट ६० दिनको तालिम दिएपछि आफूले सुरक्षित मातृत्व, सुरक्षित मातृत्व सम्बन्धी समस्याको पहिचान गरी आमा र नवजात शिशुको सफल उपचारमा सहयोग पु¥याउन सक्ने आत्मबलसँगै ज्ञान हासिल गरेको सुनाइन् । ६० दिने दक्ष प्रसूति सम्बन्धी तालिमको आइतबार भएको समापन कार्यक्रममा बोल्दै निलुले भनिन्, ‘तालिममा धेरै ज्ञान हासिल गरेका छौं । यहाँ सिकेको ज्ञान आफू कार्यरत स्वास्थ्य चौकीमा पुगेर व्यवहारमा लागू गर्नेछौं ।’
दक्ष प्रसूतिकर्मी हुनको लागि एसबीए तालिम अनिवार्य लिनुपर्दछ । तालिममा सिकेको ज्ञान आफ्नो क्षेत्रको बर्थिङ सेन्टरमा पुगेर त्यहाँका गर्भवतीको प्रसूति गराउन लागिपर्ने तालिममा लिएपछि कार्यक्षेत्रतर्फ जाने तयारीमा रहेकी अनिता राई बताउँछिन् । दुई महिने तालिम लिएपछि प्रसूति गराउन धेरै कुराहरू सिकेको उनले बताइन् । ‘कतिपय स्वास्थ्य सस्थामा प्रसूति गराउने तालिमप्राप्त स्वास्थ्यकर्मी नहुँदा डाक्टर कन्ट्रयाकमा लिएर पनि डेलिभरी गराउँदै आएका थिए ।
तालिम लिएर गएपछि बर्थिङ सेन्टरमा हुनसक्ने प्रसूति त्यहीं गराउने प्रयत्न गर्ने उनले सुनाइन् । ‘नर्मल प्रसूति गराउन नसक्ने अवस्थाका बिरामीलाई सुविधासम्पन्न अस्पतालमा रेफर गर्नेछौं,’ उनले भनिन्, ‘तालिममा धेरै कुरा सिक्ने अवसर जुटेको छ ।’ दुई महिनाको दक्ष प्रसूतिकर्मी (एसबीए) तालिम लिँदै आएकी उदयपुरको गढी स्वास्थ्य चौकीको नर्स कृष्ण कुमारी राईले पनि तालिममा सिकेको ज्ञान व्यवहारमा उतार्ने बताइन् । ‘तालिमबाट धेरै जानकारी पायौं,’ उनले भनिन्, ‘बर्थिङ सेन्टरमा कसरी नर्मल डेलिभरी गराउने, यदी नर्मल नहुँदा बिरामीको पहिचान गरेर कहाँ पढाउने त्यसको विषयमा हामीले जानकारी लिएका छौं ।’ देशभर चाहिने दक्ष स्वास्थ्यकर्मी अभावका कारण मातृ तथा शिशु मृत्युदर अपेक्षाअनुसार घट्न सकेको छैन । यहाँ तालिम लिएका नर्सहरूले दक्ष प्रसूतिकर्मी भएर गएपछि केही हदसम्म मातृ तथा शिशु मृत्युदर न्यून गर्न सहयोग पुग्ने उनीहरूको विश्वास छ ।
कोशी अस्पतालमा एक वर्षमा पाँचवटा तालिम हुने गरेको छ । एउटा तालिममा १२ जना बर्थिङ सेन्टरमा काम गर्ने नर्सलाई दक्ष प्रसूतिकर्मी तालिममा सहभागि गराउने छ । यहाँ देशभरीका दुर्गम ठाउँका नर्सहरूे सहभागी हुने गरेका छन् । कोशी अस्पतालको हलमा १२ साउनदेखि तालिम भएको थियो । अहिले दक्ष प्रसूतिकर्मीको ६६ औं ब्याचले तालिम लिएका हुन् । ६० दिनको तालिम लिएपछि देशभरीका ११ जना स्टाफ नर्सहरूलाई आइतबार समापन कार्यक्रममा प्रमाण पत्र पनि वितरण गरिएको प्रशिक्षक लजिता योन्जनले जानकारी दिइन् । सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै कोशी अस्पतालका प्रसूति विभागका प्रमुख डा. अन्जु देवलले तालिममा सिकेको ज्ञान व्यवहारमा उतानुपर्ने बताइन् ।
कोशीमा २०६४ सालबाट दक्ष प्रसूतिकर्मीको तालिम निरन्तर हुँदै आएको छ । दक्ष प्रसूतिकर्मीको लागि प्रदेश १ मा कोशीमा मात्र तालिम हुने गरेको छ । दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्ने भएकोले नर्सहरुको पहिलो रोजाइमा कोशी अस्पताल पर्ने गरेको चिकित्सकहरू बताउँछन् ।
१४ वर्षमा कोशी अस्पतालबाट ७९२ जना नर्सहरुले दक्ष प्रसूतिकर्मीको (एसबीए) तालिम लिएर फिल्डमा खटिएका छन् । एक वर्षमा ६० भन्दा बढी दक्ष भएर फिल्डमा जाने गरेका छन् । एसबीए तालिमको प्रशिक्षकहरूमा कोशी अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. अन्जु देव, डा. मधुमीता राभा, मन्जु यादव, रम्भा सुब्बा, लजिता योन्जन, स्वेता उपाध्यय र अन्जु खानल रहेका छन् ।
मन्जु तालिम संयोजक हुन् भने भने रम्भा सह–संयोजक हुन् । स्वास्थ्यकर्मीको लागि दक्ष प्रसूतिकर्मी (एसबीए) तालिम महत्वपूर्ण स्वास्थ्यकर्मीहरूको लागि दक्ष प्रसूतिकर्मी (एसबीए) तालिम एकदमै महत्वपूर्ण रहेको प्रशिक्षक लजिता योन्जनले बताइन् । ‘कसरी प्रसूति गराउने र आमा र बच्चाको कसरी स्यार गर्ने यो ६० दिनको तालिममा हामीले जानकारी दिन्छौं । दुरदराजमा रहेका स्टाफ नर्सहरूलाई तालिम दिएका छौं । तालिम लिएपछि उहाँहरू आफ्नो बर्थिङ सेन्टरमा जानुहुन्छ । यो एसबीए तालिम लिएपछि मात्र स्वास्थ्यकर्मीहरू प्रसूति गराउन पाउनुहुन्छ,’ प्रशिक्षक योन्जनले भनिन्, ‘सरकारले पनि एक वडामा एक बर्थिङ सेन्टरको अवधारणा ल्याएको छ । त्यसैले पनि हरेक बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मी हुन जरूरी रहेको छ । तर, नेपाल सरकारअन्तर्गत दक्ष प्रसूति गराउने दक्ष स्वास्थ्यकर्मीहरू एकदमै कम्ती रहेको छ ।’
दक्ष प्रसूति उत्पादन गरेर आफ्नो ठाउँमा स्वास्थ्यकर्मी गएर मातृ तथा शिशु मृत्युदर अपेक्षा अनुसार घटउँदै लैजान उनीहरुले भूमिका खेल्ने विश्वास रहेको उनले बताए ।