विराटनगर । २०७२ को भूकम्पयताका हरेक विपद्मा सेवाभावसहित खटिँदै आएको र अफ्ठयारोमा परेका सर्वसाधारणलाई आवास, स्वास्थ्य सेवासमेत उपलब्ध गराउँदै आएको मेची अभियान मोरङको ग्रामथानमा स्वास्थ्य सेवा उपलब्ध गराउन आइपुगेको छ ।
शनिबार मोरङ ग्रामथानको वडा नम्बर १ का तीन सयभन्दा बढी सर्वसाधारणको मुटु, मृगौला, उच्चरक्तचाप र मधुमेह रोगको परीक्षण गरी समस्या भएकाहरुलाई निशुल्क औषधिसमेत प्रदान गरिएको छ।
मेची अभियान र हर्ड नेपालको संयुक्त आयोजनामा आयोजित स्वास्थ्य सेवा शिविरमा विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानका डा सञ्जीव शर्मा नेतृत्वको ‘केएचडिसी’ कार्यक्रमले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । शर्मासहित ८ जना चिकित्सक र १६ जना स्वास्थकर्मीको टोलीले गाउँमै आएर जाँच र उपचार गरेपछि स्थानीयबासी हर्षित देखिन्थे।
‘हाम्रो गाउँमा यति धेरै डाक्टर पहिलो पटक आएको देखेको हुँ’, स्थानीय छदनी माझीले भनिन्, ‘गाउँमै आएर उपचार गरिदिँदा खुसी लागेको छ।’ हर्षित हुनेमध्येकै एक थिइन् समतली राजवंशी । ग्रामथान १ कै बासिन्दा उनी धेरै दिनदेखि छाति दुख्ने समस्याले पीडित थिइन् । गाउँमै विशेषज्ञ चिकित्सकले जाँच गरेर औषधिसमेत दिएपछि उपचार पाएको अनुभव उनलाई भएको छ । ‘धेरै दिनदेखि छाती दुखिरहेको थियो’, उनले भनिन् ‘जुन डाक्टरलाई देखाउन धरान जाने योजनामा थिएँ, उहाँ नै गाउँमा आएपछि मलाई त सजिलो भएको छ ।’
जनस्वास्थ्यका क्षेत्रमा चर्चित चिकित्सक मानिने डा. शर्मा केएचडिसी कार्यक्रममार्फत प्रदेश १ र २ का विभिन्न ठाउँमा पुगेर निशुल्क उपचार गर्ने अभियानमा सक्रिय छन्। उनको अभियानलाई पछिल्लो समय मेची अभियानले पनि साथ दिइरहेको छ। ‘मेची अभियान आम नागरिकको समस्यामा सकेको सहयोग गर्न अग्रसर छ’, संयोजक विजय डालमियाले भने, ‘हामी यस्ता अभियानलाई निरन्तरता दिइरहनेछौं।’
मेची अभियानले झापामा आगलागीबाट घर जलेकाहरुको घर बनाइदिने, कोरोनाकालमा स्वास्थ्य सेवा उपलब्ध गराउने तथा विपद्का बेला उद्धार र राहतमा पनि सक्रियता देखाउँदै आएको छ।