विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) मोरङले विराटनगरमा विरोध जनाएको छ ।
संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक मङ्गलवार राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि आलोचना भइरहेको छ।
राष्ट्रपतिले संविधानको प्रावधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भए पनि गैर संवैधानिक कदम चाल्दै प्रमाणीकरण गर्न अस्वीकार गरेकोले विरोध प्रदर्शन गरिएको जसपा मोरङका अध्यक्ष राजकुमार यादवले बताए । जसपाले विराटनगरको हनुमान मन्दिर अगाडी विरोध प्रदर्शन गरेका छन्।
उनीहरूले अरू केही जान्दैनौ, व्यवस्थापिका माथिको हस्तक्षेप मान्दैनौ, संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक ‘कु’ को घोर विरोध गर्दछौँ, विद्या तिमी को हौ चिन्दैनौँ, शीतल निवास राख्दैनौ जस्ता नारासहित प्रदर्शन पनि गरेका थिए ।