विराटनगर । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य रेग्मी यसपटक प्रदेशसभा निर्वाचनमा प्रतिष्पर्धाको तयारीमा छन् ।
जीवनको लामो समय पार्टी संगठन निर्माणमा खर्चिएका मोरङका महेश रेग्मी यसपटक चुनावी परीक्षा दिने तयारीमा जुटेका छन् । सक्रिय राजनीतिमा लागेको ४७ वर्ष पूरा भइसक्दासमेत कुनै लाभको पद नलिएका रेग्मी निष्ठावान राजनीतिज्ञका रुपमा स्थापित छन् ।
आफू सांसद र मन्त्री बन्ने भन्दा पनि पार्टीको संगठन बनाउने काममा जीवनको लामो समय बिताएका रेग्मी मङ्सिर ४ गते हुने निर्वाचनमा भने उम्मेदवार बन्ने योजनामा छन् । उनको नाम मोरङ क्षेत्र नम्बर ४ (ख)बाट प्रदेशसभामा सिफारिससमेत भइसकेको छ ।
मोरङ –४ नम्बर क्षेत्रमा लामो समयसम्म आफ्नो योगदान भएकाले आफू सोही क्षेत्र बाट उठ्ने बताए । ‘अन्य क्षेत्रबाट उठ्न समेत सुझाव आएको छ तर मैले लामो समयसम्म योगदान गरेको ठाउँ यही हो’, उनले भने ‘अन्य ठाउँमा म गएँ भने पुस्तान्तरणमा असर पनि पुग्छ ।’ अब राजनीतिमा आउने नयाँ पुस्तालाई पनि दलहरुले स्थान दिँदै जानु पर्ने उनी बताउँछन् ।
गठबन्धनका तर्फबाट यदि उनले टिकट पाए उनको प्रतिष्पर्धा स्वाभाविक रुपमा एमाले उम्मेद्वारसँग हुनेछ । एमाले त्यही पार्टी हो जसको निर्माणमा महेशले जीवनको लामो समय खर्चेका छन् । अझ एमालेबाट जीवन घिमिरे नै उम्मेद्वार बन्ने भए भने प्रतिष्पर्धा झन् रोचक हुनेछ । रेग्मी र घिमिरे एमालेमा सँगै हुँदा एउटै समूहका हुन् । १० बुँदे सहमतिपछि घिमिरे एमालेमै रहँदा रेग्मी भने एमालेबाट विद्रोह गर्ने नेता हुन् ।
अखिलबाट राजनीतिक जीवन सुरु गरेका उनी पदका लागि मरिहत्ते नगर्ने नेताका रुपमा पनि चिनिन्छन् । उनीसँगैका धेरैले राजनीतिक शक्तिको आडमा बद्नामी कमाउँदा उनको छवि भने कहिल्यै धमिलिएको छैन । ‘जब राजनीतिलाई कमाई खाने थलो बनाइन्छ, मान्छेको बद्नामी त्यहीँबाट सुरु हुन्छ’ रेग्मीको भनाइ छ ‘ निष्ठाको राजनीति गरे यस्तो समस्या हुँदैन ।’
उनलाई नजिकैबाट चिन्नेहरु चाहे उनकै दलका हुन् या विपक्षका, उनको सादगीपनको सधैं प्रशंसा गर्छन् । ‘निष्ठाको राजनीतिका लागि उहाँ समर्पित इमान्दार नेता हो उहाँ’, विराटनगर महानगरमा उपमेयरका उम्मेद्वार रहिसकेका जसपा नेता अमरेन्द्र यादव भन्छन् ‘स्थानीय चुनावमा पनि गठबन्धनका पक्षमा दिनरात नभनी इमान्दार भएर खट्ने उहाँ हुनुुहुन्थ्यो । उहाँको खटाइ र इमान्दारिताको म प्रशंसक हुँ ।’
पदमा जान मरिहत्ते नगर्ने, सादा जीवन रुचाउने राजनीतिमा सक्रिय थोरैमध्येमा पर्ने नेता उनी थप्छन् ‘राजनीति जनसेवाको सबैभन्दा ठूलो क्षेत्र हो । यसको मक्सद जनसेवा मात्रै हुनुपर्छ ।’ त्यसो त धेरै वटा चुनावमा उनी पार्टीका उम्मेद्वार जिताउन लागे । केहीमा पार्टीले उनैलाई अघि सार्यो । निष्ठाको राजनीति गरेकै कारण पछि परेको भन्दै उनलाई सम्झाउन खोज्नेहरु पनि धेरै छन् । तर, त्यस्तो कुरा सही नभएको उनको ठहर छ । ‘व्यक्तिगत फाइदाका लागि भनेर राजनीतिलाई उपयोग गर्नतिर कहिल्यै नलागेको कारण त्यस्तो अनभुव कहिल्यै भएन’, उनी भन्छन् ।
मदन भण्डारी अशोक राईको स्कुलिङबाट पार्टी संगठनको काममा लागेकाले घाटा र फाइदाको हिसाब किताबै नगरेको उनले बताए । विद्यार्थी जीवनदेखि अहिलेसम्मको यात्रामा कष्टडी र जेलको अनुभव त उनले धेरैपटक संगालेका छन् ।
उनीभन्दा राजनीतिमा पछाडि आएकाहरू अहिले विभिन्न पदमा पुगेका छन् । उनले भने अहिलेसम्म पाटीसँग लाभको पद मागेका छैनन् । ‘शिक्षकले बिद्यार्थीलाइ पढाउँछ पछि शिक्षकभन्दा ठूलो पदमा विद्यार्थी पुग्छ । अनि किज माथि पुगिस् भनेर शिक्षकले भन्न मिल्दैन’, उनले भने ‘ म पनि त्यस्तै हो । म पनि पाटी भित्रको शिक्षक हो । मैले संगठन बनाउने काममा लागेर धेरैलाई जिताएर पठाएँ । यसमा गर्व गर्नुपर्छ । मलाई कुनै चित्त दुखाई छैन । जितेर गएकाले निष्ठाको राजनीति नगर्दा चाहिँ दुख लागेर आउँछ ।’
अहिले रेग्मीलाई लाग्छ, राजनीति व्यापारमा परिणत भएको छ । आपराधिक गतिविधिमा संलग्न भएको छ, कमाई खाने, ठगी खाने काममा दलकै आडमा मान्छे लागेका छन् । यस्तै गतिविधिका कारण अहिले राजनीति बदनाम भएको उनले बताए । जनताले माया गर्नेलाई ठूलो मान्नु पर्ने भए पनि अहिले जितेर गएकालाई ठूलो मानिदिनु पर्छ भन्ने हाबी भएकाले राजनीतिमा आम वितृष्णा छाउन थालेको उनको भनाइ रहेको छ । ‘जनता सर्वोपरी हुन् । जनता मेरा भगवान् हुन् । जनता नै मेरा गुरु हुन् भनेर अहिलेसम्म राजनीति गरेर आएको छु’, उनले थपे ‘यसलाई सदा आफ्नो आदर्शको रुपमा ग्रहण गरिरहनेछु ।’
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्रारम्भिक कमिटीबाट राजनीतिमा लागेका रेग्मी युवासंघ र अखिलको केन्द्रीय कमिटीको सचिवालय सदस्यसमेत भएका थिए । महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापति समेत भउका उनी एमालेको नगर कमिटी जिल्ला कमिटी हुँदै केन्द्रीय सदस्य भए भने नेकपा हुँदा पनि केन्द्रीय सदस्य नै थिए । नेकपा एकीकृत समाजवादीमा भने उनी पोलिटब्युरो सदस्य छन् ।
क. महेश मेरा राजनितिक गुरु तथा प्रिय मित्र पनि हुनुहुन्छ। श्रमजीवि वर्ग पक्षीय राजनीतिमा उहाँको योगदान अतुलनीय रहँदै आएको कुरा छर्लङ्ग छ। मैले थाहा पाएदेखि उहाँ निष्ठा तथा इमान्दारिता पूर्वक जनता र राष्ट्रप्रति निरन्तर लागिरहनु भएको छ। यस्ता अथक योध्दालाई जनप्रतिनीधिको रुपमा पाउन सके १ नं. प्रदेशको समग्र विकासमा ठूलो योगदान हुने पूर्ण आशा गर्न सकिन्छ।
निस्वार्थी, निडर, निष्पक्ष, निर्लोभी, अग्रगामी यात्री, भ्रष्टाचार व्यभिचार अनियमितता बिरोधी, शुसाशसन पक्षधर, जनप्रिय मेरा राजनितिक गुरु, सहयाेद्धा मित्र क.महेशलाई जनप्रतिनिधिको रुपमा पाइएमा समग्र परिवर्तनको पक्षमा ठूलो योगदान पुग्ने कुरामा विश्वास गर्न सकिन्छ। कमरेड महेशलाई शुभकामना।