विराटनगर । प्रदेशसभाको ५ वर्षे कार्यकाल सकिए पनि सांसद वा पदाधिकारीको हैसियतमा पाएका सवारी साधन र अन्य सामान बुझाउन भने प्रदेश १ का नेताहरु आनाकानी गरिरहेका छन् ।
प्रदेश १ मा संसदीय दलका नेता, समितिका सभापति, प्रमुख सचेतक, तथा प्रमुख प्रतिपक्षी दलका नेता र उपनेतालाई गाडी सुविधा संसद् सचिवालयले उपलब्ध गराएको थियो । संसद्को कार्यकाल सकिएपछि केही सांसदले भने नैतिकता देखाउँदै गाडी बुझाएका छन् ।
संसद् सचिवालयका प्रवक्ता चन्द्रमणि पोख्रेलका अनुसार नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले प्रयोग गर्दै आएको सरकारी गाडी प्रदेशसभा सचिवालयलाई भदौ २७ गते नै बुझाएका थिए । नेता कोइरालाले को.१ झ ६५४ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए । उनको प्रतिनिधिसभामा सुनसरीबाट नाम सिफारिस भएको छ । प्रतिनिधिसभाका लागि उम्मेदवारमा नाम सिफारिस भएपछि गाडी प्रदेशसभा सचिवालयलाई बुझाएको उनले बताए । निर्वाचन आइरहँदा त्यसको तयारीमा लाग्नु पर्ने भएकाले दुरुपयोगको आरोप नलागोस् भनेर आफूले प्रयोग गर्दै आएको गाडी बुझाएको उनले बताए ।
यस्तै अर्थ समितिका सभापति मोहन खड्काले आइतबार संसद् सचिवालयमा सवारी साधन फिर्ता गरेका छन् । ‘निर्वाचन आयोगले तिमिहरूको पदावधि सकिएको भनेपछि हामीले जबरजस्ती त गर्नु भएन नि,’खड्काले भने ‘कानुन बनाउनेले कानुनको पालना गर्नु पर्छ ।’ उनले को १ झ ६६० नम्बरको गाडी प्रयोग गर्दै आएका थिए ।
सुशासन तथा योजना समितिका सभापति अर्जुन राईले पनि गाडी फिर्ता गरेका छन् । उनले ६५० नम्बरको गाडी फिर्ता गरेका हुन ।
न्याय प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणि पराजुलीले स्वकीय सचिव मार्फत गाडी संसद् सचिवालयलाई पठाएका छन् । उनले को १ झ ६५९ नम्बरको गाडी प्रयोग गरेका थिए । उनले प्रयोग गर्ने गरेको ल्यापटप भने फिर्ता गरेका छैनन् । अन्य सभापतिले ल्यापटपको सुविधा नलिए पनि उनले भने लिएका थिए । समितिले नै ल्यापटप खरिद गरेर सभापति पराजुलीलाई उपलब्ध गराएको थियो ।
गाडी फिर्ता आए पनि ल्यापटप चाहिँ फिर्ता नआएको प्रवक्ता पोख्रेलले बताए । ‘क्लिन चिटको पत्र लिन आउँदा उहाँले ल्यापटप ल्याउनु हुन्छ होला’, प्रवक्ता पोख्रेलले भने ‘फिर्ता नगरे उहाँलाई नै अप्ठ्यारो पर्न सक्छ ।’
सार्वजनिक लेखा समितिका सभापति शिव नारायण गनगाइँले पनि प्रयोग गर्ने गरेको को १ झ ६५३ नम्बरको गाडी आफैले प्रयोग गर्दै आइरहेका छन् । सामाजिक विकास समितिका सभापति सरिता थापाले प्रयोग गर्ने को १ झ ६५२ नम्बरको गाडी पनि फिर्ता गरेकी छैनन् ।
उद्योग पर्यटन तथा वातावरण समितिका सभापति सिता थेबे जबेगुले पनि फिर्ता गरेकी छैनन् । उनले को १ झ ६५७ नम्बरको गाडी प्रयोग गर्ने गरेकी थिइन् । प्रदेशसभामा प्रायजसो चर्चामा आउने प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति सर्वध्वज साँवाले गाडी फिर्ता गरेका छैनन् । साँवाले को १ झ ६५८ नम्बरको गाडी प्रयोग गरेका छन् ।
एमालेका संसदीय दलका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले पनि गाडी फिर्ता गरेका छैनन् । उनलाई बा २ झ ३७३७ नम्बरको गाडी संसद् सचिवालयले उपलब्ध गराएको थियो । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकै संसदीय दलको उपनेतालाई समेत सो गाडी उपलब्ध गराउने गरेको थियो । उपनेता यशोदा अधिकारीलाई सचिवालयले को १ झ ६२८ नम्बरको गाडी दिएको थियो । नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पनि आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छैनन् ।
संसद् सचिवालयका एक कर्मचारीका अनुसार एमाले संसदीय दलका नेता आचार्य र सामाजिक विकास समितिका सभापति सरिता थापाले फोन मार्फत विराटनगर भन्दा बाहिर रहेको जानकारी गराएका छन् ।
सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका प्रमुख सचेतक सूर्यमाराज राईले पनि पदावधि सकिए पनि गाडी फिर्ता गरेका छैनन् ।
उनीहरु पदावधि सकिए पनि सरकारी गाडी लिएर विभिन्न कार्यक्रमहरूमा गइरहेका छन् । आयोगले म्याद सकिएको भनेर जनाए पनि संसद् सचिवालयले भने गाडी तथा अन्य सामाग्री फिर्ता गर्न पत्राचार समेत गर्न सकेको छैन । ‘संसद्को म्याद सकिएको पत्र आयोगले पठाएको छ,’ संसद् सचिवालयका प्रशासनका एक कर्मचारीले भने ‘तर अन्य केही उल्लेख नगरेकाले हामी पनि अन्योल भयौ ।’ ती कर्मचारीले भने ‘कानुन बनाउनेहरूले आफ्नो नैतिकता देखाउनु हुन्छ भन्ने पनि लागेको छ ।’