विराटनगर । झापामा कार अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसारमृत्यु हुनेमा सप्तरी लेगडा–५ का ४४ वर्षीय बलराम यादव र सुनसरी इटहरी उपमहानगरपालिका १० की ३० वर्षीया गीता चौधरी छन्।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा. १४च ९१०८ नम्बरको कार पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी– १० मा दुर्घटना हुँदा उनीहरूको ज्यान गएको हो। अत्यधिक गतिका कारण आफैँ अनियन्त्रित भएको कार बरको रूखमा ठोक्किएको थियो।

दुर्घटनामा परेर दुवैजना गम्भीर घाइते भएका थिए। उनीहरूको उपचारको क्रममा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको डिएसपी पाठकले जानकारी दिए। दुर्घटनामा अन्य चारजना घाइते भएका छन्।

घाइते हुनेमा मोरङ सुन्दरहरैँचा–६ की ४० वर्षीया रिता चौधरी, इटहरी–८ का २७ वर्षीय तेजन चौधरी, धरान–१५ का ३६ वर्षीय बिबिसन दास र धरान–१५ कै ३३ वर्षीय राजेश चौधरी छन्। उनीहरूको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।