विराटनगर । विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको ८ ट्रक सुपारीबारे अहिले अदालतमा मुद्दा चलिरहेको छ । यहीक्रममा उच्च अदालत विराटनगरमा चलिरहेको सुपारीको मुद्दाका चारै प्रतिवादीले निर्यातकर्ता मनकामना ट्रेडर्सका नवीन घिमिरेले दायर गरेको रिट खारेजीको माग गरेका छन् ।
प्रतिवादीहरू राजस्व अनुसन्धान कार्यालय इटहरी, विराटनगर भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र भन्सार विभागले संयुक्तरूपमा घिमिरेबाट दायर रिट खारेजीको माग गरेका हुन् । मोरङ प्रहरीले गत साउन ५ गते भन्सार जाँचपास भई भारतीय मार्गबाट निर्यात भइरहेका ८ ट्रक सुपारी पक्राउ गरी ८ गते पक्राउ गरी राजस्व अनुसन्धान इटहरीका बुझाएको थियो ।

यसपछि सुपारी निर्यातकर्ता घिमिरेले उच्च अदालत विराटनगरमा चारै निकायलाई प्रतिवादी बनाउँदै साउन २६ गते उत्प्रेषण, परमादेश, प्रतिषेधको मुद्दा दायर गरेका थिए । घिमिरेले आफूले नेपालको उत्पादन भएको सुपारी सम्पूर्ण कानुनी प्रक्रिया पु¥याएर भारत निकासी गर्न लागेका बेला प्रहरीले गैरकानुनी रूपमा पक्राउ गरी राजस्व अनुसन्धानमा बुझाएको भन्दै रिट दायर गरेका थिए ।

उच्च अदालतमा भन्सार विभाग र भन्सार कार्यालय विराटनगरले घुमाउरो रुपमा सो सुपारी नेपालकै उत्पादन भएको संकेत गरेका छन् । दुवै निकायले सो सुपारी नेपालमै उत्पादन भएको भनेर स्पष्टसँग खुलेर लेख्न भने सकेका छैनन् । दुवैका जवाफमा भनिएको छ– ‘प्रहरीले अवैध सुपारी भनी राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको भन्ने जानकारीका सम्बन्धमा इन्डो–नेपाल ट्रिटी अफ ट्रेड एन्ड ट्रान्जिट अनुसार कुनै पनि तेस्रो मुलकमा उत्पादन भएको सामान निकासी पैठारी गर्न दुवै देशले पाउने व्यवस्था छैन ।’

दुवैका जवाफमा एफएनसीसीआई झापाबाट नेपालको उत्पादन भएको उत्पतिको प्रमाणपत्र जारी भएको, कृषि ज्ञान केन्द्र झापाले मौज्दात प्रमाणित गरेको, प्लान्ट क्वारेन्टिन विराटनगरले फाइटो स्ट्यानिटरी सर्टिफिकेट प्रदान गरेको र विराटनगर भन्सारबाट जाँचपास भएको उल्लेख गरिएको छ । विराटनगर भन्सारका प्रमुख ताराप्रसाद सापकोटाले रिट निवेदकले निकासी गर्न लागेको सुपारी राखिएका ट्रकको नियन्त्रण गर्न आफ्नो कार्यालयको कुनै भूमिका नरहेको र बिना आधार प्रमाण भन्सार कार्यालयलाई विपक्षी बनाई रिट दायर गरिएको जवाफ दिएका छन् ।
उनले भन्सार कार्यालयलाई कुनै गैरकानुनी कार्य गरेको कारणले निवेदकको संविधानप्रदत्त मौलिक हक हनन हुन पुग्यो भनी किटान गरी आरोप लगाउन नसकेको बताए । राजस्व अनुसन्धान कार्यालयले बरामद सुपारीको वैधता सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ । कार्यालयका प्रमुख तीर्थराज खनालले निवेदक (नवीन घिमिरे)ले प्रहरीले बरामद गरेको सुपारी कानुनको सम्पूर्ण प्रक्रिया पूरा गरी निर्यात गरेको भन्ने जिकिर लिए पनि बरामद सुपारीको उत्पत्तिको प्रमाणपत्रका सम्बन्धमा अनुसन्धान जारी रहेको जवाफ अदालतलाई दिएका छन् ।

‘बरामद सुपारीका सम्बन्धमा नेपालको संसदको राष्ट्रिय सभामा समेत ध्यानाकर्षण भई मुद्दाको विषय सार्वजनिक बहसको विषय भएको पाइएको हुँदा सुपारीको उत्पत्तिका सम्बन्धमा अनुसन्धान हुन आवश्यक एवम् अपरिहार्य छ,’ प्रमुख खनालका हस्ताक्षरमा बुझाइएको लिखित जवाफमा भनिएको छ, ‘यसका लागि आवश्यक परे उपयुक्त प्रयोगशालाबाट समेत परीक्षण र परख गर्नु अपरिहार्य देखिएको छ ।’ राजस्वले जवाफ अनुसार सुपारी उत्पादनको तथ्यांक बुझ्न नेपाल सुपारी खेती विकास संस्था, झापा उद्योग वाणिज्य संघ, कृषि ज्ञान केन्द्र झापा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापालाई पत्राचार गरिएको छ ।

प्रमुख खनालले हालसम्म नेपाल सुपारी खेती विकास संस्थाको मात्र जवाफ प्राप्त भएको जानकारी अदालतलाई दिएका छन् । खनालको भनाइ छ – ’झापा उद्योग संघलाई भदौ १७ मा स्पष्ट र विस्तृत विवरण उपलब्ध गराइदिन भनी पत्राचार गरिएकोमा हालसम्म पनि पत्रको जवाफ प्राप्त हुन नआएबाट सो संघको भूमिका शंकास्पदसमेत रहेको देखिन्छ ।’

राजस्व अनुसन्धानले सुपारीको उत्पत्तिको विषयलाई लिएर नै प्रस्तुत मुद्दाको उठान भई हालसम्म पनि अनुसन्धानका क्रममा रहेको जनाएको छ । कार्यालयले त्यसकारणले सो विषयको निराकरण नभएसम्म बरामद गरिएका ८ ट्रक सुपारी अहिलेकै अवस्थामा भारत निर्यात गर्न दिन उपयुक्त नहुने अडान व्यक्त गरेको छ ।

‘निवेदक घिमिरेले नेउवा महासंघ २०७२ कात्तिक १ मा सुपारीको उत्पत्तिको प्रमाणपत्र जारी गरेको तथा कृषि ज्ञान केन्द्र झापाले २०७८ जेठ २१ मा झापा जिल्लामा उत्पादित ९ हजार ७७२ टन सुपारीको मौज्दात प्रमाणित गरेको भन्ने उल्लेख पाइन्छ,’ राजस्वको लिखित जवाफमा भनिएको छ, ’हाल बरामद भई आएका सुपारीहरू नेपालको उत्पादन हो वा होइन भन्ने सम्बन्धमा कुनै परीक्षण भएको देखिएको छैन । त्यसैले बरामद भएका सुपारीहरू २०७२ कात्तिक १ मा प्रमाणित सुपारी हुन् वा होइनन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’

जिल्ला प्रहरीका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले विदेशबाट आयात गरी ल्याएको ठुलो परिमाणको सुपारी नेपालको उत्पादन हो भनी फर्जी कागजात तयार गरी अवैध रूपमा भारततर्फ निकासी गर्न लागिएको सूचना प्रहरीलाई प्राप्त भएकाले सुपारीको बरामद गरिएको जवाफ दिएका छन् । कोइरालाले उक्त सुपारी विराटनगर–१८ राजा विराटचोक भन्ने स्थानको बाटो भएर रानी हाइवे जाँदै गरेरका अवस्थामा पक्राउ गरिएको बताएका छन् । कोइरालाका अनुसार सुपारी पक्राउ गर्दा ८ वटै ट्रकका चालकसँग प्रज्ञापनपत्र, स्टक प्रमाणित पत्र, उत्पत्तिको प्रमाणपत्र, गेटपास आदि नभएको दाबी गरेका छन् ।

उनले उक्त ट्रकहरूलाई छाड्दा गैरकानुनी निकासीलाई प्रोत्साहन पुग्न जाने सम्भावना देखिएको जवाफमा उल्लेख गरेका छन् । जवाफमा यसको छानबिन र अनुसन्धान गर्ने निकाय राजस्व अनुसन्धान कार्यालय भएकाले नियन्त्रणमा लिएका ट्रकलाई सोही कार्यालयमा बुझाइएको खुलाइएको छ ।

रिट निवेदक घिमिरेका अनुसार यो मुद्दाले उच्च अदालतबाट अग्राधिकार पाएको छ । यसका कारण यसको छिटै किनारा लाग्ने सम्भावना बढेको छ । उच्च अदालत विराटनगरले हरेक सोमबार रिट निवेदनलाई पेसीमा राख्ने गर्छ ।